जसपाले नहटाएसम्म लोसपा मधेस सरकारबाट नहट्ने
काठमाडौँ । केन्द्रमा एक खालको समीकरण बनेर विभिन्न प्रदेशमा सोही अनुसार सरकार गठन प्रक्रिया अघि बढ्दा मधेसमा भने केही भिन्न परिदृश्य देखिएको छ ।
केन्द्रको सत्ता गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस सरकारमा भने सहभागी भएको छ । लोसपा नेपालले मधेस सरकार छाडेको छैन र मुख्यमन्त्री सरोजकुमार यादवले पनि लोसपालाई सरकारबाट हटाएका छैनन् ।
कांग्रेस–माओवादीको गठबन्धन भङ्ग भएर एमाले, माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बनेसँगै कांग्रेस भने मधेस सरकारबाट बाहिरिइसकेको छ । त्यसअघि जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको थियो ।
लोसपाका वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेश सभा सदस्य जितेन्द्र सोनलले भने, ‘हालसम्म वर्तमान सरकारलाई हाम्रो समर्थन कायम छ तर सरकारको पर्फमेन्स राम्रो नदेखिएको कारण यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी छ ।’
मधेस प्रदेशका मुख्यमन्त्री यादवले वैशाख ३ गते विश्वासको मत लिँदैछन् । लोसपाले विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गरिसकेको छैन । यद्यपि नयाँ गठबन्धन बन्ने बित्तिकै मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर समर्थन मागेका थिए । अध्यक्ष ठाकुरले अर्को निर्णय नभएसम्म समर्थन कायम रहने जवाफ दिएर मुख्यमन्त्री यादवलाई फर्काएका थिए ।
उपाध्यक्ष सोनलले हाल लोसपाले मधेस सरकारलाई पुरानै समर्थनको निरन्तरताका रुपमा लिएको बताए । उनले भने, ‘जसपाले लोसपालाई सरकारबाट हटाएको छैन, नयाँ गठबन्धन अनुसार विश्वासको मत पनि नलिएका कारण अहिलेसम्म हामीले पुरानै समर्थनलाई निरन्तरता दिएका हौँ ।’
मधेस सरकारले राम्रो काम गर्न नसकेको जिकिर गर्दैै उनले अब भने सरकारलाई समर्थन दिने कि नदिने भन्नेबारे सोच्न बाध्य बनाएको प्रस्ट पारे ।
सोही पार्टीका महासचिव मनिष मिश्रले जसपाले लोसपालाई अहिलेसम्म नहटाएको र हट्न पनि नभनेका कारण लोसपाले समर्थन कायम राखेको बताए । वैशाख ३ गते विश्वासको मत दिने कि नदिने भन्नेबारे पार्टीले छिट्टै निर्णय गर्ने उनको भनाइ छ ।
उनले भने, ‘अहिलेको सरकार नयाँ गठबन्धनको सरकार होइन, पुरानै गठबन्धनको सरकार हो । त्यही सरकारमा एमाले र नेकपा एकीकृत समाजवादीलाई ल्याएको हो । नयाँ गठबन्धन अनुसार सरकार बनेपछि मात्र हामीले त्यो सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय गर्छौं ।’
मुख्यमन्त्री यादवले वैशाख ३ गते विश्वासको मत लिएपछि मात्र नयाँ गठबन्धनको सरकार भनेर बुझिने उनको भनाइ छ । त्यसअघि पुरानै गठबन्धनको सरकार भएका कारण लोसपाले समर्थन कायम राखेको उनको तर्क छ । लोसपाबाट मधेस सरकारमा रमेश प्रसाद कुर्मी वन तथा वतावरण मन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी
-
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट
-
मन्त्रालयहरूको त्रैमासिक समीक्षा सुरु
-
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्रीले सोधे स्पष्टीकरण
-
जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्छ : प्रधानमन्त्री