बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा, १० बर्षपछि संघबाट मान्यता

बुधबार, २८ चैत २०८०, ११ : १९
बुधबार, २८ चैत २०८०

धनगढी । धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने हाफ म्याराथनको १०औँ संस्करण आगामी वैशाख १ गते हुनेछ ।
हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको जानकारी बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक आशिष शाहले दिए । सन् २०१४ देखि नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष धनगढी हाफ म्याराथन आयोजना हुँदै आएको छ ।

यसपटक धनगढी हाफ म्याराथनले नेपाल एथलेटिक्स संघबाट पनि मान्यता पाएको छ । यो म्याराथनले आयोजनाको १० वर्षपछि एथलेटिक्स संघबाट मान्यता पाएको हो । धनगढी हाफ म्याराथनमा कुनै कीर्तिमान बनेमा अब त्यो कीर्तिमानले आधिकारिक रुपमै मान्यता पाउने छ ।
धनगढी हाफ म्याराथनको विजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ४४ हजार चार सय ४४ र तेस्रो हुने खेलाडीले ३३ हजार तीन सय ३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विजेताको पुरस्कार धनगढीको निसर्ग हस्पिटलले, उपविजेताको पुरस्कार कैलाली उद्योग वाणिज्य संघले र तेस्रो हुने खेलाडीको पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर सहिद गेट हुँदै गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामै पुगेर समापन हुने जानकारी धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले दिए ।

प्रतियोगिताअन्तर्गत महिला, कर्पोरेट र सञ्चारतर्फको पाँच किलोमिटरको दौड पनि आयोजना हुनेछ । यी विधाका विजेताले ६ हजार ६ सय ६६, उपविजेताले चार हजार चार सय ४४ र तेस्रो हुनेले तीन हजार तीन सय ३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप