अमेरिकामा मन्दिर पुनर्निर्माण गर्न राजु पराजुलीले दिए १ करोड ४८ लाख

काठमाडौँ । अमेरिकामा हिन्दु–बुद्ध मन्दिर पुनर्निर्माणका लागी त्यहाँ बस्ने एकजना नेपालीले १ लाख ११ हजार डलर दान गरेका छन् । हिन्दु–बुद्ध मन्दिर बनाउन राजु पराजुलीले १ करोड ४८ लाख रुपैयाँ प्रदान गरेका हुन् ।
पराजुली नेपालका लागि अमेरिकाको मेरिल्यान्ड राज्यका पर्यटन प्रवर्द्धक हुन् । मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको हिन्दु–बुद्ध मन्दिर पुनर्निर्माणका लागि पण्डित दिनबन्धु पोखरेलले मार्च ३० देखि अप्रिल ६ सम्म लगाएको महायज्ञमा पराजुलीले सो दान गरेका हुन् । महायज्ञबाट २० लाख अमेरिकी डलर दान सङ्कलन गरिएको महायज्ञ व्यवस्थापन समितिले जनाएको छ ।
सो मन्दिर निर्माणमा पनि पराजुलीले यसअघि ६ हजार ६ सय अमेरिकी डलर दान गरेका थिए । सो रकमबाट मन्दिरमा स्थापित शिवलिंग परिसरको पुनर्निर्माण हुने छ । मन्दिरमा नेपालीहरूको आस्था जोडिएकाले आफूले सहयोग गरेको पराजुलीले बताए । ‘मन्दिर यहाँको नेपाली समाजको आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ’ उनले भने–‘हाम्रो आस्था र नेपाली समाजलाई जोड्ने संस्था भएकाले मन्दिर बनाउन रकम दिएको हुँ ।’
मेरिल्याण्डमा उनले रेष्टुरेन्ट, लिक्वेर सप र ग्यास स्टेसन लगायत आधा दर्जन व्यवसाय संचालन गर्दै आएका छन् । उनी विगत २५ वर्षदेखि पर्यटन र हस्पिटालिटी व्यवसायमा आबद्ध छन् ।