शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

वीरगन्ज नेशनल मेडिकल कलेज : एमडी अन्सारीसहित दुई जनाको दुई दिन म्याद थप

मङ्गलबार, २७ चैत २०८०, २० : ०४
मङ्गलबार, २७ चैत २०८०

वीरगन्ज । जिल्ला अदालत पर्साले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई २ दिन थुनामा राख्ने अनुमति दिएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजबाट सोमबार पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत पर्साले अनुसन्धान गर्न आज म्याद थप गरेको हो ।

थुनामा राखेर अनुसन्धान गर्न पर्सा प्रहरीले ७ दिनको म्याद मागेको थियो । अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।  

उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक सञ्जय साहविरुद्ध जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी परेपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउनका लागि आज म्याद थपका लागि एमडी शाहनवाज अन्सारीसहित दुवै जनालाई हाजिर गराइएको थियो  । 

के सजायको व्यवस्था ?

जिल्ला अदालत पर्साले म्याद थप गरेपछि प्रहरीले कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्ध मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीमा लेखिएको छ, ‘म्याद नाघेको केमिकल बेचबिखन गर्नुको भनेको कालोबजारी तथा केही अन्य सामाजिक अपराध हो, साथै यसरी झुक्यानमा पारी ठगी गर्ने संस्थाका प्रमुखसहितलाई कानुनबमोजिम कारबाही होस् ।’ 

उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरी अनुसार कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन,२०३२ मा प्रस्ट व्याख्या गरिएको छ । जसको यस ऐनको प्रस्तावनामै भनिएको छ,‘ सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न कालोबजारी, नाफाखोर, जम्माखोरी मिसावट र केही अन्य सामाजिक अपराध नियन्त्रण गर्न वाञ्छनीय छ । 

 यसैको बुँदा नम्बर ७ मा रहेको औषधीमा मिसावट र मिसावट भएको औषधीको विक्री शीर्षकमा भनिएको छ :

शुद्ध औषधि सरह बिक्री वा प्रयोग गराउने नियतले वा त्यसरी बिक्री वा प्रयोग गरिने सम्भव छ भन्ने जानी जानी औषधिको प्रभाव शून्य हुने, घटी हुने वा बदलिने वा हानिकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गरेमा वा त्यस्तो मिसावट भएको वा म्याद नाघेको औषधि हो भन्ने जानी जानी बिक्री गरेमा वा विक्री गर्न उद्योग गरेमा वा विक्री गर्न राखेमा वा उपचारको निमित्त कसैलाई दिएमा वा मिसावटको सम्बन्धमा जानकारी नभएका कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न लगाएमा निजलाई देहाय बमोजिम सजाय हुनेछ:

(क) ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्म कैद वा दश वर्षसम्म कैद र जरिवाना,

(ख) शरीरको शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुनसक्ने भएमा दश वर्षसम्म कैद र जरिवाना,

(ग) अन्य अवस्थामा पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै ।

(२) कुनै अरू थोकलाई औषधि भनी विक्री गरेमा समेत उपदफा (१) बमोजिमको कसुर गरेको ठहरी सजाय हुनेछ ।

प्रहरीले यो दफा अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएमा कम्तीमा ५ वर्ष कैद वा जरिवाना हुने व्यवस्था रहेको कानुनविद्हरू बताउँछन् । कानुनविद् कमलमोहन पोखरेलका अनुसार प्रहरीले अहिले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन,२०३२ बमोजिम कारबाही अनुसन्धान गर्ने म्याद थप गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप