शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
शिक्षा

२०७० सालमा कक्षा १ मा ११ लाखको सङ्ख्यामा भर्ना भएका विद्यार्थी कक्षा १० मा पुग्दा ५ लाखमा सीमित

मङ्गलबार, २७ चैत २०८०, ११ : ३८
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर–१९ घर भएकी अनिता राना (नाम परिवर्तन) भर्खरै २० वर्षमा लागिन् । उनीसँगैका साथीहरू यतिबेला स्नातक तह पढिरहेका छन् तर उनको औपचारिक शिक्षा कक्षा ८ मै रोकियो । एक भारतीयसँग प्रेम सम्बन्धमा रहेकी उनले चाँडै विवाह गरिन् । साथीहरूको हातमा कापी किताब रहेको बेला उनको हातमा भने बच्चाको भविष्य छ ।

उनी भन्छिन्, ‘त्यो बेला सम्झाउने बुझाउने कोही भएनन् । कसैले सम्झाइदिएको भए सायद भागेर जाने थिइनँ होला । अहिले आफूसँगैका साथीसँग बोल्न पनि लाज लाग्छ ।’ यो समस्या अनिताजस्ता धेरैले झेल्दै आएका छन् । पढ्न छाडेर सानै उमेरमा बिहे गर्ने तथा पढाइ छाडेर जीवन निर्वाहका लागि कमाउनतिर लाग्नेहरूको सङ्ख्या उल्लेख्य छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ३ मा दलित समुदायको बाक्लो बस्ती छ । त्यहाँका अधिकांश बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् । उनीहरू पढ्नुभन्दा पनि पैसा कमाउन तथा बिहे गर्नतिर लागेका छन् । गाउँपालिकाको शिक्षा शाखा प्रमुख सन्तोष कुमार रायका अनुसार वडा नम्बर २ र ३ मा रहेका मुसहर तथा सदा परिवारका बालबालिकामा विद्यालय छाड्ने दर बढी छ ।

१९ वटा सामुदायिक विद्यालय रहेको छिन्नमस्तामा चार हजार ९९३ विद्यार्थी अध्ययनरत छन् । उक्त पालिकामा २० देखि २५ प्रतिशत विद्यार्थीले पढाइ बिचमै छाड्ने (ड्रपआउट) गरेका छन् । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन तथा बिचमै पढाइ छोड्ने बालबालिकालाई विद्यालयमै टिकाइराख्न विभिन्न कार्यक्रम अघि सारिएको छ । तर पनि पढाइ बिचमै छाड्नेको सङ्ख्यामा कमी आउन नसकेको रायले बताए ।

‘वडा नम्बर ३ मा सबैभन्दा बढी दलित बस्ती छ । त्यस्तै वडा नम्बर ५ मा पनि बढी दलित समुदायको बस्ती छ । ती बस्तीका बालबालिका विद्यालय नजाने समस्या छ,’ रायले भने । छिन्नमस्तामा विभिन्न कारणले बालबालिका विद्यालय जान नमान्ने तथा ड्रपआउटको समस्या रहेको उनको भनाइ छ । ‘छात्रहरूको हकमा ट्याक्टरमा काम गर्न जान्छन् । १४÷१५ वर्षकै उमेरमा बिहे गर्ने समस्या छ । हाम्रो पालिकाभित्र बालविवाह मुक्त घोषणा गरेका छौँ । तर, भारततिर गएर बिहे गर्छन् । इँटा भट्टामा काम गर्न जाने र पढाइ नै छाड्ने समस्या देखिएको छ,’ रायले भने ।

त्यस्तै अभिभावकहरू सचेत नहुँदा समेत यस्तो समस्या देखिएको उनको भनाइ छ । पालिकाले छात्राहरूको हकमा ‘किशोरी शिक्षा’ कार्यक्रम चलाएको थियो । त्यस्तै ‘सिप विकास’ कार्यक्रम पनि चलाएको थियो । तर पनि ड्रपआउटको समस्या नरोकिएको उनको भनाइ छ ।

ड्रपआउटको विकराल अवस्था

बालबालिकाहरू विद्यालय नजाने एउटा समस्या छ भने त्यो भन्दा विकराल समस्याका रुपमा बिचमै विद्यालय छाड्ने समस्या देखिएको छ । कक्षा १ मा भर्ना भएको विद्यार्थी १० वर्षपछि कक्षा १० मा पुग्दा आधा भन्दा बढीले घट्ने तथ्याङ्कले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार २०७१ सालमा कक्षा १ मा भर्ना भएका विद्यार्थी २०८० मा ५० प्रतिशतभन्दा कम देखिएका छन् ।

२०७१ सालमा ११ लाख ३६ हजार ४३३ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । २०८० सालमा आउँदा कक्षा १० मा पाँच लाख एक हजार ९६ विद्यार्थी भर्ना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । यो १० वर्षको बिचमा ६ लाख ३५ हजार ३३७ विद्यार्थीले कक्षा १० मा नपुगी बिचमै पढाइ छाडेका हुन् । अर्थात ४४.०९ प्रतिशत विद्यार्थी ‘ड्रपआउट’ भएका छन् ।

२०७६ सालमा कक्षा ५ देखि कक्षा ६ मा पुग्दासम्म ८८ हजार ६१७ विद्यार्थी ड्रपआउट भएको देखिन्छ भने कक्षा ७ देखि कक्षा ८ मा पुग्दा पहिला ड्रपआउट भएका विद्यार्थी पुनः फर्किएका देखिन्छन् । तर, त्यसपछि भने क्रमशः हरेक वर्ष विद्यार्थी सङ्ख्या घट्दै गएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

कक्षा ८ देखि कक्षा ९ मा पुग्दा ३१ हजार ५३३ विद्यार्थीले विद्यालय छाडेका छन् । त्यस्तै कक्षा ९ देखि कक्षा १० मा पुग्दा ६८ हजार ०६९ विद्यार्थी ड्रपआउट भएका छन् ।

कक्षा १ मा भर्ना भएको विद्यार्थी कक्षा १० सम्म पुग्दाको अवस्था

student data

तथ्याङ्क स्रोत : शिक्षा तथा मानव स्रोत विकास केन्द्र 

विद्यार्थी ड्रपआउटका विविध कारण

विद्यार्थीहरूले बिचमै पढाइ छाड्नुको पछाडि विविध कारण देखिएका छन् । सामाजिक तथा आर्थिकसँगै विभिन्न कारणले विद्यार्थी बिचमै पढाइ छाड्न बाध्य भएको देखिन्छ ।

शिक्षाविद्हरूले विद्यार्थी ड्रपआउट हुनुका विभिन्न कारण औँल्याएका छन् । उनीहरूका अनुसार ड्रपआउटको विकराल समस्यासँगै विद्यालय नै नजाने अर्को समस्या छ । जसले गर्दा ठुलो समस्यामा विद्यार्थीहरू विद्यालय बाहिर देखिने गरेका छन् ।

शिक्षाविद् डाक्टर विष्णु कार्कीका अनुसार ड्रपआउटको पछाडि सामाजिक, आर्थिक तथा शिक्षा प्रणाली जिम्मेवार छ । उनका अनुसार ड्रपआउटका कारणहरू यस्ता छन् ः

  •     आर्थिक अवस्था कमजोर भएकाले पारिवारिक जिम्मेवारी बहन गर्नुपर्ने हुँदा विद्यालय छाडेर कमाउनतिर लाग्छन् ।
  •    सानै उमेरमा पठनपाठनभन्दा पनि विवाह गरेर जाने समस्या ।
  •     साथीभाइको लहैलहैमा लागेर पढाइ छाड्ने ।
  •    विद्यालयमा हुने विभेद, विद्यालयमा हुने जाँच जस्ता कारणले विद्यालय जान नचाहने ।
  •    अभिभावकहरूमा शिक्षाको कमी ।

एसईई दिएका ठुलो सङ्ख्या विद्यार्थी कक्षा १२ को परीक्षा दिनसमेत नपुग्ने गरेको कार्कीको भनाइ छ । यस्तो अवस्था भनेको नेपालको विद्यालय शिक्षा नै फेल भएको उनले बताए । विद्यालय शिक्षा सबैका लागि हुने भए कम्तीमा पनि ८०÷९० प्रतिशत विद्यार्थी कक्षा १० सम्म पुगेको हुनुपर्ने उनको भनाइ छ ।

‘कसैले पनि हाम्रो आवश्यकता के हो, त्यसमा विचार गरिरहेका छैनौँ । हामीले त खाली तिमी स्कुलमा आऊ । पढ, जाँच देऊ र पास भएपछि हामीले सर्टिफिकेट दिन्छौँ मात्रै भनिरहेका छौँ,’ कार्कीले भने ।

स्कुलमा हुने परीक्षाका कारण पनि समस्या हुने गरेको उनले बताए । ‘स्कुलमा जाँच भनेपछि सातोपुत्लो जान्छ । पढ्छ–पढ्छ र जाँच भनेपछि निस्किन्छ । हामीले सिकाउने कुरा नगर्ने, खाली जाँच दिने कुरामात्रै गरिरहेको हुन्छौँ । सिकाउने चाहिँ कहिले हो ?’ उनले प्रश्न गरे ।

सिकाइ पद्धति जीवनको लामो प्रक्रिया भन्दै आए पनि पहिलो कक्षामै फेल भएर शिक्षा आरम्भ गर्दा नकारात्मक प्रभाव पर्ने उनले बताए । ‘उसको सिक्ने जीन्दगी नै बाँकी छ । तर, पहिलो परीक्षामा नै फेल भनिदिन्छौँ,’ कार्कीले भने ।

विद्यालयमा विद्यार्थीलाई पढाउने भन्दा पनि सिकाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । पढाउनभन्दा पनि सिकाउन सकियो भने विद्यार्थी पढ्नतिर आकर्षित हुने र रोजगारी गर्दै सिक्ने हुँदा ड्रपआउटको समस्या पनि नहुने उनले बताए ।

ड्रपआउट र क्वालिटी शिक्षाबारे नै विद्यावारिधी गरेका अर्का शिक्षाविद् डाक्टर विनय कुसियतले कक्षा बढ्दै जाँदा विद्यार्थीको ड्रपआउटको समस्या बढी रहेको बताए । एउटा उमेरमा पुगेपछि विद्यार्थी रोजगारीतिर केन्द्रित हुने र पढाइ छाड्ने गरेको उनको भनाइ छ ।

यस्तो खालको ड्रपआउटको समस्या अशिक्षित, गरिबी जस्ता क्षेत्रमा बढी देखिने गरेको कुसियतले बताए । ‘ब्राह्मण, क्षेत्री लगायतका जहाँ शिक्षित समुदाय छन्, त्यहाँ ड्रपआउटको समस्या छैन । जहाँ अशिक्षा, गरिबी छ, त्यहाँ बढी ड्रपआउट छ । धनीको हकमा शिक्षाको महत्त्व बुझेका हुन्छन्,’ कुसियतले भने ।

त्यस्तै विद्यालयका कारण पनि विद्यार्थीहरूले बिचमै पढाइ छाड्ने गरेको उनको भनाइ छ । ‘स्कुलमा दण्ड दिने, राम्रो शौचालयको व्यवस्था नभएको अवस्थामा पनि बालबालिकाहरू विद्यालय जान मान्दैनन् । त्यस्तै सानै उमेरमा बिहे गरिदिँदा पनि पढाइ छाड्ने गरेका छन् । समाजका कारण पनि ड्रपआउट छ,’ डाक्टर कुसियतले भने ।  

यस्तो समस्या तराई मधेस क्षेत्रमा बढी रहेको उनको भनाइ छ । ‘त्यस्तै मुस्लिम समुदायमा झन् बढी समस्या छ । उनीहरू मदरसामा जान्छन् । त्यो बाहेक किन पढ्ने भन्ने हुन्छ । दलित समुदाय, मुस्लिम समुदायमा यो समस्या निकै बढी देखिन्छ,’ कुसियतले भने ।

कुनै विद्यार्थी कम्तीमा एक वर्षभित्र विद्यालयमा छैन भने त्यसलाई ड्रपआउट भन्नुपर्ने हुन्छ ।

ड्रपआउटका कारण पर्ने प्रभाव  

ड्रपआउट समाजको चुनौतीको विषय हो । यसले व्यक्तिमात्र नभइ समग्र समाज तथा राष्ट्रलाई नै असर गरिरहेको हुन्छ ।

‘यसले मानिसको दैनिक जीवनदेखि संस्कार निर्माणसम्ममा असर गर्छ । विद्यार्थी शिक्षाबाट वञ्चित हुनु एउटा कुरा हो भने त्यसले जीवनमा धेरै कुराबाट वञ्चित गरिरहेको हुन्छ,’ डा. कुसियतले भने, ‘यसले राष्ट्रिय उत्पादनमा समेत असर पर्छ । उसको रोजगारीमा समेत असर पर्छ । पूरै समाजलाई नै असर पर्छ । पढेको र नपढेको बिचसमेत असर पर्छ । पढेको र नपढेको बिच विभेद भयो भने त्यसले थुप्रै खालको समस्या निम्त्याउँछ ।’

शिक्षाविद् डा. कार्कीले विद्यालयमा कडाइका साथ जाँच लिने तर, पढाइमा कसैको ध्यान नगएको बताए । ‘जाँचमा मात्रै ध्यान दिइयो । जाँच लिएर फेल गर्ने मानसिकबाट अब बाहिर निस्कनुपर्छ । पास किन नगर्ने भन्ने मानसिकताबाट शिक्षक हायर गर्नुपर्छ,’ कार्कीले भने ।

सामाजिक कुरीति तथा सामाजिक विभेदका कारण पनि विद्यार्थीहरू विद्यालयबाट बाहिर निस्किन बाध्य हुने गरेको उनको भनाइ छ ।

‘दलित, जनजातिको हकमा हुने विभेदका कारण पनि विद्यार्थीहरू ड्रपआउट हुने समस्या देखियो । उनीहरू विद्यालयमा गएर विभेद सहनुभन्दा बाहिर रमाउन चाहन्छन्,’ कार्कीले भने ।

छात्राहरूको हकमा अर्को समस्या पनि देखिन्छ । कार्कीका अनुसार पिछडिएको समुदायका छात्रामाथि अर्को खालको विभेद हुने गरेको छ । जसले गर्दा उनीहरू विद्यालय बाहिर हुने र गएका छात्राहरू पनि बिचमै छाड्ने गरेका छन् ।

५० प्रतिशतलाई पुनः ल्याउन सकिने

ड्रपआउट भएका विद्यार्थीको हकमा पुनः विद्यालयमा फर्काउन सकिने विषयमा सरकारले विभिन्न उपाय अघि सारेको देखिन्छ । तर पनि उनीहरू विद्यालय बाहिर नै हुन्छन् ।

सन् २०१४ मा युनिसेफले एक अध्ययन गरेको थियो । ‘नेपालमा विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था’ विषयमा गरेको अध्ययन अनुसार ड्रपआउट भएका विद्यार्थीमध्ये ५० प्रतिशतलाई पुनः विद्यालयमा ल्याउन सकिने देखिन्छ । तर, पहिलो पटक ड्रपआउट भएको हकमा मात्रै ल्याउन सकिने देखिन्छ । दोस्रो पटक ड्रपआउट भएको अवस्थामा भने पुनः विद्यालयमा ल्याउन नसकिने देखिएको थियो ।

अब के गर्ने ?

विद्यालय छाडेर बाहिर आएका विद्यार्थीमा विद्यालयसँग वितृष्णा भइसकेको हुन्छ । उनीहरू विद्यालयभन्दा धेरै बाहिर गइसकेका हुन्छन् । उनीहरूको लागि रेस्पोन्स भनेको पुनः जबरजस्ती विद्यालयमा ल्याउन नभएको कार्कीको भनाइ छ ।

‘यस्ता विद्यार्थीलाई हामीले फरक एप्रोच गर्नुपर्छ । छोडेर गएका विद्यार्थीहरू कुनै न कुनै पेसामा आबद्ध भएका छन् । उनीहरूले कति पैसा पायो भन्नेमा मतलब छैन । उनीहरूलाई पैसा पायोसँग मात्रै महत्त्व छ । उनीहरूलाई रोजगारीसँग जोड्नुपर्छ,’ कार्कीले भने ।  

अब मोडर्न एजुकेशनसँग विद्यार्थीलाई केन्द्रित गराउनुपर्नेमा उनको जोड छ । यो समस्याको असर विद्यालय शिक्षामा मात्रै नभइ विश्वविद्यालयमा समेत देखिन्छ ।

एकातिर विद्यार्थी घट्दै जाने र अर्कोतिर विश्वविद्यालयको सङ्ख्या बढाइरहेको अवस्थामा भोलिका दिनमा ठुलो समस्या निम्त्याउने कार्कीको भनाइ छ ।

‘अब विद्यालयलाई रिफर्म गर्नुपर्छ । अब आवश्यकताको आधारमा लगानी गर्नुपर्छ । विद्यार्थीहरूलाई कक्षा ८ पास गरेपछि नै रोजगार चाहिएको हुन्छ । अब उनीहरूलाई पढाईसँगै रोजगारीमा जोड्नुपर्छ । त्यसका लागि विद्यार्थी सपोर्ट कार्यक्रम ल्याउनुपर्छ,’ कार्कीले भने ।

शिक्षाविद् कुसियतले विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने बताए ।

गाउँ शिक्षा योजना आवश्यक : महानिर्देशक शर्मा

अहिले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ । विद्यालय शिक्षामा देखिएका समस्या समाधान गर्ने जिम्मेवारी समेत स्थानीय सरकारलाई नै हुन्छ । सबैभन्दा नजिकको सरकार भनेको पनि स्थानीय तह नै हो । आफ्नो क्षेत्रका विद्यालयमा देखिने समस्या र तिनको समाधान समेत स्थानीय तहबाटै हुनुपर्छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्माले अब स्थानीय तहहरूले गाउँ शिक्षा योजना ल्याउनुपर्ने बताए । आफ्नो पालिका क्षेत्रमा रहेका विद्यालयहरूको सुधार तथा ड्रपआउटको समस्या न्यूनीकरणका लागि गाउँ शिक्षा योजना अघि सार्नुको विकल्प नरहेको उनले प्रस्ट पारे ।

आफ्नो क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउने, टिकाइराख्ने जस्ता विविध विषयलाई समेटेर योजना अघि सार्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप