रुसमा रेल्वे ट्र्याकमा पुल खस्दा एकको मृत्यु
मङ्गलबार, २७ चैत २०८०, १० : ०२
![रुसमा रेल्वे ट्र्याकमा पुल खस्दा एकको मृत्यु](https://npcdn.ratopati.com/media/news/rush_ZfrXiuLfXo.webp)
मस्को । पश्चिमी रुसमा रेल्वे ट्र्याकमाथि सडक पुल खस्दा एक जनाको मृत्यु भएको छ । पनिन्स्की ओभरपास खस्दा एक महिलाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अन्य पाँच जना घाइते भएको बताइएको छ ।
सोमबारको यस घटनापछि भ्याज्मा, स्मोलेन्स्की क्षेत्रमा सबै रेल सेवा रोकिएको थियो । ग्यास पाइप लाइनमा क्षति पुग्दा करिब ८ हजार घर परिवार ग्यास विहीन बनेका बताइएको छ । यस घटनाबारे छानबिन सुरु गरिएको छ । पुरानो भएकोले पुल खसेको स्थानीय समाचार च्यानलले भनेको छ । उक्त पुललाई बनाउन स्थानीयहरूले बारम्बार अधिकारीहरूसँग अनुरोध गरेका थिए ।
पुलको सात ओटा मध्ये छ ओटा खण्ड खसेको थियो । घाइते तीन जनालाई उपचारका लागि राजधानी मस्कोमा लगिएको छ । १४ वर्षकी एक किशोरीको भने स्थानीय अस्पतालमै उपचार भइरहेको बताइएको छ ।