रेमिट्यान्स बाहेक कहाँ–कहाँबाट भित्रिने गरेको छ नेपालमा पैसा ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको शोधनान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँले बचतमा छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३० प्रतिशतको वृद्धि हो ।
२०७९ फागुन मसान्तसम्ममा १ खर्ब ४२ अर्ब रुपैयाँ हाराहारीमात्र बचतमा रहेको ‘ब्यालेन्स अफ पेमेन्ट’ (बीओपी)मा एकाएक कसरी आयो परिवर्तन ?
भन्सार विभागकै तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्बभन्दा बढी छ । फागुन मसान्तसम्ममा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले सोही अवधिमा मुस्किलले १ खर्ब ६१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्न सकेको छ ।
तथापि, अघिल्लो वर्षको तुलनामा आयात २.६६ प्रतिशतले र निर्यात ३.९९ प्रतिशतले घटेकोमा व्यापार घाटा पनि २.५२ प्रतिशतले नै घट्न पुगेको छ । बीओपीमा बृहत् सुधार आउनुमा यतिमात्र कारण होइन ।
रेमिट्यान्समा आएको सुधार
नेपालको अर्थतन्त्रको मुख्य खम्बाको रुपमा यतिबेला विप्रेषण आप्रवाह (रेमिट्यान्स) उभिएको छ । अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले रेमिट्यान्स भित्रिँदै गर्दा शोधनान्तर स्थिति सुधारमा निकै सहयोग पुगेको छ ।
फागुन मसान्तसम्म ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ हाराहारी रेमिट्यान्स भित्रिँदा सोही अवधिमा सोही शीर्षकमा ४ करोड ८१ लाख रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको रिपोर्टले देखाउँछ । यसको अर्थ नेपाल भित्रिएको रेमिट्यान्सबाट केही प्रतिशत रकम रेमिट्यान्सकै रुपमा बाहिरिन्छ ।
रेमिट्यान्सको आय–व्ययको स्थिति हेर्दा यसबाट ९ खर्ब ५६ अर्ब ४० करोड रुपैयाँ बचत भएको देखिन्छ । अघिल्लो वर्ष यस्तो बचत ७ खर्ब ८९ अर्ब ७५ करोड रुपैयाँ थियो ।
भ्रमण आय
विदेशी मुद्रा आर्जन गर्न सकिने अर्को महत्त्वपूर्ण क्षेत्र पर्यटन हो । सेवा आयतर्फ पर्ने यस क्षेत्र यातायात र ट्राभल गरी शीर्षकमा भित्रिने र बाहिरिने मुद्रालाई हिसाब गरिन्छ ।
केन्द्रीय बैंकको रिपोर्ट अनुसार फागुन मसान्तसम्ममा यातायात शीर्षकमा १९ अर्ब ५६ करोड ३० लाख रुपैयाँ भित्रिएको छ भने सोही शीर्षकमा ४८ अर्ब ६१ करोड १० लाख रुपैयाँ बाहिरिएको छ । समीक्षा अवधिमा यातायातमा सरकारलाई २९ अर्ब ४ करोड ७० लाख रुपैयाँ खुद घाटा लागेको छ ।
खास पर्यटन खर्चको आयव्यय ट्राभल शीर्षकमा फागुन मसान्तसम्म ५१ अर्ब ३८ करोड ६० लाख रुपैयाँ भित्रिएको छ भने सोही अवधिमा नेपालबाट १ खर्ब २२ अर्ब ८१ करोड २० लाख रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये शिक्षा व्ययका रुपमा समीक्षा अवधिमा नेपालबाट ८० अर्ब १४ करोड १० लाख रुपैयाँ बाहिरिएको छ ।
समग्रमा सेवा क्षेत्रबाट सरकारलाई यस अवधिमा ४४ अर्ब ८२ करोड रुपैयाँ घाटा लागेको छ ।
सूचना तथा सञ्चार
नेपालले राम्रो विदेशी मुद्रा आर्जन गर्ने सक्ने अर्को क्षेत्र सूचना तथा सञ्चार हो । अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन (सञ्चार) सेवा प्रवाह गरे बापत विदेशी टेलिकम्युनिकेसन कम्पनीहरूबाट शुल्क उठ्ने गर्छ । यसमा पनि वैदेशिक श्रमका लागि गएका नेपालीहरूको ठुलो भूमिका छ ।
फागुन मसान्तसम्म सूचना तथा सञ्चारको व्यापारबाट सरकारले १० अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा सूचना तथा सञ्चार सेवामार्फत ११ अर्ब ६ करोड रुपैयाँ कमाएको सरकारले ८२ करोड रुपैयाँ खर्च गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ४७ करोड रुपैयाँमात्र कमाएको सरकारले यो वर्ष २० प्रतिशतले आम्दानी बढाएको हो ।
लगानी आय
समीक्षा अवधिमा सरकारले वैदेशिक लगानी आयबाट खुद ३७ अर्ब ८८ करोड रुपैयाँ भित्र्याएको छ । प्राथमिक आय क्षेत्र अन्तर्गत फागुन मसान्तसम्म कुल ५८ अर्ब ९९ करोड २० लाख रुपैयाँ भित्र्याउँदा २१ अर्ब १० करोड रुपैयाँ बाहिरिएको छ ।
अघिल्लो वर्ष यस्तो लगानीमार्फत सरकारले ८ अर्ब ८० करोडमात्र भित्र्याएको थियो । तुलनात्मक रुपमा यो वर्ष नेपालको लगानी आय ३३० प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी वित्तीय खाता अन्तर्गत अन्य लगानीको शीर्षकमा समीक्षा अवधिमा नेपालले ८९ अर्ब १५ करोड रुपैयाँ भित्र्याएको छ भने प्रत्यक्ष लगानीको शीर्षकमा ५ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ ।
अनुदान तथा वित्तीय साझेदारी कार्यक्रम
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले विभिन्न विदेशी दातृ निकाय तथा देशहरूबाट ७ अर्ब ५५ करोड रुपैयाँ अनुदान ल्याएको छ । यसले पनि मुलुकको बीओपीमा प्रभाव पार्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।
अघिल्लो वर्षको तुलनामा वैदेशिक अनुदान १९ प्रतिशतले घट्न पुगेको हो । अन्य वित्तीय साझेदारी कार्यक्रममा भने सरकारले १० खर्ब ३४ अर्ब ४० करोड रुपैयाँ बराबरको साझेदारी पाएको छ । यसले नै बीओपी सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
समीक्षा अवधिमा १० खर्ब ३९ अर्ब ७२ करोड रुपैयाँ साझेदारी पाएकोमा सोही शीर्षकमा ५ अर्ब २१ करोड साझेदारी दिएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।
अघिल्लो वर्ष ८ खर्ब ६६ अर्ब ६९ करोड रुपैयाँ बराबरको साझेदारी पाएकोमा यो वर्ष १९ प्रतिशतले साझेदारी कार्यक्रम वृद्धि भएको हो ।
बीमा तथा पेन्सन
यो वर्ष सामाजिक सुरक्षातर्फको अन्तर्राष्ट्रिय आयको रुपमा पेन्सनबाट राम्रो आय भए पनि उता बीमा शुल्कबापत मोटो रकम बाहिरिएको देखिन्छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा पेन्सन बापत ४४ अर्ब ४८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । तथापि, यो अघिल्लो वर्षको तुलनामा ६.५ प्रतिशतले कम हो ।
आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा पेन्सन बापत विभिन्न देशबाट नेपालमा ४७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी भित्रिएको थियो ।
निर्जीवन बीमा भुक्तानी दाबी बापत १ अर्ब ६४ करोड ७० लाख रुपैयाँ भित्रिँदा सोही शीर्षकमा ६ करोड १० लाख रुपैयाँ बाहिरिएको छ । समग्रमा पेन्सन तथा बीमा खातामा सरकारलाई यो वर्ष ४६ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ४७ अर्ब ८९ करोड आम्दानी गरेको सरकारलाई यो पटक ३.८ प्रतिशतले घाटा लागेको छ ।
यसका अतिरिक्त पेट्रोलियम पदार्थ, सुन लगायतका विभिन्न आयातित वस्तु, मेन्टेनेन्स, अन्य व्यापार सेवा, सरकारी वस्तु तथा सेवा, पुँजीगत खाता, अन्तर्राष्ट्रिय लगानी तथा कर्जा, संरक्षित सम्पत्ति लगायतले मुलुकको बीओपी प्रभावित हुने गर्छ ।
यस्तो छ, बीओपी प्रभावित आय व्ययको स्थिति
चालु आर्थिक वर्षको ८ महिनाको तथ्याङ्कको आधारमा (अङ्क १० हजारमा)