शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ऐतिहासिक पदक विजेता एरिका अमेरिकामा नौ लाख रुपैयाँसहित सम्मानित

सोमबार, २६ चैत २०८०, १६ : ०९
सोमबार, २६ चैत २०८०

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताकी रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङ अमेरिकामा करिब नौ लाख रुपैयाँ नगदसहित सम्मानित भएकी छन् । ११ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्टस क्लब यूएसएको आयोजनामा एरिकालाई सात हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार चार सय ६३ नेपाली रुपैयाँ) र प्रमाणपत्रबाट सम्मान गरिएको हो ।

यूएसए ओपन कराँते च्याम्पियनसिपमा भाग लिन अमेरिका पुगेकी एरिकालाई सम्मान गरिएको हो । उनलाई तमु परिवारले दुई हजार सात सय ५६, तमु सोसाइटीले नौ सय ५३ र सुदूरपश्चिम समाजले पाँच सय ५०, ईन्टरनेशनल मार्सल आर्टस एसोसियसन न्युयोर्कले एक सय ९०, मामा भान्जा ग्रुपले एक हजार १० र रेड पाण्डाले दुई सय अमेरिकी डलर प्रदान गरेको हो । 

arika1

बाँकी रकम भने च्याम्पियन मार्सल आर्टस, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए । यूएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक हात पारेकी थिइन् । 

गत असोजमा चीनमा भएको १९ औँ एसियाली खेलकुदमा एरिकाले रजत पदक जितेकी थिइन् । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराँते खेलाडी हुन् । लामाको सभापतित्वमा भएको सम्मान कार्यक्रममा १३औँ एसियाडका कास्य पदक विजेता सम्बरबहादुर गोलेले एरिकालाई सम्मान गरेका थिए ।

सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका आठौ र नवौं सागका स्वणर् पदक विजेता दीपक श्रेष्ठ, १३औँ सागका स्वणर् पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । हाल अमेरिका बस्दै आएकी अनुले पनि यूएसए ओपनमा १६ देखि ३४ वर्षको समूहको स्पर्धामा स्वर्ण पदक जितेकी थिइन् । विप्लभले पनि यूएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप