शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बिसु पर्व मनाउन घर फर्कँदै नेपाली

सोमबार, २६ चैत २०८०, १६ : ००
सोमबार, २६ चैत २०८०

कैलाली । सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।

हेल्प डेस्कका अनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न सहरबाट पछिल्लो समय झण्डै तीन हजार नेपाली भित्रिएका छन् । जसमध्ये मङ्गलबारदेखि हिजो आइतबारसम्म दुई हजार छ सय ७७ नेपाली फर्किएका छन् ।

चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीहरुको सङ्ख्या बढ्न थालेको हुन् । अन्य विदेशी मुलुक जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्ने लगायतका विविध कारणले पनि धेरैजसो यहाँका नेपालीहरू रोजगारीका लागि भारत जाने गरेका हुन्छन् ।

लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आएका डोटीको आदर्श गाउँपालिकाका रमेश साउदले बिसु पर्व मनाउनकै लागि घर फर्केको बताए । “बिसु पर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यबिच एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार खाई रमाइलो गर्ने गरिन्छ”, उनले भने, “यो पर्व परिवारसँग मनाउँदा घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको अवस्थाको अन्त्य गराउँछ ।”

खेतीपाती भित्र्याउने समय भएको र विषु पर्व पनि आइरहेकाले आफू भारतको पञ्चाबबाट आएको कैलालीको धनगढीका नारद आउजीको भनाइ छ । यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । 

खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ । खेतीपाती नहुनेहरू लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन् । 

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठुला सहरहरूमा जाने गर्दछन् ।

बिनाभिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने भएकाले पनि यस क्षेत्रका नेपालीको प्रमुख रोजगारीको गन्तव्य छिमेकी राष्ट्र भारत बन्न पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप