बक्स अफिसमा ‘क्रू’को सेन्चुरी, १०० करोड कमाउने पाँचौँ फिल्म
![बक्स अफिसमा ‘क्रू’को सेन्चुरी, १०० करोड कमाउने पाँचौँ फिल्म](https://npcdn.ratopati.com/media/news/crew_EcvH9cCX3l.png)
नयाँ दिल्ली । करीना कपुर, तब्बु र कृति सेननको मुख्य अभिनय रहेको फिल्म ‘क्रू’ यतिबेला हलमा चलिरहेको छ । रिलिज हुनेबित्तिकै यो फिल्मले बक्स अफिसमा कब्जा जमायो । चलचित्रलाई दर्शकहरूले निकै रुचाइरहेका छन् । ‘क्रू’ले भारतमा मात्रै नभएर विश्वभर नै राम्रो कमाई गरिरहेको छ ।
फिल्मले कमाईको हिसाबले बक्स अफिसमा सेन्चुरी बनाएर आफ्नो नाममा बलियो रेकर्ड बनाएको छ । अभिनेत्री तब्बुले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा पोस्ट सेयर गर्दै ‘क्रू’को विश्वव्यापी कलेक्सनबारे बताएकी थिइन् । पोस्टका अनुसार फिल्मले विश्वभर सय करोडभन्दा बढी कलेक्सन गरेको छ । अहिलेसम्म फिल्मको कुल कलेक्सन १०४ करोड ८ लाख भारु रहेको छ । फिल्मले ९ दिनमा यो उपलब्धि हासिल गरेको हो । ‘क्रू’ले पहिलो दिनमा विश्वभर २० करोड ७ लाख भारुको व्यापार गरेको थियो ।
सय करोड कमाउने पाँचौँ फिल्म
सन् २०२४ मा १०० करोड क्लबमा प्रवेश गर्ने ‘क्रू’ पाँचौँ फिल्म बनेको छ । यसअघि ‘फाइटर’, ‘आर्टिकल ३७०’, ‘तेरी बातों में ऐसा उल्झा जिया’ र अजय देवगनको हरर फिल्म ‘शैतान’ले विश्वभर १०० करोडको आँकडा पार गरेको थियो ।
घरेलु बक्स अफिसमा पनि ‘क्रू’ ले राम्रो व्यापार गरिरहेको छ । स्याकनिल्कको रिपोर्ट अनुसार फिल्मले नवौँ दिन अर्थात् शनिवार ५ करोड २५ लाख भारु र दोस्रो आइतबार अर्थात् १० औँ दिन ५ करोड ७५ लाख भारु कमाएको छ । फिल्मले भारतभरमा ५८ करोड ५० लाख भारु कमाएको छ ।
फिल्ममा करिना कपुर, कृति सेनन र तब्बुले होस्टेसको भूमिका निर्वाह गरेका छन् । यो चलचित्र मार्च २९ मा हलमा रिलिज भएको थियो । यस कमेडी ड्रामा फिल्ममा दिलजीत दोसांझ, कपिल शर्मा, शाश्वत चटर्जी, राजेश शर्मा र कुलभूषण खरबन्द जस्ता कलाकारको महत्वपूर्ण भूमिका रहेको छ । ‘क्रू’ लाई रिया कपुर, अनिल कपुर र एकता कपुरले संयुक्त रूपमा निर्माण गरेका हुन् ।