बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्छौं : अध्यक्ष लिङ्देन

आइतबार, २५ चैत २०८०, १७ : ४८
आइतबार, २५ चैत २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले सरकारले कथित रुपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपालाई मान्य नहुने बताएका हुन् । 

अध्यक्ष लिङ्देनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे । उनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको बताए । 

अध्यक्ष लिङ्देनले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने प्रयत्नहरु राप्रपालाई स्वीकार्य नरहेको बताए ।   उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने स्पष्ट पारे । कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने उनले चेतावनी दिए । शनिबारको प्रदर्शनमा राजनीतिक दलहरूको प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गरेको र भिक्षुहरुमाथि लात्ती प्रहार गरेको भन्दै उनले भर्त्सना गरे । शनिबार भद्रकाली मन्दिर परिसर क्षेत्रमा नेता राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रहरीले भिक्षुकहरुमाथि लात्ती प्रहार गरेको थियो । सोही विषयलाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ ।

उनले भने, ‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोडका कामहरू हुने छैनन् । त्यो क्रममा सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस् । प्रधानमन्त्री र गृहमन्त्रीलाई म विशेष के आग्रह गर्न चाहन्छु भने पछिल्लो दिनमा प्रजातान्त्रिक क्रियाकलापहरू संविधानले नै दिएको सुविधा, विरोध प्रदर्शन गर्न पाउने, सभा सम्मेलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै जुन निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनहरूलाई साँघुरो बनाउने जुन प्रयत्नहरु भइरहेको छ । हिजो मात्रै पनि केही राजनीतिक दलका प्रदर्शनहरुमाथि लाठी चार्ज भयो । भिक्षुहरूलाई लात्ती मुड्की गर्ने काम भयो । त्यसको म निन्दा र भर्त्सना गर्दछु ।’

अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरूलाई एकताबद्ध भई आन्दोलनमा होमिन आग्रह गरे । उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप