शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
एकदिवसीय क्रिकेट

नेपाली ‘ए’ विरुद्धको एकदिवसीय शृंखलामा आयरल्यान्डको ‘क्लिन स्विप’

आइतबार, २५ चैत २०८०, १६ : १५
आइतबार, २५ चैत २०८०

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हराएको छ । जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा ‘क्लिन स्विप’ पनि गरेको छ ।  

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३९.४ ओभरमा अलआउट हुनुअघि दुई सय १५ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले उत्कृष्ट शतकीय पाली खेले । उनले पेभेलियन फर्किनुअघि एक सय दुई रन बनाए । उनले एक सय १८ बलको सामना गरी १४ चौका पनि प्रहार गरेका थिए । त्यसअघि उनले एक सय १४ बलमा आफ्नो शतक पुरा गरेका थिए । 

अर्का ओपनर अर्जुन साउदले पनि ३६ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले ३० बलमा तीन छक्का र चार चौका हिर्काए । देव खनाल ११ रन बनाउँदै पेभेलियन फर्किए भने चौथो नम्बरका ब्याट्सम्यान नरेन भट्टले टोलीको खातामा १५ रन थपे । 

रुपेश सिंहले पनि १५ रन बनाए । कप्तान विनोद भण्डारी चार रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए भने भीम सार्कीले खातासम्म खोल्न सकेनन् । रिजन ढकाल पनि शून्य रनमै आउट भए । साहब आलमले ६ र विकास अग्रीले तीन रन बटुले । रंजितकुमार एक रनमा अविजित रहे ।

नेपालले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो । आयरल्यान्डका बलर बेन ह्वाइट एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ६२ रन खर्चिएका थिए । गाभिन होएले पनि चार विकेट हात पारे । म्याथ्यू फोष्टरले एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि ओपनर ब्याट्सम्यान स्टिफन डोहेनीले उत्कृष्ट शतकीय पाली खेलेका थिए । उनले टोलीका लागि एक सय सात रनको योगदान गरे । यस क्रममा उनले एक सय २९ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काए ।

पिटर मुरले पनि टोलीको खातामा ४४ रन थपे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका पिटरले केवल २५ बलको सामना गरी पाँच छक्का र दुई चौका पनि हिर्काए । मोर्गन टपिङले २१ रन जोडे । गाभिन होए भने १४ रन बनाउँदै पेभेलियन फर्किए । फियोन ह्यान्डले टोलीको खातामा २० रन थपे । 

म्याथ्यू हमफ्रेयसले २३ रन जोडे । तल्लो क्रमका ब्याट्सम्यान बेन ह्वाइटले पनि अविजित १९ रन बनाए । आयरल्यान्डका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । आयरल्यान्डले अतिरिक्त रुपमा पनि १८ रन पाएको थियो । नेपाली टोलीका बलर रंजित कुमारले तीन विकेट लिए । रिजन ढकालले पनि तीन विकेट हात पारे । साहब आलम र विकास अग्रीले एकएक विकेट लिए । 

एकदिवसीय शृंखलासँगै आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण पनि सकिएको छ । आयरल्यान्ड ‘ए’ ले नेपालको राष्ट्रिय टोलीसँग दुई टी–२० खेलको शृंखला खेलेको थियो । दुबै खेलमा नेपालको राष्ट्रिय टोली विजयी भएको थियो । त्यसपछि खेलिएको नेपाल ‘ए’ विरुद्धको तीन खेलको टी–२० शृंखलामा आयरल्यान्ड ‘ए’ २(१ ले विजयी भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप