शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

मास्टर साहेबलाई अभिभावककोे चिठ्ठी

सोमबार, १० वैशाख २०७५, ११ : ४६
सोमबार, १० वैशाख २०७५

–चूडामणि वाग्ले

आदरणीय मास्टर साहेब,
नमस्कार !

मूलतः म एक किसान हुँ । मेरा विद्यालय पढ्ने छोरा र कलेज पढ्ने छोरी भएकाले अभिभावक हुनुको अनुभूति छ । ममा भएका मानवीय अनुभूतिका दुई चार कुरा लेखेको छु । 

शिक्षक आफैमा महान हुनुहुन्छ । शिक्षकको योगदानले देशका कर्णधारहरू जन्मन्छन् । समाज, राष्ट्र वा संसारको मूल्याङ्कन गर्न शिक्षकको योगदान हेरिन्छ ।
सिँगान पुछ्न नजान्ने बच्चालाई देशका राष्ट्रपति, मन्त्री, प्रधानमन्त्री, उद्योगी, किसान, डाक्टर, इन्जिनियर, राष्ट्रसेवक, पत्रकार, वकिल आदि बनाउने कला शिक्षकमा नै हुन्छ । त्यसैले शिक्षकको योगदानप्रति म नतमस्तक छु, तपाईंं शिक्षक आदर्शको नमुना हुनुहुन्छ । यस्ता होनहार, कर्तव्यनिष्ट गुरुहरूमा मेरो लाखौं लाख प्रणाम ।

शिक्षकाको सम्मानप्रति कहिलै कसैमा आँच नआओस् भन्ने कामनाका साथ विद्यार्थीमार्फत सामाजिक रूपान्तरण होस् भन्दै निम्न बुँदा पूरा हुने आशा गरेको छु ।

–तपाईंं विद्वान हुनुहुन्छ तर तपाईंको विद्वताको प्रतिविम्ब मेरा छोरा छोरीमा खोज्छु । ‘छोरी आज के सिक्यौ ?’ उनी भन्छिन्– ‘बाबा आज गणित (नेपाली वा विज्ञान आदि) सिकेँ ।’ म बुझ्दिनँ मनमनै भन्छु– ‘त्यो त स्वभाविक हो, किताब पढ्नु पढाउनु त नियमित प्रकृया हो । म व्यक्त गर्न खोज्छु, ‘सरले तिमीलाई पढाउँदा केही नौलो र रोमाञ्चक लाग्ने केही’ तर म उनलाई केही भन्दिनँ । मनमा गुन्छुु, मैले मेरा छोराछोरीलाई किताब घोकाउन मात्र पठाएको हो त ? त्यसमा पनि कलेज तहको अध्यापन पो हो त । गौतम बुद्धले भनेझंै एउटा दियोले हजारौं अरू दियो बाल्न सक्छ र त्यसरी हजारौं दियो बाल्दा पनि अर्को दियो बाल्दै जाने दियोसँग भएको प्रकाश थोरै पनि सकिँदैन ।  गुरुले ज्ञान यसैगरी बाँड्छन्, जति बाँडे पनि घट्दैन । बरु तेजिलो हुँदै जान्छ । किताब दोहो¥याउने मात्र हैन, मास्टर साहेब भनेका यस्तै दियो सल्काउने गुरु हुन् भनेर बुझेको छु मैले । 

तपाईंंले त नीति कथा, प्रेरक प्रसङ्ग, चोटिला भनाइ, संसारका उदाहरण, विद्वतवर्गका अनुभूति, ज्ञान, सङ्गित वा प्रविधि, अनुसन्धान, विज्ञान जस्ता अनेकौं दियो सल्काएर पठाउनु होला । के तपाईंंले किताब मात्र घोकेर पठाउनुलाई नै शिक्षक भएकोमा गर्व गर्नुभएको हो र ? आजको घण्टीमा तपाईंंका अभिव्यक्ति सुन्न आतुर विद्यार्थीले ‘ओ हो.., हो त है..’ भनेर घत मान्दै सुन्दर बाटो तर्फ हिँड्ने प्रेरणा नपाई फर्कन्छन् भने तपाईंंको अकर्मण्यता हो कि विद्यार्थीको असफलता ? तपार्इंको कक्षामा हल्ला हुने, विद्यार्थी पूरा समय बस्न नरुचाउने, तपार्इंसग नजिक नहुने र तपाईंंप्रति गर्व नगर्ने स्वभाव छ भने यस्तै कारण त हैन ? 

शिक्षा, चेतना, परिवेश र संस्कारले मेरो परिवारका सोचहरू फराकिला नहुन सक्छन् । मेरा छोराछोरीमा त्यसको प्रभाव परेको होला । मेरो परिवारको संस्कारले मेरा सन्तती गलत बाटोतर्फ आकर्षित हुन सक्छन् । तपाईंंका चोटिला भनाइ, तर्क, ज्ञान र भावनाले मेरा सन्ततीका सोचहरू फराकिला होलान् । उनीहरूले मेरो परिवार, समाज र राष्ट्र परिवर्तन गर्न योगदान गर्लान् । समाज रूपान्तरका लागि उनीहरूले व्यवहारमा केही गर्न सुरु गर्लान् । उनीहरूमा गलत सोच हराउँदै जाला । अन्धविश्वास, कुरीति, अशिक्षाविरुद्ध जुध्लान भन्ने मेरो सोच थियो । तपार्इंको कलेजमा आधा दशक विताउँदा पनि ती सन्ततीको वौद्धिकता ‘हावा न चावा’ देख्दा तपाईंंको विद्धताको मापन गर्न म काहाँ जानु मास्टर साहेब ? साँचो गुरु त त्यो हो, जसले अँध्यारोमा खोजेर ल्याउँछ र उज्यालोतर्फ लगेर छोड्छ भन्ने भनाइ छ । यो भनाइ गलत पक्कै हैन होला ।
पाठ्यक्रमका कुरा मात्र मास्टरले घोकाउने भए रेकर्डरबाट सुनाए  भइहाल्छ नि । अहिले त रोबर्टले पनि पढाउँछ । तर तपाईंले त मेसिन शिक्षा हैन, संस्कार, सभ्यता, विवेक, ज्ञान र तर्कको सागर पस्किरहनु भएको छ भन्नेमा म पूर्ण रूपमा विस्वस्त छु ।

–तपाईंंलाई सोध्न मन छ, तपाईं पाठ्यपुस्तक, नोट, गाईड जस्ता कक्षामा पाठ घोकाउन सजिलो हुने कुरा मात्र अध्ययन गर्नु त हुन्न ? अहिले तपाईं कुन लेखकको कुन किताब पढ्दै हुनुहुन्छ ? तपाईंंसँग शिक्षासग सम्बन्धित स्वदेशी वा विदेश पत्रपत्रिका वा अनुसन्धान रिपोर्टहरू के–के छन् ? ती प्रकाशनले तपाईंंलाई नयाँ ज्ञान के दियो ? तपाईंंले विद्यार्थीलाई पाठ्यक्रमबाहेकका कुन कुन किताब पढ्ने सल्लाह दिनु हुन्छ ? यो वर्ष प्रख्यात भएका नेपाली वा अङ्ग्रेजी किताब कुन–कुन हुन् ? तीमध्ये तपाईंंले कुन कुन पढ्नु भयो ? देश विदेशका सफल मानिस, प्रख्यात व्यक्तित्व र प्रेरक मानवहरूको जिवनी, पुस्तकबारे तपाईं आफै कति रुचि राख्नु हुन्छ ? यस्ता किताबमा लगानी नगर्ने, नपढ्ने वा रुचि नभएको भनेर तपाईंंले भन्नुहुन्छ भन्ने म कल्पना गर्दिनँ । किनभने त्यसो भए तपाईंं शिक्षक भएर कक्षामा बस्नु नै अपराध हुन्छ । त्यस्तो अपराध कर्म तपाईंंबाट पक्कै भएको छैन । फेरि मलाई शङ्का छ, किन म दियो सल्केको पाउँदिनँ । म किन पोखरीको पानीझैं विद्यार्थीहरू रुमल्लिएको पाउँछु, किन सलल बग्ने नदी झैं उनीहरू सिर्जनात्मक देख्दिनँ ?

वेलायती राजनीतिज्ञ विन्स्टन चर्चिलले भने झै निरासावादीले हरेक अवसरमा कठिनाइ भेट्छ भने आशावादीले हरेक कठिनाइमा अवसर भेट्छ । त्यसैले तपाईंंले विद्यार्थीलाई नकारात्मक निरासावादी हैन, आशावादी बनाएर पठाउनुहुन्छ, नयाँ विश्व हाँक्ने ऊर्जावान वर्कद दिनु हुन्छ भन्नेमा म ढुक्क छु । यस अर्थमा म दोहर्याएर भन्छु– ‘तपार्इंले पाठ्यक्रम बाहेकका किताब हरेक वर्ष कति पढ्छुहुन्छ ? कलेजको पुस्तकालयको आशा नराखी कति आफै किन्नु भो ? ती किताबका निष्कर्ष कहाँ कहाँ बाड्नु भयो ?

–कतै उल्लेख भएको एक प्रसङ्ग मनन गरौं । शिक्षकले कक्षाका सबै विद्यार्थीलाइ अबको २५ वर्षमा के हुने भनेर निबन्ध लेख्न दिएछन् । मजदुरी गरेर गुजारा गर्ने आमा मात्र भएका एक गरिब विद्यार्थीले अबको २५ वर्षमा आफूसँग ६ वटा उद्योग, १५ सय कामदार, एक दर्जन गाडी हुने लक्ष्यसहितको निबन्ध लेखेछन् । शिक्षकले अरूलाई नम्बर दिएछन्, नम्बर पाउनेहरूले शिक्षक हुने, खरिदार हुने, मजदुर वा किराना पसल गर्ने लक्ष्य लेखेका थिए । तर यस्तो विशाल लक्ष्य लिने विद्यार्थीलाई ‘भोलि अर्को निबन्ध ल्याउनु, यस्तो हावादारी कुरा नलेख्नु’ भनेर शिक्षकले मजैले हकारेछन । शिक्षकले अझै सम्झाएछन्– ‘तँ गरिब छस्, आमाले मजदुरी बनिबुतो गरेर पढाएका छन्, अनि त्यस्तो नचाइँदो कल्पना गरेर हुन्छ, पटमूर्ख ?’

त्यो विद्यार्थी निरास भएर घर गएछ र सबै विवरण आमालाई बताएछ । आमाले ‘बाबु शिक्षकले नम्बर नदिए पनि निबन्ध नसच्याउनु, आत्माको बोली नफेर्नु, शिक्षकले नम्बर नदिए मै दिन्छु तर तेरो भावना कहिलै पनि नमार्नु’ भनिछन् । समय वित्तै गयो । २५ वर्षसम्म त्यो विद्यार्थीले लिएका सबै लक्ष्य पूरा हुँदै गए । छैटौं उद्योग खोल्ने बेलामा त्यो विद्यार्थीले तिनै शिक्षकलाई नयाँ उद्योग उद्घाटन गर्न प्रमुख अतिथिका रूपमा निम्ता गरेछ । त्यो पहिले आफैले पढाएको विद्यार्थी भनेर नचिनेकै अवस्थामा शिक्षकले उद्घाटन गरे । अनि अन्तिममा धन्यवाद दिने बेलामा युवकले ‘तपाईंं शिक्षकले नम्बर नदिएको तर आमाको कारणले सफल भएको’ कहानी सुनाएछ । अनि पुरानो कुरा सम्झिएर शिक्षक रोएछन । उनलाई धेरैको सपना मारेको अनुभूति भएछ । 

–अहिले प्रविधिको समय छ, ज्ञानको भण्डार तपाईंंको आसपास नै मडारिएको छ । मात्र तपाईंंलाई इच्छा, सचेतताले सहजै उपललब्ध गराउँछ । गुगल, बेवसाइट, युट्युव जस्ता विश्वव्यापी सञ्जालबाट के–के जानकारी लिइरहनुभएको छ ? शिक्षा, सिकाइ, प्रेरणा र प्रविधिवारेका वेबसाइट कति हेर्नुहुन्छ ? निःशुल्क पाइने नयाँ प्रविधि, आविष्कार वा ज्ञानका भण्डारबाट तपाईंले के–के झिकिरहनुभएको छ ? त्योमध्ये आफ्ना विद्यार्थीलाई के–के पस्किँदै हुनुहुन्छ ?’ 

तपाईंं अहिलेसम्म कुहिराको कागझैं हुनुहुन्छ, तपाईंं अहिले पनि २० वर्ष पहिले रटेको विद्यामा नै बाँचिरहनु भएको छ भनेर म पत्याउँदिनँ । त्यसैले म मेरी छोरीमार्फत जान्न चाहन्छु, तपाईंंले नयाँ संसारबारे विद्यार्थीलाई कसरी साक्षात्कार गराउनुभयो भनेर । यस्ता विश्वव्यापी सामीप्यताका कुरा, अध्ययनका कुरा र ज्ञानका खानीमा पस्ने कुरा तपाईंंको व्यक्तिगत क्षमता बढाउने कुराहरू हुन् । त्यसैले कलेजभित्र सुविधा नभएको, अन्य बहाना वा तर्क गरेर यस्ता कुराको विपक्षमा बोल्नु हुनेछ भन्ने म कहिल्यै कल्पना गर्दिनँ ।

–गत परीक्षामा मेरो छोरा केही विषयमा फेल भएछ, स्वभाविकै हो । मलाई थाहा छ, त्यो पढाइमा अल्छी गर्छ । आफै मिहिनेत गर्दैनँ, त्यो त्यति लगनशील हुन सकेन । तपाईंंको कारणले विषय लागेको भनेर म कहिल्यै आरोप लगाउँदिनँ, किनभने ज्ञान पानी पिएझँै टाउकाबाट भर्ने विषय हैन । त्यसैले तपाईंको के दोष ? तर केही जिज्ञासा चाहिँ मेरो मनमा गुन्जिएका छन् । मेरो छोरोलाई विषय लाग्नुको तथ्यगत कारण के हो ? मेरो छोरोको पढाइको स्तर, तह नै कमजोर हो वा अल्छी ? मेरो छोरो कलेज, विद्यालय पढ्नयोग्य छैन पो कि ? विदेश पठाउन म इच्छुक छैन । ऊ आफै गएमा त के गर्न सक्छु र ? बरु त्यसलाई कुखुरा फम, मोटरसाइकल मर्मत, विद्युत मर्मत, सुँगुर पालनजस्ता सामान्य काम, सीपका क्षेत्रमा पठाइदिनु राम्रो हो कि ? कमजोर विषय सुधार गर्न तपाईंंका प्रयास के–के भएका थिए ?
तपाईंं त हजारौं विद्यार्थी पढाएर अनुभवयुक्त हुनुहुन्छ । आफै विषय विशेषज्ञ पनि हो । मेरा सन्ततीसँग लामो सङ्गत गर्नु भयो । विद्यार्थी अध्ययन गराएबापत तपाईंंको शैक्षिक प्रतिष्ठानको नियम अनुसार मैले शुल्क पनि बुझाएको छु । तर कहिलै न शिक्षालयले न तपाईंंले नै यसबारे जानकारी दिनुभो, न फाइल पठाउनु भयो, न खबर नै आयो । मेरो सन्तान किन अध्ययनमा असफल हँुदैछ भनेर जान्न पाउनु मेरो हक हैन र मास्टर साहेब ?

‘यस्ता कुरामा आफै बुझ्न पो आउनुपर्छ, सयौं विद्यार्थी छन्, कहाँ साध्य हुन्छ ?’ भन्ने तपाईंंको मनमा परेको हुन सक्छ । स्वभाविक पनि हो तर सक्षम, योग्य र सम्पन्न अभिभावकले त सबै कुरा गरेका होलान् । उनीहरू नियमित तपार्इंको सम्पर्कमा होलान् तर अशिक्षित, विपन्न र सीधासाधा अभिभावकको पीडा कसले बुझ्ने ? धेरैको घरमा पुरुषहरू बाहिर गएका छन् । महिलाले घर चलाउनेदेखि अनौ समाउनेसम्म काम गर्नु परेको तपाईंलाई थाहा नै छ । यस्तो बेला छनौटमा परेका केही कमजोर विद्यार्थीलाई माथि उठाउन तपाईंले थप योगदान गर्नु पनि कर्तव्यभित्र पर्दैन र ? तपाईंंको विद्यार्थी पढ्नयोग्य रहेछ, प्रवेश परीक्षा उत्तीर्ण भयो भनेर वर्षौं विद्यार्थीलाई पढाउनुभयो । हामीले ऋण गरेर, श्रम गरेर वा विदेशमा पसिना बेचेर तपार्इंको निर्देशन पालन गर्दै गयौं । विद्यार्थीको महत्वपूर्ण समय पनि तपार्इंसँगै वितेको छ । तर यो सबै कुराहरू हुँदाहुँदै अन्तिममा एकै पटक फेलको बिल्ला निधारमा टाँसेर पठाउनु न्यायसङ्गत हो त मास्टर साहेब ?

यत्रो वर्ष अध्यापन गर्दा कसैले प्रश्न उठाएन ‘तँ अभिभावक हो भन्दैमा यसरी भन्न मिल्छ ?’ भनेर तपाईंंले मनमनै पनि सोच्नुभएको छैन भन्ने मलाई लाग्छ । एउटा उदाहरण पनि छ नि । महान लेखक दाँतेलाई एक दिन राजाले भनेछन्– ‘किन होला जनताहरू मजस्तो मूर्खलाई सम्मान गर्छन् । तिमीजस्तो विद्वानलाई घृणा गर्छन् ?’ दाँतेले शान्त हुँदै जवाफ दिएछन्– ‘यसमा कुनै आश्चर्य छैन सरकार, मानिसले त्यही व्यक्तिलाई माया गर्दै आएका छन्, जुन व्यक्ति उनीहरू आफूजस्तै छन् ।’ मैले यो उदाहरण दिएर कसैलाई अपमान र आफ्नो घमण्ड देखाएको हैन भन्ने मेरो दाबी छ । वरु समाजको अवस्था हेर्ने प्रयास गरेको मात्र हो । धेरै विपन्न, न्यून चेतना भएका, विदेश बस्ने, तपाईंंसम्म पहुँच नपुग्ने अभिभावकलाई तपार्इंको सम्बोधन आवश्यक छ । कुरा कहीबाट उठ्यो या उठेन भन्ने अभिप्रायबाट हैन, बरु तथ्य के हो भन्ने कुरामा तपार्इं विद्वान शिक्षक अलमलमा पर्नु हुन्न, म ढुक्क छु ।

–हो, तपाईंंका पनि धेरै समस्या छन् । मेरा छोराछोरीहरू अनुशासनहीन हुँदै गएका छन् । समाजको धारणा पनि शिक्षामैत्री बनिसकेको नहोला, थोरै सुविधामा धेरै मिहिनेत गर्नुपरेको छ, सीप दक्षता, वृत्ति विकासका काम न्यून छन् । सबै विद्यार्थी एक समान हुँदैनन्, केही कमजोर नै होलान, सपलताको प्रतिशत सय नै हुन्छ भन्ने छैन । यी सबै कुरा जान्दा जान्दै पनि म भन्न वाध्य छु– ‘तपाईंं त मैनवत्ती हो नि मास्टर साहेब, आफू बलेर अरूलाई उज्यालो दिने’ भनेर यो क्षेत्रमा आउनुभएको हो नि । अँध्यारोमा उज्यालो छर्न तपाईंंको दियो कत्ति सक्रिय थियो भन्नेसम्म मात्र मेरो तर्क हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चूडामणि वाग्ले
चूडामणि वाग्ले
लेखकबाट थप