आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

आईपीएलमा आज : दुई कमजोर टोली मुम्बई र दिल्लीबिच वानखेड स्टेडियममा भिडन्त

आइतबार, २५ चैत २०८०, १० : ५०
आइतबार, २५ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा आइतबार दुई खेल हुनेछ । पहिलो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे मुम्बईस्थित वानखेड स्टेडियममा खेलिने छ । 

मुम्बई पाँच पटकको उपाधि विजेता क्लब हो । तर, आईपीएलको जारी संस्करणमा भने मुम्बईको प्रदर्शन निकै निराशाजनक देखिएको छ । जारी संस्करणमा मुम्बईले यो चौथो खेल खेल्न लागेको हो । यसअघि खेलिएका तीनवटै खेलमा मुम्बई पराजित भएको छ ।

हालसम्म खाता खोल्न नसकेको मुम्बई तालिकामा सबैभन्दा तल छ । हालसम्म अङ्क बटुल्न नसकेको एकमात्र टोली मुम्बई नै हो । मुम्बई आफ्नो पहिलो खेलमा गुजरात टाइटन्ससँग ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले र तेस्रो खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले हारेको थियो । 

दिल्लीले भने जारी संस्करणको आईपीएलमा आफ्नो पाँचौँ खेल खेल्न लागेको हो । यसअघि खेलिएको चारमध्ये एक खेलमा दिल्ली विजयी भएको छ । बाँकी तीन खेलमा भने दिल्लीले हार भोगेको छ । दिल्लीले पनि जारी संस्करणमा गतिलो प्रदर्शन गर्न सकेको छैन ।

दिल्लीलाई पहिलो खेलमा पञ्जाब किङ्सले चार विकेटले हराएको थियो । दिल्ली आफ्नो दोस्रो खेलमा राजस्थान रोयल्ससँग १२ रनले पराजित भएको थियो । दिल्लीले आफ्नो तेस्रो खेलमा बलियो चेन्नई सुपर किङ्सलाई २० रनले हराएको थियो ।

यसैगरी दिल्लीलाई चौथो खेलमा कोलकाता नाइट राइडर्सले एक सय ६ रनको फराकिलो अन्तरले हराएको थियो । दिल्ली क्यापिटल्स चार खेलबाट दुई अङ्क बटुल्दै तालिकाको नवाैँ स्थानमा आसिन छ । आइतबार खेलिने दिल्लीविरुद्धको खेलमा मुम्बईका ब्याट्सम्यान सूर्यकुमार यादव पनि मैदानमा ओर्लने सम्भावना छ । उनी करिब तीन महिनादेखि घाइते रहेका थिए । 

हेड टु हेडमा मुम्बई अगाडि

यी दुई टोलीबिच आईपीएलमा हालसम्म खेलिएको खेलमा मुम्बई अगाडि देखिन्छ । आईपीएलमा हालसम्म यी दुई टोलीबिच कुल ३३ वटा खेल खेलिएको छ । त्यसमध्ये १८ खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । बाँकी १५ खेलमा भने दिल्लीले सफलता हात पारेको छ । वानखेड स्टेडियममा भने हालसम्म नौ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा मुम्बई इन्डियन्स र तीन खेलमा दिल्लीले जित हात पारेका छन् । 

लयमा छैनन् मुम्बईका ओपनर

आईपीएलको जारी संस्करणमा मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान खासै प्रभावकारी देखिएका छैनन् । प्रतियोगिता सुरु हुनुअघि मुम्बईले ओपनर रोहित शर्मा र ईशान किशनबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको थियो । 

तर, यी दुबै ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका छैनन् । मध्यक्रमका ब्याट्सम्यान तिलक वर्माले भने गतिलो प्रदर्शन गरेका छन् । उनी जारी सिजनको आईपीएलमा टोलीका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । 

बलिङतर्फ भने आकश मधवालले गतिलो सन्तोषजनक प्रदर्शन गर्दै आएका छन् । उनले राजस्थान रोयल्सविरुद्धको पहिलो खेलमै तीन विकेट लिएका थिए । आइतबार खेलिने दिल्लीविरुद्धको खेलमा पनि उनीबाट उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ । 

दिल्लीका कप्तान ऋषभको उत्कृष्ट प्रदर्शन

इन्डियन प्रिमियर लिगको जारी संस्करणमा दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले जारी सिजनमा लगातार दुई अर्धशतक पनि प्रहार गरिसकेका छन् । तर, उनले अन्य ब्याट्सम्यानबाट भने गतिलो साथ पाएको देखिँदैन ।

ऋषभ पन्तका अतिरिक्त डेभिड वार्नर ट्रिस्टन स्टब्सले पनि गतिलो प्रदर्शन गर्दै आएका छन् । डेभिड वार्नरले हालसम्म कुल एक सय ४८ रन बनाइसकेका छन् । स्टब्सले पनि एक सय तीन रन बटुलिसकेका छन् । 

यसैगरी जारी सिजनको आईपीएलमा दिल्लीले युवा ओपनर पृथ्वी शाबाट पनि उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । पृथ्वी शका लागि वानखेड घरेलु रङ्गशाला पनि हो । बलिङतर्फ भने बायाँहाते तिब्रगतिका बलर खलिल अहमदले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ६ विकेट लिइसकेका छन् । 

दिल्लीलाई चोटको पिरलो 

पछिल्लो समय दिल्ली क्यापिटल्स खेलाडीको घाइते समस्याबाट पनि पीडित देखिएको छ । दिल्लीका तिब्रगतिका बलर मुकेश कुमार र स्पिन बलर कुलदीप यादव घाइते छन् । मुकेश कुमार चेन्नई सुपर किङ्सविरुद्धको खेलमा घाइते भएका थिए । 

मुकेश कुमार ह्यामस्ट्रिङ समस्याबाट पीडित छन् । कुलदीप यादव भने तिघ्राको समस्याका कारण अघिल्लो दुई खेल पनि खेल्न सकेका थिएनन् । उनले यसपछिका केही खेल पनि गुमाउने सम्भावना देखिन्छ । 

ब्याट्सम्यानलाई साथ दिने पिच

मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच आइतबारको खेल हुने वानखेड स्टेडियमको पिच तुलनात्मक रुपमा बलरभन्दा ब्याट्सम्यानलाई बढी साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा बढी रन बन्ने गरेको देखिन्छ । यो स्टेडियमको पिचले तिब्रगतिका बलरलाई पनि थोरै सहयोग पुर्‍याएको देखिन्छ । 

खासगरी बल नयाँ हुँदासम्म बलरले त्यसको फाइदा उठाउन सक्छन् । यो स्टेडियममा हालसम्म आईपीएलको एक सय १० वटा खेल खेलिएको छ । त्यसमध्ये ५० खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ । बाँकी ६० खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ । 

छैन वर्षाको सम्भावना

दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच खेल हुने दिन आइतबार मुम्बईमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार मुम्बईको तापमान २४ देखि ३४ डिग्री सेल्सियस रहने बताइएको छ । 

सम्भावित टोली 

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), सूर्यकुमार यादव, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, पियुष चावला, आकाश मधवाल, जेराल्ड कोट्जी र जसप्रित बुमराह रहेका छन् । इम्प्याक्ट प्लेयरका रुपमा नमन धिर रहने छन् ।

दिल्ली क्यापिटल्स : ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), पृथ्वी शा, डेभिड वार्नर, मिचेल मार्श, ट्रिस्टन स्टब्स, अभिषेक पोरेल, अक्षर पटेल, सुमित कुमार, झाय रिचर्डसन, इशान्त शर्मा र खलिल अहमद रहेका छन् । इम्प्याक्ट प्लेयरका रुपमा रसिख सलाम रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप