नेपालले विदेशीलाई सबैभन्दा धेरै के बेच्छ ?
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०-८१ को ८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार तथ्याङ्क ऋणात्मक छ । साउनदेखि फागुन महिनासम्मको अवधिमा आयात २.६६ प्रतिशतले र निर्यात ३.९९ प्रतिशतले घटेको छ । तथ्यांकअनुसार ८ महिनाको अवधिमा १० खर्ब ३० अर्ब रुपैयाँको आयात हुँदा १ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ ।
पछिल्लो समय नेपालको आयात र निर्यात नै निरन्तररुपमा घट्दो क्रममा छ । गत आर्थिक वर्ष २०७९-८० को तुलनामा चालू वर्षको सोही अवधिमा समग्र वैदेशिक व्यापार घट्दो अवस्थामा देखिन्छ । खासगरी, आन्तरिक बजारमा माग नबढ्दा वैदेशिक व्यापारमा उल्लेख्य गिरावट आएको विभिन्न सरकारी आँकडाले देखाउँछ ।
तथ्यांकअनुसार यस अवधिमा नेपालले सबैभन्दा धेरै आयात गर्ने प्रमुख वस्तुको रूपमा रहेको पेट्रोलियम पदार्थको आयात नै घटेको छ । यस्तै, मेसिनरी पार्ट्सको आयात समेत घट्दा यातायात र औषधीको आयात समेत उल्लेख्य रूपमा घटेको छ । यद्यपि नेपालबाट हुने निर्यातमा जिङ्क र पोलिस्टार र वूलन कार्पेटका निर्यात पनि घटेको छ ।
यी हुन् सबैभन्दा धेरै आयात हुने वस्तु
नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ पर्छ । तथ्यांकअनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा १ खर्ब ९० अर्ब ६ करोड रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । यो नेपालको कूल आयातको १८.५ प्रतिशत आयात हो । यो गत वर्षको ८ महिनाको अवधिको तुलनामा ६.१ प्रतिशतले घटेको छ ।
यसपछि, मेसिनरी पार्ट्सको आयातमा ४७ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ । यो नेपालको कूल आयातको ४.६ प्रतिशत हो । र, गत वर्षको तुलनामा मेसिनरी पार्ट्सको आयात १.४ प्रतिशतले खुम्चिएको छ । यसबाहेक, सवारी साधनको आयात समेत ४७ अर्ब १५ करोड रुपैयाँको भएको छ । यो समेत कूल आयातको ४.६ प्रतिशतको हिस्सा हो । गत वर्ष तुलनामा सवारी साधनको आयात १७ प्रतिशतले बढेको देखिन्छ ।
यस अवधिमा नेपालमा २९ अर्ब ५८ करोड रुपैयाँको औषधी आयात भएको छ । यो यस अवधिमा भएको कूल आयातको २.९ प्रतिशत हो । र, गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा ५.१ प्रतिशतले आयात खुम्चिएको छ । यसबाहेक, यो अवधिमा २५ अर्ब ९१ करोड रुपैयाँको फलामजन्य वस्तु (स्पन्ज आइरन) आयात भएको छ । यो गत वर्षको तुलनामा ३ प्रतिशतको गिरावट हो भने कूल आयातको २.५ प्रतिशत हो ।
नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको ६ नम्बरमा दूरसञ्चार उपकरण पर्छ । दूरसञ्चार क्षेत्रका उपकरणको आयातमा २५ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ । र, यो कूल आयातको २.४ प्रतिशत हिस्सा हो । जुन, गत वर्षको आयातको तुलनामा २.८ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । यसपछि, सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीको ७ नम्बरमा रेडिमेट गार्मेन्टस पर्छ । यस अवधिमा २३ अर्ब रुपैयाँभन्दा बढीको रेडिमेट गार्मेन्ट आयात भएको छ । यी वस्तुको आयातमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।
यसपछि धेरै आयात हुने वस्तुको सूचीमा विद्युतीय सामाग्री, रासायनिक मल र टेक्सटायल पर्छन् । यी वस्तुहरु क्रमशः २२ अर्ब ७६ करोड, २१ अर्ब र २० अर्बभन्दा बढीको आयात भएको छ ।
सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूची
नेपालबाट चालू वर्षको ८ महिनाको अवधिमा जस्तापाताको सबैभन्दा धेरै निर्यात भएको छ । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट हुने कूल निर्यातको हिस्सामा जस्तापाताको निर्यात ७.९ प्रतिशतले छ । र, यस अवधिमा जस्तापाताको निर्यात ७४ प्रतिशतले बढेको छ । यस्तै, पोलिस्टार र्यानको निर्यात ६.३ प्रतिशतले बढेको छ । यो वस्तुको निर्यातले नेपालबाट हुने कूल निर्यातको ७.१ प्रतिशत हिस्सा ओगटेको छ । यस अवधिमा नेपालबाट ७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ ।
तेस्रो सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा रहेको वूलन कार्पेटले कूल निर्यातको ६.९ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि, यो वस्तुको निर्यात गत वर्षको यही अवधिको तुलनामा ६.१ प्रतिशतले घटेको छ । र, यस अवधिमा नेपालबाट ६ अर्ब ९२ करोड रुपैयाँको निर्यात भएको तथ्याङ्क केन्द्रीय बैंकले दिएको छ । चौथो नम्बरमा रहेको जुसको निर्यातबाट नेपालले ५ अर्ब २८ करोड रुपैयाँ आर्जन गरेको छ ।
जुसको निर्यातले कूल निर्यातको ५.३ प्रतिशत हिस्सा ओगटेको छ भने अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढेको छ । यस अवधिमा ५ अर्ब १७ करोडको अलैँचीको निर्यात, ४ अर्ब ९३ करोड रुपैयाँको काठको धुलोबाट बनेको बोर्डको निर्यात हुँदा जुटका वस्तुको निर्यातबाट ४ अर्ब ७६ करोड रुपैयाँ भित्रिएको छ । यस्तै, पाम आयलको निर्यातबाट ४ अर्ब ६३ करोड रुपैयाँ र रेडिमेट्स गार्मेन्ट्सबाट ४ अर्ब २४ करोड रुपैयाँ भित्रिएको छ ।
यस्तै, नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा १०औँ स्थानमा रहेको चियाको निर्यातबाट २ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् रास्वपा सचिवालय बैठकका निर्णयहरू
-
शेखरको टिप्पणी– सभापतिकै कारण पार्टीमा विचलन छ‚ चुप लागेर बस्न सकिएन
-
लुम्बिनी खेलकुद परिषद्का सदस्यले लिए शपथ
-
युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
-
कास्की अदालतमा छविसँग ३ घण्टा बयान, रविको सुरु नै भएन
-
कति भयो १ खर्ब लगानीमा निर्माण भइरहेको अरुण–३ आयोजनाको काम ?