दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ?
हरेक समुदायको आ–आफ्नो पुरानो कथा र गाथा हुन्छ । उनीहरूको गाथा वा कथामा इतिहास पनि लुकेको हुन्छ ।
ती गाथा वा कथामा पात्र हुन्छन्, कतिपय पात्रलाई त्यस समुदायले उच्च सम्मान दिएको हुन्छ । यस्तै कथाका पात्रलाई लिएर संस्कृति, सम्पदा र पुजनीय व्यक्ति वा देवी–देवता समेत बनेका हुन्छन् ।
यस्तै एउटा लोकगाथा छ— सप्तरीको जोगियामा जन्मेका दिना–भद्री दाजुभाइको, जो मुसहर समुदायका कुलदेवता हुन्, जसले समाजका शोषक–सामन्तलाई युद्ध गरेरै हराएका थिए ।
मुसहर समुदायको बस्तीका बिचमा दिना–भद्री थान (धर्मस्थली) रहेको हुन्छ । थानको परम्परा अनुसार, सामूहिक रूपमा वार्षिक पूजा आयोजना गरिन्छ । नेपाल र भारतका ठाउँ–ठाउँमा दिना–भद्री मन्दिर बनेका छन् । मन्दिरमा दिनाराम र भद्रीरामको मूर्तिसँगै कतिपय मन्दिरमा बाघको मूर्ति पनि देखिन्छन् ।
दिना–भद्रीलाई भगवान् रामको अवतार मानेर दिनाराम र भद्रीराम भनी सम्बोधन गरिन्छ । दिना–भद्रीका मन्दिरमा खासगरी चैतमा दिना–भद्रीको जन्मोत्सव मनाइने चलन छ ।
त्यसैले खासगरी राम नवमीमा वा त्यसको अघिपछि दिना–भद्रीको जन्मोत्सव मनाइने गरिएको छ ।
मुसहर समुदायको बस्तीका बिचमा दिना–भद्री थान (धर्मस्थली) रहेको हुन्छ । थानको परम्परा अनुसार, सामूहिक रूपमा वार्षिक पूजा आयोजना गरिन्छ । नेपाल र भारतका ठाउँ–ठाउँमा दिना–भद्री मन्दिर बनेका छन् ।
दिना–भद्रीको जन्मस्थान सप्तरीको जोगिया र ढोलबजास्थित मन्दिरहरूमा यही चैत २५, २६ र २७ गते तीन दिनसम्म उक्त जन्मोत्सव मनाइने तयारी भइरहेको छ ।
यहाँ विगत २५ वर्षदेखि दिना–भद्री जन्मोत्सव मनाइँदै आइएको छ । जोगिया सप्तरीको बोदेबरसाइन नगरपालिका–२ अन्तर्गत पर्छ भने ढोलबजा सप्तरीको खडक नगरपालिका–८ अन्तर्गत पर्छ ।
इतिहासविद् हरिकान्त लाल दासको ‘सप्तरीको राजनीतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू’ नामक अनुसन्धानात्मक कृतिमा यी दाजुभाइबारे केही उल्लेख छ, यस अनुसार १४औँ शताब्दीका यी दाजुभाइ सामन्तविरुद्ध लडेरै समाजमा नाम बनाए ।
- सामन्तविरोधी दिना–भद्री दाजुभाइ
यो लोकगाथाको उद्भव मुसहर समुदायबाट भएको हो । मुसहर नामको शाब्दिक अर्थ हुन्छ, मुसाको हरण गर्ने वाला ।
प्राचीन ग्रामीण समाजमा खाद्यान्न नष्ट गर्ने शत्रु जीवको रूपमा मुसालाई लिइन्थ्यो । खेत–खलिहानमा दुलो खनेर मुसा मार्ने काम एक पेसाकै रूपमा हुन गएको र यस्तो पेसा गर्ने समूह मुसहर कहलिएको पाइन्छ ।
मुसहर समुदायको बसोबास उत्तरी भारतको तल्लो गङ्गा मैदान, नेपालको मधेस इलाका र बङ्गलादेशमा रहेको छ । सबैतिर गरी हाल मुसहरको जनसंख्या ३० लाख जति छ भने एक लाख ७२ हजार ४३४ मुसहर रहेको बताइन्छ । मैथिली, मागधी र भोजपुरी मातृभाषा भएका र दलित समुदायमा पर्ने मुसहरहरूको पारम्परिक पेसा कृषि–श्रम हो ।
पहिले सामन्त र जमिनदारहरूले कृषि श्रमिकलाई बेगार (ज्याला नदिई) खटाएर उनीहरूको आर्थिक शोषण गर्थे । बेगार श्रम गराउने सामन्तहरूको प्रतिकार, सङ्घर्ष र युद्धबाटै लोकदेव दिना–भद्रीको आविर्भाव भएको हो ।
दिना–भद्री मन्दिरका पुजारीहरू र स्थानीय जानकारका अनुसार, पिता कालु सदा र माता नीरसोबाट जन्मेका दिना र भद्री दाजुभाइले सप्तरीको बरहा गाउँका फुकन सदाका छोरीहरूसँग विवाह गरेका थिए । दिनाकी पत्नीको नाम रोदना र भद्रीकी पत्नीको नाम सुधना थियो । यिनीहरूको नाम हंसा र संझा थियो भन्नेहरू पनि छन् ।
स्वाभिमानी दिना–भद्री दाजुभाइले आफ्नी श्रीमतीलाई असाध्यै माया गर्थे, अरूकहाँ काम गर्न पठाउँदैनथे । आफैँ उद्यम गरी जीविका चलाउने उनीहरुले अरूलाई पनि स्वाभिमानी भएर बाँच्न प्रेरित गर्दथे ।
अस्त्रले नसकेपछि सामन्त कनक सिंहले मन्त्रको प्रयोग गरे, त्यसमा पनि असफल भए । कनक सिंहको हत्या गरेर दिना–भद्री दाजुभाइ सप्तरीको कुनौलीका सामन्त जोराबर सिंह राजपुतकहाँ पुगे । जोराबरले कुनौलीमा बसोबास गरेका सात सय मुसहरलाई आफ्नो खेतमा जबर्जस्ती मजदुरी गराएर यातना दिएका थिए ।
यी दाजुभाइको उदयको अलिकति पृष्ठभूमि केलाउनुपर्ने हुन्छ । पश्चिमी नेपालको खस राज्य ईशाको १४औँ शताब्दीको उत्तराद्र्धतिर विखण्डित भई ठाउँठाउँमा सामन्तहरूले स्वतन्त्र शासन प्रारम्भ गरेका थिए ।
खस राज्य सन् १४०५ मा विघटित भएर बाइसे र चौबीसी राज्यहरू बने । हरिकान्त लाल दासको उपर्युक्त पुस्तक अनुसार, १४औँ शताब्दीतिर सप्तरीका सामन्त बङ्गालका सेन शासनको मातहतमा थिए ।
त्यतिबेला जोगियाका मजदुरमाथि सप्तरी जाँजरका सामन्त कनक सिंह धामीको दबदबा थियो । उनी शोषक र अत्याचारी थिए । श्रमिकहरूलाई बलजफ्ती काममा लगाउँथे । आफ्नो कुरा नमान्नेमाथि उनले अत्याचार गर्दथे ।
बचिया (बुधनी धमिनी) नाम गरेकी कनककी बहिनी योगिनी थिइन् । कनक पनि धामी (तन्त्र–मन्त्रका जानकार) थिए । यी दाजुबहिनीले तन्त्रमन्त्र गरेर पनि मानिसलाई दुःख र हैरानीमा पार्ने गरेका थिए ।
शोषित पीडित मजदुरले आफूहरू माथिको थिचोमिचोको विरोध गर्दथे, तर उनीहरू कमजोर थिए ।
जब दिना–भद्री दाजुभाइको समय आयो, तब पीडित समुदायको बल बढ्दै गयो ।
दिना–भद्री दाजुभाइ विद्रोही स्वभावका मात्रै थिएनन्, वीर र साहसी थिए; कुस्तीमा सिपालु ।
दिना–भद्रीको गीतमा उनीहरूले ८० मनको धनुष र चौरासी मनको बाण बोक्ने गरेको उल्लेख पाइन्छ ।
श्रमिकमाथि शोषण–दमन गर्ने वा काम गराएर ज्याला नदिनेविरुद्ध दिना–भद्री दाजुभाइ जाइलाग्थे, सामन्त र श्रम शोषणका खिलाफको लडाइँमा दिना–भद्री नायक थिए । उनीहरूको वीरता र सौर्यको चर्चा जन–जनमा फैलियो । नेपाल, भारत र बङ्गलादेशमा दिना–भद्रीको नाममा अनेकौँ किंवदन्ती प्रचलित छन् ।
सामन्तीको थिचोमिचोका खिलाफ ताल ठोकेर सामुन्ने जाने यी दाजुभाइले दुश्मनलाई निरन्तर परास्त गर्दै गए र श्रमिक वर्गको मसिहा मानिए । मुसहर मात्र होइन, सबै समुदायले दिना–भद्रीलाई माया गर्थे, तर आफ्नो हैकममाथि चुनौती पर्न थालेपछि कनक र बचिया दाजुबहिनी दिना–भद्रीसँग रिसाएका थिए ।
एकपटक कनककी बहिनी बचियाले गाउँको पोखरीमा गोही हालिदिइन् । गाईवस्तु पोखरीमा पानी खान जाँदा गोहीले पशु खाइदिन थाले । पोखरीमा गोहीको उपस्थितिबाट गाउँले चिन्तित भए । दिना–भद्री दाजुभाइले पोखरीको गोहीलाई बलपूर्वक नियन्त्रणमा लिएर मारे, गोहीको सङ्कटबाट गाउँलेलाई मुक्ति दिलाए ।
कनक र बचियाले गाउँलेलाई दुःख दिन पटकपटक अनेक षड्यन्त्र रच्थे, तर दिना–भद्रीले आफ्नो बल र बुद्धिले उनीहरूको सबै षड्यन्त्रलाई असफल पारिदिन्थे ।
एक दिना–भद्री दाजुभाइलाई मार्न कनक–बचिया दाजुबहिनीले नयाँ योजना बनाए । योजनाअनुरूप आफ्नो चौरबरेलाको खेतमा काम गर्न उनीहरू सबै श्रमिकलाई आदेश दिए । सबै महिला–पुरुष काम गर्न चौरबरेला पुगे तर दीना–भद्री दाजुभाइ गएनन् । यही बेला कनक सिंह अस्त्रशस्त्र लिएर दिना–भद्रीको घर गए ।
त्यहाँ दिना–भद्री दाजुभाइसँग उनको सङ्घर्ष हुन्छ । अस्त्रले नसकेपछि कनकले मन्त्रको प्रयोग गरे, त्यसमा पनि असफल भए । कनक सिंहको हत्या गरेर दिना–भद्री दाजुभाइ सप्तरीको कुनौलीका सामन्त जोराबर सिंह राजपुतकहाँ पुगे । जोराबरले कुनौलीमा बसोबास गरेका सात सय मुसहरलाई आफ्नो खेतमा जबर्जस्ती मजदुरी गराएर यातना दिने गरेका थिए । दीना–भद्रीले जोराबरलाई युद्ध गर्न चुनौती दिए र उनलाई मारेर मुसहर समुदायलाई अत्याचारबाट मुक्त गरे ।
उनको जन्म तथा मृत्यु भएको स्थानको विषयमा कुनै विवाद छैन । दिना–भद्रीको जन्मस्थल जोगिया मधेस प्रदेशको ऐतिहासिक र पुरातात्त्विक धरोहर हो । उक्त धरोहरको धार्मिक पर्यटकीय गन्तव्यको विकासमा प्रदेश सरकारले चासो लिनु आवश्यक छ । आजभन्दा ६०० वर्षअघि सामन्ती प्रथाबाट जनतालाई मुक्ति दिलाउने दिना र भद्रीलाई नेपाल राज्यले राष्ट्रिय विभूतिको सम्मान दिनुपर्छ, यसमा विभिन्न आयामबाट बहस आवश्यक छ ।
- बाघले मार्यो
कनक र जोराबरलाई दिना–भद्री दाजुभाइले मारेको खबरपछि बचिया विक्षिप्त भइन् । षड्यन्त्रपूर्वक मार्ने योजना बनाएर उनले सप्तरीको कटैया खाप वनमा दिना–भद्रीलाई बोलाइन् । गाउँलेले दिना–भद्रीलाई वनमा नजान आग्रह गरेका थिए, तर कुनै पनि चुनौतीबाट पछि नहट्ने दिना–भद्री कटैया खाप जङ्गल पसे ।
वनमा बचिया भेटिन्नन्, उनीहरूको सामना बाघसँग हुन्छ । भनिन्छ, त्यही बाघसँगको भिडन्तमा दिना–भद्रीको ज्यान गयो । बचियाले षड्यन्त्रपूर्वक बोलाएपछि कटैया खाप वनमा पसेका दिना–भद्री त्यसपछि फर्किंदैनन् ।
बाघको डरले गाउँले वनमा गएनन्, त्यसैले दाजुभाइको शव वनमै रह्यो, अन्त्येष्टि भएन ।
दिना–भद्रीले आफ्नो श्राद्ध तर्पण र भोजभतेर पनि प्रेतकै अवस्थामा गरे भनिन्छ । अन्त्येष्टि संस्कार नहुँदा दाजुभाइ प्रेत भए । दिना–भद्रीले प्रेतयोनिमा रहँदा पनि गाउँलेको सहायता गरिरहे । लोकगाथामा उनीहरू जोगी, फकिर, व्यापारी, बटुवा आदि अनेक रूप धारण गरेर समुदायमा आउने गरेको उल्लेख पाइन्छ । परिआएको सङ्कटमा उनीहरुले गाउँलेको रक्षा गरेको निकै कथा–किंवदन्ती प्रचलित छन् ।
कतिपय कथाहरू पञ्चतन्त्र प्रकृतिको देखिन्छन् । कतिपय कथाका आधार जागरणमूलक छन् ।
समाज आफैँ गतिशील हुन्छ र सामाजिक रूपान्तरणको कथा बन्दै गइरहेको हुन्छ । यस्था कथाले न्यायको सङ्घर्षका लागि बल दिन्छन् । कदाचित् दुनियाँको नजरमा दिना–भद्रीलाई मरेको देखाएर समुदायलाई स्वयं समर्थ बन्न प्रेरित गर्ने मनसायले दिना–भद्रीले कटैया खाप वनको घटना बुनेको पनि हुन सक्छ ।
- मन्दिर र जन्मोत्सव
दिना–भद्री दाजुभाइ मारिएको स्थान सप्तरीको कटैया हो । सप्तरीको सखुवा गाउँमा उनीहरूको अन्त्येष्टि सम्पन्न भएको थियो । यी सबै स्थानमा दिना–भद्रीको मन्दिर स्थापना गरिएका छन् ।
नेपाल, भारत र बङ्गलादेशमा गरी दिना–भद्रीका सयौँ मन्दिर छन् ।
मुसहर बस्तीहरूमा दिना–भद्री थानहरू छन् । शताब्दियौँदेखि दिना–भद्रीको गाथा गाइँदै आइएको छ । अझै पनि दिना–भद्रीको गीति नाटक मञ्चन हुन्छन्, तर अचेल दिना–भद्री जन्मोत्सव आदि विशेष अवसरहरूमा सीमित भएको छ ।
दिना–भद्री दाजुभाइ जन्मेका स्थान भनिएको ठाउँमा एकै ठाउँमा सँगसँगै दुईवटा मन्दिर निर्माण गरिएका छन् । २० मिटरको अन्तरमा निर्मित यी दुवै मन्दिर एकै ठाउँमा भए पनि वस्तुतः दुई अलग–अलग गाउँका सीमा क्षेत्रमा पर्छन् । उत्तरपट्टी ढोलबजा गाउँ र दक्षिणपट्टि जोगिया गाउँ पर्छ ।
पहिले मन्दिर नभएको समयमा माटोको एउटा ठुलै थुममाथि दिना–भद्रीको पूजा हुँदै आएको थियो । पुजिँदै आएको त्यो थुम्को ढोलबजा गाउँ सीमाभित्र परे पनि परम्परागत पूजा–अर्चनामा कुनै समस्या थिएन, तर पछिल्लो समय त्यस थुम्कोमाथि जब मन्दिर निर्माण गर्न थालियो, तब जोगिया गाउँलेले अवरोध गरे । दिना–भद्रीको जन्मस्थान जोगिया गाउँ भएकाले जोगिया गाउँकै सीमामा मन्दिर बन्नुपर्ने उनीहरूको कथन थियो ।
अन्ततः दुवैै गाउँ (पहिलेदेखि पुजिँदै आएको थुम्को ढोलबजा र दिना–भद्री जन्मेको गाउँ जोगियासी)को वारि र पारि मन्दिर बन्यो । दुवै मन्दिरमा अलग–अलग व्यक्ति पुजारी र छुट्टाछुट्टै व्यवस्थापन समिति रहेका छन् । मन्दिरको व्यवस्थापन र नियमित पूजा छुट्टाछुट्टै हुने गरे पनि वार्षिक तथा विशेष कार्यक्रम सँगसँगै गर्ने गरिएको देखिन्छ ।
(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दखल राख्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र विवाद : आज अन्तिम सुनुवाइ हुँदै
-
पशुपतिनाथको जलहरी प्रकरणमा विशेष अदालतको फैसलामा के छ ? (पूर्णपाठ)
-
भेरी-बबई बहुउद्देश्यीय आयोजनाको ढिलो गर्ने छुट छैन : मुख्यमन्त्री आचार्य
-
अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने नेपालको पहिलो आईबी स्कुल (भिडियोसहित)
-
तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज
-
भूपिका सिर्जना अँध्यारो हटाउने ‘दीपशिखा’