बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको उद्घोष

शनिबार, २४ चैत २०८०, १८ : २२
शनिबार, २४ चैत २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् । शनिबार काठमाडौँमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् । 

साहले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए । उनले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन सुरु गर्नुपरेको जिकिर गरे । 

उनले भने, ‘पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको थियो । दोस्रो जनआन्दोलनले नेपालबाट निरङ्कुश राजतन्त्रको अन्त्य ग¥यो, आज तेस्रो जनआन्दोलनको उद्घोष हो । आज नेपालमा लुटकारी जो दलतन्त्र छ, यसको अन्त्यको लागि आज उद्घोषको दिन हो । म यस सभामार्फत नयाँ तेस्रो जनआन्दोलनको उद्घोष गर्न चाहन्छु । तपाईँहरूलाई साक्षी राखेर आम नेपाली जनतालाई साक्षी राखेर हामी भन्न चाहन्छौँ, नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ, यसको एउटा ऐतिहासिक दिनको आजको सुरुवात हो । तेस्रो जनआन्दोलनको आज उद्घोष गर्न चाहन्छु । जन आन्दोलन जनता र पार्टीहरू मिलेर गरेका थिए । तर आज तपाईं हेर्नुहुन्छ भने पार्टीका नेताहरू आफ्नो तीन पुस्तालाई पुग्ने गरी आफ्नो अधिकार, आफ्नो अस्तित्वलाई सुनिश्चित गर्ने गरी व्यवस्थामा बेइमानी गरे । जनता निरीह र लाचार जस्तो हुने र प्रमुख पार्टीहरू सिन्डिकेट बनाएर देशमा पार्टीको सिन्डिकेट, गुटको र गुट भित्र पनि नेताको हालीमुहाली ठुलो नेताको आसेपासेले मोज गर्ने र जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन । चोर नेताका कारण, जनताप्रति घात गरेका कारण नेताका लागि आज लोकतन्त्र भयो, पार्टीको लागि लोकतन्त्र भयो, जनता जहाँको त्यहीँ छन् । त्यसलाई सच्याउन हामीले तेस्रो जनआन्दोलनको उद्घोष गरेका छौँ ।’

अध्यक्ष साहले नेपालमा शासकहरूले बनाएको माहौलले जनताहरू चिन्तित भएको बताए । उनले जनताहरू भविष्य के हुने हो भन्नेमा निराश रहेको बताए । 

त्यस्तै साहले कवाडीलाई अनावश्यक दुख नदिन सरकारलाई आग्रह गरेका छन् । महानगरपालिकाले कवाडीहरूले राजधानीमा दुख दिने गरेको र त्यसलाई रोक्नुपर्ने उनको भनाई थियो  । उनले कवाडीमाथि एक्स्काभेटर नचलाउन महानगरपालिकामा मेयर बालेन साहलाई पनि आग्रह गरे ।

उनले भने, ‘कवाडीमाथि एक्स्काभेटर चलाउन रोकिएन भने प्रभु साहले महानगरपालिकाको प्रहरीमाथि पनि एक्स्काभेटर चलाउँछ । त्यसको लागि म गृहमन्त्री र प्रधानमन्त्रीलाई चेतावनी दिन चाहन्छु ।’  अब आफूमाथि हुने कुनै पनि पिडा सहेर कोही बस्दैन भन्दै अध्यक्ष साहले कवाडीहरूलाई रक्षा गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गरे ।

अध्यक्ष साहले भने, ‘अहिलेको सरकारले गरिब र निमुखालाई मात्र दु:ख दिने गरेको छ, अब गरिब चुप लागेर बस्दैन ।’ देश विदेशीहरूको क्रिडास्थलको रूपमा परिणत भएको दाबी गर्दै उनले जुनसुकै सरकार बन्दा यो फलानो देशले बनाएको सरकार हो, त्यो फलानो देशले बनाएको सरकार हो भन्दै टिप्पणी हुने गरेको बताए । उनले विदेश हस्तक्षेपलाई रोक्न पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप