बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय
कथा

राजबहादुर र अर्थबहादुरको संवाद

शनिबार, २४ चैत २०८०, १२ : ५०
शनिबार, २४ चैत २०८०

राजनीतिबहादुर (बोलाउने नाम :राजबहादुर) र अर्थबहादुर दाजुभाइ हुन्, एउटै आमाका सन्तान । राजबहादुर जेठो हो भने अर्थबहादुर कान्छो । उनीहरुको संयुक्त परिवारमा करिब तीन करोड सदस्य छन् । सबैले आफ्नो दुःखजिलो गरेर खान्छन् ।

एउटै कोखबाट जन्मेका र एउटै आमाका दूध चुसेर हुर्केका भए पनि राजबहादुर आफूलाई ठुलो ठान्छ । ठुलो यसर्थ कि ऊ पहिले जन्मिएको थियो । त्यसकारण उसले आफूलाई सर्वेसर्वा ठान्छ र भाइलाई गन्दै गन्दैन । यी दुई दाजुभाइसँग घरको मूलभूत जिम्मा छ— राजबहादुरले परिवारलाई चलाउने नियम–कानुन बनाउँछ, अर्थबहादुरले तीन करोड सदस्यको रोग–भोक–शोक हेर्ने जिम्मा पाएको छ ।   

भाइ अर्थबहादुरलाई हरेक कुरामा दाइ राजबहादुरले दुःख दिएकै हुन्छ । बिचरा अर्थबहादुर नामले अर्थ भए पनि कामले कहिल्यै अर्थ हुन सकेन । दाइ राजबहादुरले जे गर् भन्छ, उसले त्यही गर्दै आएको छ । नगरोस् पनि कसरी, नगरे दिनुसम्म दुःख दिइहाल्छ ।

अर्थबहादुरले आफ्नो पीर–मर्का भन्ने ठाउँ कतै हुँदैन । आजभोलि अर्थबहादुर दयालाग्दो हुन पुगेको छ । किनकि भएभरको सम्पत्तिबाट दाइ राजबहादुरले मनलागी खर्च गरिरहेको छ । 

दाइको मनलागीले गर्दा अर्थबहादुर नराम्ररी शिथिल भयो । यसो तङ्ग्रिन खोज्छ, सक्दै सक्दैन । राजबहादुरका अगाडि उसको केही लाग्दैन । उसले दाइको आदेश मान्नैपर्छ— यति दे, उति दे भनेपछि आज्ञापालन गर्नैपर्छ । 

नराम्रोसँग थला परेको अर्थबहादुरले दाइसँग बसेरै संवाद गर्ने प्रस्ताव राख्छ । उसको प्रस्तावमा राजबहादुरले सहमति जनाएपछि संवाद सुरु भयो । मूलघरको आँगनमा बसेर उनीहरू संवाद गर्छन् । 

राजबहादुर भन्छ— म भनेको राजनीति हुँ । राजनीतिको पनि बहादुर अर्थात् नीतिमा सबैभन्दा ठुलो; सर्वश्रेष्ठ । हुनेलाई नहुने र नहुनेलाई हुने बनाउन सक्ने शक्ति ममा छ । 

भाइ तँ अर्थ होस् । नकराई बस्नुपर्छ तैँले । म जे भन्छु त्यो तैँले गर्नुपर्छ । कराएर र अनुनयविनय गरेर केही हुनेवाला छैन । बरु चुप लागेर बसेको खण्डमा तेरो भलाइ हुनेछ ।

अर्थबहादुर अक्क न बक्क पर्छ । बोल्नै सक्दैन राजबहादुरको अगाडि । राजबहादुर जेठो भएकाले उसले जे भन्यो, जे गर्‍यो, त्यो हुनैपर्छ तर त्यसमा अर्थबहादुरको चित्त बुझ्दै बुझ्दैन ।

डराइडराइ अर्थबहादुरले आफ्ना कुरा राख्छ— हो, तिमी राजबहादुर नै हौ र राजनीतिको चतुर खेलाडी हौ । तिमी जे पनि गर्न सक्छौ । यो सही कुरा हो तर सधैँ यस्तो काम गरेर कति चल्छ र ? 

भो भो राजबहादुरदाइ ! यस्ता कुरा गरेर केही राम्रो हुँदैन । तीन करोड भुइँमान्छेलाई पीडामा पारेर आफू र आफ्ना आसेपासेलाई मात्र खुसी पार्दैमा घर बन्दैन । परिवारका सबै सदस्यलाई खुसी पार्न धेरै विकास र उत्पादनका काम गर्नुपर्छ ।

राजबहादुर — यस्ता हुने नहुने काम मैले कति गरेँ, गरेँ । मैले गरेका काममा अझसम्म कसैले खोजतलास गर्नै सकेको छैन । खोजतलास गर्न थाले भने त म तुरुन्तै फेरबदल गरिदिन्छु । त्यसकारण कसैको केही बुता लाग्दैन । सात सालमा अलिअलि उचालिन थालेका थिए, ठिक पारिदिएँ । त्यस्तै गरी ०१७ सालमा मात्तिन थालेका थिए, भत्काइदिएँ । यसरी नै ४६ र ६२ साल पनि आए, गए । केही गर्नै सकेनन्, बुझिस् अर्थबहादुर । ०७२ साललाई पनि मेरा बुताले भ्याएसम्म भत्काउँदै छु । मेरो कामै भत्काउने हो । निर्माण गर्ने हुँदै होइन । आफूलाई जे फाइदा हुने हो, त्यही त गर्ने हो, हेर अर्थे ।

राजबहादुरको कुरा सुनेर अर्थबहादुर अचम्म मान्छ । मानिस यो धर्तीमा राम्रो काम गर्नकै लागि आउने हो । जहिले पनि भत्काउने, बिगार्ने र अरूलाई सताउने हो भने यो धर्तीमा जन्म लिनुको के अर्थ भयो र ? 

यस्ता कुरा मनमा खेलाउँदा खेलाउँदै अर्थबहादुरले भन्छ— राजबहादुरदाइ ! तिम्रो र हाम्रो काम भत्काउनु र ढकुटी रित्याउनु होइन । हाम्रो काम त विकास निर्माण गर्नु हो । परिवार समुन्नत बनाउनु हो । जहिले पनि भत्काउने, अरूलाई सताएर कमाउने काम मात्र गर्ने हो भने अरुको मन कहिले जित्न सकिन्छ र ? 

प्रकृतिले हामीलाई अरुको सेवा गर्न पठाएको हो, न कि सताउन । राजबहादुरदाइ ! हामीले अरूलाई दुःख दिएर आफूले मात्रै सुख भोग्ने होइन । राम्रो काम गरेर अरुको मन जित्ने हो । त्यसो गर्न सकियो भने सबैको प्यारो भइन्छ । राम्रो काम गर्न नसके पनि नराम्रो भने गर्नु हुँदैन । कुनै काम बिग्रन लागेको छ भने त्यसलाई बढी क्षति हुनबाट जोगाउनुपर्छ । जोगाउन सकियो भने पनि धेरै कुरा निर्माण भएसरह हुन्छ । त्यसकारण यस्ता भत्काउने काम नगर्नुस् राजबहादुरदाइ !

राजबहादुर रिसाउँदै भन्छ— म भनेको ठुल्दाइ हुँ अर्थात् राजनीति । राजनीतिले भनेको कुरा कसैले पनि काट्न सक्दैन । अरूलाई डोर्‍याएर हिँडाउने काम राजनीतिको हो । मैले बनाएको नीतिलाई सबैले मान्नुपर्छ । यसको विकल्प छैन अर्थबहादुर ।

तपाईं आफैँ भन्नुस् राजबहादुरदाइ ! राजनीति गर्ने को गरिब छ र ? अहिलेका राजनीतिकर्मीको पहिलेको आर्थिक अवस्था कस्तो थियो, अहिले कस्तो छ ? भनिरहनुपर्दैन । राजनीति नगर्ने मात्र गरिब छन् यहाँ । हैन त राजबहादुरदाइ ?

अर्थबहादुर— त्यसै भएर होला तपाईंले जहिले पनि मलाई लाद्ने काम मात्र गर्नुभएको छ । परिवार चलाउने जिम्मा मेरो हो तर मेरो कुनै अर्थ रहेनछ । तपाईंले सधैँ भत्काउँदै जाने, बिगार्दै जाने अनि लुट्दै जाने हो भने कसरी यो परिवार धान्न सक्छु मैले राजबहादुरदाइ ? 

राजबहादुर— राजनीति भनेको यसरी नै चल्ने हो । अरूले परिश्रम गर्छन्, कमाउँछन् र त्यसको फल हामीले खाने हो । यसको अर्थ तिमीहरूले आर्जन गर्ने हो, कम खर्च गरेर जोगाउने हो र राजनीतिले मज्जासँग मोजमस्ती गर्ने हो ।

अर्थबहादुर— अब त घर बर्बाद भइसकेको छ । मैले कसरी धान्न सक्छु राजबहादुरदाइ ? यत्रा सदस्यलाई कसरी पुर्‍याउने हो ? 

राजबहादुर — त्यस्तो कुरा नगर् अर्थे । मैले अघि नै भनिसकेँ, राजबहादुर भनेको राजनीति हो । राजनीतिले गर्ने भनेकै आफूलाई मात्र हो, अरूलाई हुँदै होइन । तीन करोड मानिसलाई गर्न सकिन्छ र ? गर्ने त आफ्ना थोरै मान्छेलाई हो, जो आफ्नो अगाडि पछाडि लाग्छन् । गुन्डागर्दी गर्ने, छलछाम गर्ने, भ्रष्टाचार गरेर कमाउनेलाई नच्यापे अरू कसलाई च्याप्ने ? त्यसकारण राजनीतिले सधैँ यस्तायस्तै काम गरेर सम्पन्न हुने हो ।

अर्थबहादुर — भो भो राजबहादुरदाइ ! यस्ता कुरा गरेर केही राम्रो हुँदैन । तीन करोड भुइँमान्छेलाई पीडामा पारेर आफू र आफ्ना आसेपासेलाई मात्र खुसी पार्दैमा घर बन्दैन । परिवारका सबै सदस्यलाई खुसी पार्न धेरै विकास र उत्पादनका काम गर्नुपर्छ । तीन करोड भुइँमान्छेलाई रुवाएर आफू खुसी हुनुलाई के खुसी भन्ने ? जति खायौ खायौ, अब खान्छु भन्न छाड राजबहादुरदाइ । अब आमालाई शोषण गर्ने काम नगर मेरो ठुल्दाइ ।

राजबहादुर — तैँले भनेका कुरा गलत हुन् अर्थबहादुर । त्यसरी कसरी उँभो लाग्न सकिन्छ र ? जतिसक्यो ढुकुटी दोहन गरेर कमाउनैपर्छ । नत्रभने राजनीति गरेको के काम भयो ? आफू र आफ्नालाई जुगौँ पुग्ने सम्पत्ति जोड्न नसके के राजनीति गर्नु !

अर्थबहादुर एकैछिन घोत्लिएर राजबहादुरतिर फर्कंदै भन्छ— राजनीति गर्नु भनेको सिङ्गो घरको विकास गर्नु हो । भुइँमान्छेको अवस्थामा परिवर्तन ल्याउनु हो । केही व्यक्ति विकासको केही अर्थ हुँदैन । पूरै परिवारको हित हुन सक्यो भने समस्त राष्ट्र विकसित हुन्छ । अहिले कति मानिस जीविका चलाउन नसकेर पीडामा बाँच्नुपरेको छ । यहाँ त राजनीति सेवाका लागि हुनुपर्नेमा व्यापार हुन पुगेको छ । 

यहाँ त राजनीति कमाउधन्दा भएको छ । कमाउनु छ भने राजनीतिमा प्रवेश गर्नुपर्छ । जसले कमाउँछ, उसले राजनीति बुझेको हुन्छ । पैसा नहुनेले राजनीति गर्नै सक्दैन । तपाईं आफैँ भन्नुस् राजबहादुरदाइ ! राजनीति गर्ने को गरिब छ र ? अहिलेका राजनीतिकर्मीको पहिलेको आर्थिक अवस्था कस्तो थियो, अहिले कस्तो छ ? भनिरहनुपर्दैन । राजनीति नगर्ने मात्र गरिब छन् यहाँ । हैन त राजबहादुरदाइ ? 

राजबहादुर — तैँले भनेको ठिकै हो अर्थबहादुर । राजनीतिले नै धनी बनाउने हो मानिसलाई । गरिब मानिसले राजनीति गर्छ भने ऊ छिटै धनी बनिहाल्छ । राजनीतिमा गर्न सक्नुपर्छ, जे गरे पनि हुन्छ । अहिले धनी बनेका जति पनि छन्, तीमध्ये अधिकांश कुनै न कुनै किसिमको राजनीति गरेरै भएका हुन् । त्यसकारण धनी बन्नुपर्छ अर्थबहादुर ।

अर्थबहादुर — तिमीहरूले यस्तै काम गरेर त म दुःखी भएको छु । अब मेरो शक्ति र सामथ्र्य गुमिसकेको छ । तिमीहरू जस्ताले लुटिसकेका छौ । त्यसकारण अहिले मेरा भुइँमान्छेलाई बचाउन अरुसँग भिक्षा माग्नुपरिरहेको छ । भिक्षा पनि कति माग्नु, अब त दाताहरूले भिक्षा दिन छाडिसके । मागेर ल्याएको पैसा पनि तिमीहरूजस्ता राजनीति गर्नेहरूले भ्रष्टाचार गरेर खाइसकेका छौ ।

अहिले अनुदान दिन छाडिसके । दिए भने ऋण नै दिने हुन्, चर्को ब्याजदरमा । सिङ्गो परिवारले तिर्नुपर्ने ऋण २४ खर्ब भइसकेको छ । अहिले त प्रत्येक सदस्यको टाउकोमा ८१ हजारभन्दा बढी ऋण पुगेको छ । राजबहादुरदाइ ! गरिब परिवारका नागरिकलाई गरिब बनाउने काम कसले गरिरहेको छ, मैले भनिरहनुपर्दैन, तपाईं आफैँलाई थाहा छँदै छ । तिमीहरूले नै ऋणको भारी बोकाइदिएका हौ । राजनीति गरेर अकुत सम्पत्ति कमाउने तिमीहरू, ऋण बोक्ने हामी गरिबहरू । यही नै हो तपाईंहरूको राजनीति ?

राजबहादुर — तैँले भनेका कुरा ठीक हुन् अर्थबहादुर । किनभने अहिले सबै मानिसले टाउकामा ८१ हजार ऋण बोकिरहेकै छन् । यो ऋण लगाउने कोही नभएर हामी नै हौँ । २४ खर्ब ऋण कहाँ खर्च गरेर के उपलब्धि भयो भनेर कसैले सोध्यो भने हामीसँग कुनै जवाफ छैन । कुनै विकास निर्माणमा लगानी गरेर त्यसबाट उत्पादन गर्न सकेको भए यति ठुलो ऋण लाग्ने थिएन । 

हेर् अर्थबहादुर ! तैँले बुझ्नुपर्ने कुरा के छ भने एउटा गरिब भएपछि मात्र अर्को धनी हुने हो । त्यसकारण हामी धनी हुँदै गएका छौँ, अरू गरिब हुँदै छन् । राजनीतिमा हुने भनेको यस्तै हो । राजनीति गर्ने मानिस गरिब हुनै सक्दैन, धनी नै हुन्छ ।

अर्थबहादुर — तिमीले जे भनेका छौ राजबहादुरदाइ, यो सरासर गलत हो । राजनीति भनेको कमाउधन्दा होइन । यो त बिल्कुल समाजसेवा हो, परिवारका सबैको सेवा गर्नु हो तर तिमीहरू त घरको ढुकुटीलाई निजी बनाउन सक्छौ तर बनाउन सकिन्छ भन्दैमा बनाउनु हुँदैन राजबहादुरदाइ । यो कुनै दिन मृत्युभन्दा पनि पीडादायी हुन सक्नेछ तिमीहरूलाई ।

राजबहादुर — तैँले भनेका कुरामा केही सत्यता हुन सक्छ । यो हुँदैमा डराउने होइन र राजनीति नगर्ने होइन । बानी बसिसकेको अवस्थामा यो छाड्न पनि सकिँदैन । यो नशाजस्तो हुँदो रहेछ । जति खाए पनि नअघाउने, अचम्मको वस्तु ।

अर्थबहादुर — राजबहादुर, मेरा ठुल्दाइ ! तिमीले बुझीबुझीकन पनि किन यसरी बुझ पचाएका छौ । अरूलाई दुःख दिएर, रुवाएर, शोषण गरेर, छलछाम गरेर, लुटेर, भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले कहिल्यै राम्रो गर्दैन । 

आफ्नै बाहुबलले कमाएको सम्पत्तिले बढी खुसी दिन्छ । त्यसकारण तिमी आफैँले अहिले देखिआएका छौ — कति ठुल्ठुला राजनीतिक नेताहरू अहिले कारागारमा थन्किएका छन्, अनुहार देखाउन लाज लागेर मुख छोपिरहेका छन् । उनीहरूले जिन्दगीभर कमाएको इज्जत धुलोमा मिसिएको छ । कारागारमा बस्न लाज लागेकाले बिरामी भएको निहुँ गरेर अस्पतालमा बसेका छन् । भ्रष्टाचारी भनेर सबैले घृणा गरिरहेका छन् । नीति निर्माण गर्ने र घर बनाउने ठाउँमा पुगेका मेरादाइ राजबहादुर अबदेखि यस्तो भ्रष्टाचारका काममा लाग्दै नलाग्नुस् र देशलाई टाट पल्टाउने काम गर्दै नगर्नुस् । यही सल्लाह दिन चाहन्छु, राजनीति गर्ने मेरा ठुल्दाइलाई । 

अर्थबहादुरले यति भनेपछि  संवाद टुङ्गियो । उनीहरू आ–आफ्नो काममा लागे ।

(पराजुली नेपाल सरकारका पूर्वउपसचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णमणि पराजुली
कृष्णमणि पराजुली
लेखकबाट थप