संरक्षणको पर्खाइमा संरक्षित सुन गोहोरो
विश्वका सरिसृपहरू सङ्कट उन्मुख अवस्थामा छन् । त्यस्तै सङ्कट उन्मुख सरिसृप हो, गोहोरो । संसारभरमा हालसम्म पाइएका ४६ प्रजातिका गोहोरोमध्ये एसिया महाद्वीपमा नौ प्रजातिका रहेको अभिलेख छ । विगतमा नेपालमा छेपारो परिवारका गोहोरोका दुई प्रजातिका गोहोरो अभिलेख थिए— भैँसे गोहोरो (भ्यारानस बेन्गालेन्सिस) र सुन गोहोरो (भ्यारानस फ्लेभेसेन्स) ।
सन् २०२० मा गोहोरोको थप एक प्रजाति एसियन पानी गोहोरो (भ्यारानस साल्भाटोर) उदयपुर जिल्लाको सनुवा सुक्नई सामुदायिक वनबाट अभिलेख गरिएको छ ।
भारतको आसाम, हिमाञ्चल प्रदेश, जम्मु–कस्मिर, विहार, उत्तरप्रदेश, पश्चिम बंगाल र उरिसामा गोहोरोका केही प्रजाति पाइन्छन् । यस्तै पाकिस्तान, नेपाल, भुटान र बङ्गलादेश जस्ता कृषिजन्य भूमिहरूमा यसको उपस्थिति छ । नेपालका तराईका समथर भूभाग तथा चुरेडाँडा र यीभित्र बनेका भित्री मधेसका उपत्यका रहेका २५ जिल्लामा सुन गोहोरो पाइएका छन् ।
सुन गोहोरोको विवरण हेर्दा वनभन्दा झाडी, घाँसेमैदान, सीमसार, मानवबस्ती वरपरका कृषिजन्य भूमिहरू यसको प्रमुख वासस्थान हो । तराईमा अवस्थित ६ वटै संरक्षित क्षेत्रमा मात्रै नभई वन क्षेत्रभन्दा बाहिर पूर्वदेखि पश्चिमसम्म तराईका समथर भूभाग तथा चुरेडाँडा कृषिजन्य भूमिमा यसको प्रमुख वासस्थान रहेको पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षणका क्रियाकलापले अप्रत्यक्ष रूपमा सुन गोहोरोको संरक्षणलाई केही टेवा पुगेको छ तर प्रत्यक्ष रूप ठुला स्तनधारी वन्यजन्तुहरू बाघ, गैँडा, हात्तीहरूझैँ यसको संरक्षणलाई पनि धेरै महत्त्वका साथ हेर्नुपर्ने देखिन्छ ।
सुन गोहोरोको फैलावट वन क्षेत्रका सुक्खा भूभागमा भन्दा बढी ओसिलो कृषिजन्य जमिनमा बढी रहेकाले वनमा केन्द्रीकृत संरक्षणका प्रयासले यसको संरक्षण त्यति धेरै योगदान नरहन सक्छ । यसको वासस्थान राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन विभागका क्षेत्राधिकार बाहिरको कृषिजन्य जमिनमा रहेकाले यसको संरक्षणमा स्थानीय सरकारको विशेष भूमिका रहन्छ ।
नेपालका छेपारो परिवारका दुवै गोहोरो (भैँसे र सुन गोहोरो) ‘साइटिस’ वाइल्ड अनुसूची १ मा रहेका छन्, जसले यसको ओखेटोपहार र जीवित वा मृत अवस्थामा व्यापार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।
सुन गोहोरो संरक्षण चेतना वृद्धि गर्दै स्थानीय सरकारले समुदाय र विद्यालयमा आधारित सुन गोहोरोको संरक्षणका क्रियाकलापलाई प्राथमिकतामा राख्नुपर्छ, जसले स्थानीय समुदाय र विद्यार्थीका कारणले हुने हानिबाट यसलाई जोगाउन सकिन्छ ।
नेपालमा मात्र नभई विश्वमै यसबारे शोधकार्य, वैज्ञानिक खोज अनुसन्धानको प्रकाशन नगण्य मात्रामा छन्, पत्रपत्रिकामा लेख रचनाको प्रकाशनले पनि खासै प्राथमिकता पाएको देखिँदैन । शोधकर्ता, विज्ञ, नीति–निर्माता र सर्वसाधारणबिच यही सुन गोहोरोलाई लिएर बहस तथा संवादको चलन हामीकहाँ सुरु भइसकेको छैन ।
यो जीवलाई विश्व संरक्षण सङ्घको रातो किताबमा सन् १९९६ मा लिस्ट कन्सर्न अर्थात् कम चासोको सूचीमा राखेपश्चात् अहिलेसम्म अध्यावधिक गर्न सकेको छैन । नेपाल सरकारको ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ ले सुन गोहोरोलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ, अतः यसले आफूलाई स्थानीयस्तरमा पाइने अन्य प्रजातिको संरक्षणका निम्ति ‘फ्ल्यागसिप’ प्रजातिका रूपमा पनि उभ्याएको छ ।
सन् २०१४ मा हेमन्तराज घिमिरे तथा प्रोफेसर करनबहादुर शाहले ९८२ मिलिमिटर लामो र एक हजार ४५० ग्रामको विश्वकै गह्रौँ र लामो सुन गोहोरो फेला पारेका थिए । त्यति बेलाको अध्ययनले बर्खे बिदामा गोठालो जाने केही विद्यार्थीको उपद्रोले सुन गोहोरोको सिकार हुने गरेको बताउँछ । साथै जेठ–साउनमा गोहोरोको भाले लाग्ने समय भएकाले वर्षायाम गोहोरो संरक्षणका हिसाबले थप संवेदनशील हुन्छ ।
वातावरण विज्ञान, केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका शोधकर्ता रमेश राजवंशीका अनुसार कोरोना लकडाउनका बेला गोहोरोको बढी सिकार भएको थियो । लकडाउनमा अधिकांश युवा तथा विद्यार्थीले आफ्नो खेतबारीमै समय बिताउने गरेका रहेछन् । त्यतिबेला उनीहरूको बहादुरी देखाउने दम्भको तारो सुन गोहोरो बन्ने गरेको राजवंशीको भनाइ छ । मासुका लागि केही स्थानीयले केटाकेटीलाई रकम दिएर मार्न लगाउने गरेका छन् । यस्तै देख्नासाथ डरका कारण पनि केटाकेटीले यसलाई मार्ने गरेको राजवंशी बताउँछन् । हिजोआज शोधकर्ता राजवंशी विद्यालय स्तरीय चेतनामूलक कार्यक्रममा पनि खटिन थालेका छन् ।
जीवविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका सुरज बरालले स्नातकोत्तर तहको शोधकार्य जगदीशपुरमा सुन गोहोरोमाथि गरेका थिए ।
प्रोफेसर करनबहादुर शाहका अनुसार सुन गोहोरोको मासुले दम, कुष्ठरोग, क्षयरोग तथा पाइल्स लाग्नबाट बचाउनेजस्ता जनश्रुति र जनविश्वास स्थानीय स्तरमा पाइन्छ । यही कारण स्थानीय आफैँले गोहोरो मारेर खाने अथवा अरूले मारेको गोहोरो खरिद गर्ने गरेको पनि पाइन्छ ।
अनुसन्धानका क्रममा ‘प्रकृति संरक्षण अभियान नेपाल’ले सडक दुर्घटनामा परी सुन गोहोरोको विनाश हुने गरेको कुरालाई पनि प्रमुख चुनौतीका रूपमा लिएको छ ।
नेपालका छेपारो परिवारका दुवै गोहोरो (भैँसे र सुन गोहोरो) ‘साइटिस’ वाइल्ड अनुसूची १ मा रहेका छन्, जसले यसको ओखेटोपहार र जीवित वा मृत अवस्थामा व्यापार गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।
संरक्षणको नीति–नियम भए पनि अनुगमन संयन्त्र अति कमजोर छ, त्यसैले स्थानीय स्तरमा सुन गोहोरोको अवैध सिकार भइरहेको पाइन्छ । विभिन्न प्रयोजनका लागि गरिने कीटनाशक र अरू रासायनिक मल तथा रसायनहरूको प्रयोगद्वारा सुन गोहोरो सङ्कटमा परेको औँल्याइएको छ । तराई, चुरेमा बढ्दो सहरीकरणले निम्त्याएको कृषिजन्य भूमिको अव्यवस्थित प्लटिङका कारण सुन गोहोरोको प्राकृतिक वासस्थानको विनाश हुँदै गइरहेको छ, जुन यसको संरक्षणमा एकदमै संवेदनशील विषय हो ।
अनुसन्धानका क्रममा ‘प्रकृति संरक्षण अभियान नेपाल’ले सडक दुर्घटनामा परी सुन गोहोरोको विनाश हुने गरेको कुरालाई पनि प्रमुख चुनौतीका रूपमा लिएको छ । गोहोरो संरक्षणका लागि स्थानीय तथा राष्ट्रियस्तरमा विभिन्न छलफल, नीतिगत बहस तथा जनचेतना अभिवृद्धि कार्यक्रम आवश्यक छन् ।
मांसाहारी सुन गोहोरोले मान्छेलाई कुनै बिगार गर्दैन; बरु खेतबारीका अन्नमा लाग्ने कीरा, मुसा, गँगटो, माकुरा, पक्षीहरू, मान्छेका लागि बिगार गर्ने कीराहरू खाएर पारिस्थिकीय प्रणालीलाई सन्तुलनमा राख्न सघाउँछ । कृषिजन्य भूमिमा पहरेदारका रूपमा किसानको साथी भई आर्थिक लाभ बढाउन प्रभावकारी गोहोरोको जानकारी मिलेको अवस्थामा स्थानीय समुदायमा आधारित संरक्षणका कार्यक्रम हितकर रहन्छ र जनचेतनालाई तीव्रता दिनु अत्यावश्यक छ ।
(प्रकृति संरक्षण अभियान नेपालमा बायोलोजिस्टका रूपमा कार्यरत बराल लामो समयदेखि विभिन्न वन्यजन्तुको अनुसन्धानमा संलग्न छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल