शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

आठौँ विराट गोल्डकप उपाधि जित्नेमा घरेलु टोली सांग्रीला र मच्छिन्द्र नै आत्मविश्वासी

शुक्रबार, २३ चैत २०८०, १५ : ५१
शुक्रबार, २३ चैत २०८०

विराटनगर । आठौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र एफसि काठमाडौँ र घरेलु टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।

सांग्रीलाले इटहरी गोल्डकपको च्यम्पियन एपीएफ क्लब र पाहुना टोली भुटानको आरटिसि एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । सांग्रीलाले क्वाटरफाइलनमा भुटानको आरटिसिलाई  ३–० गोलले र सेमिफाइनलमा  एपीएफ क्लबलाई सडनडेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वाटरफाइनलमा  कोलकाताका साउर्थन समिति २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागान भारतलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।

सांग्रीलाले लिग विजेता र इटहरी गोल्डकपको च्यम्पियन भएको सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीमा मनोबल उच्च देखिन्छ । घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको हो ।

यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो । त्यसबेलाको पहिलो उपाधि भारतको कलकत्तोले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । गत वर्षको सातौँ संस्करणमा विराटनगर सिटीले गोल्डकपको उपाधि जितेको थियो । पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो ।  त्यसपछि आठौँ  संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो ।

विराटनगरमा शुक्रबार  प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौँ संस्करणको विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए ।

‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यको साथ खेलाडी मैदान उत्रिनेछन्,’ उनले भने, ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौँ ।’ यो सिजनमा तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएर आएको उनले बताए ।

‘उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौँ । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को शनिबार हुन्छ ।’ उनले खेलको सुरुवातदेखि आक्रमण रणनीतिमा खेलाडी मैदानमा उत्रिने बताए । मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको उनले बताए ।  नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनको भनाई छ । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने ।

सांग्रीलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो । अनुभवी खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौ,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौं ।’ फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरुप प्लान गरेर फाइनल खेल्ने बताए । उनका अनुसार सांग्रीलाले ४–४–२ को रणनीतिमा खेल्ने बताए । अधिकांश ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उनले बताए ।

सांग्रीलाका कप्तान अभिषेक लिम्बुले होम ग्राउण्डमा घरेलु दर्शकको साथ सहयोग र  हामीले उत्कृष्ट खेल प्रदर्शन गर्ने भएको कारणले  गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे ।

चैत १५ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगितामा  विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागी रहेको विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप