पार्टीमा २० वर्ष अरूले आस नगरे हुन्छ : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओलीबिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला,’ उनले भने, ‘पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफै पलाउन थालेको छ । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’
उनले कांग्रेस–माओवादी गठबन्धन आफैँले तोडेको बताए । विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप लागिरहेका बेला उनले देशभित्रैबाट गठबन्धन तोडेको बताएका हुन् । ‘हामी मिसन ८४ भनेर अघि बढिरहेका छौँ । एउटा गठबन्धन तोड्दियौँ,’ उनले भने, ‘गठबन्धन विदेशीले होइन हामीले फुटाएका हौँ । यो समीकरण बनाउन हामी सक्थ्यौँ, हामीले नै बनाएका हौँ ।’
अघिल्लो गठबन्धन निकम्मा र भ्रष्ट भएको आरोप उनले लगाए । ‘दक्षिणपन्थी, निकम्मा, भ्रष्ट गठबन्धन देशका लागि दुर्भाग्य थियो । एमालेको सरकार ढालेपछि देश ओरालो लागेको लागै थियो, त्यस सरकारलाई हटाउनै पर्ने भयो । हटायौँ’ ओलीले भने ।
उनले गण्डकी एमालेको किल्ला र कास्की किल्लाको राजधानी भएको दाबी गरे । ‘एमालेका लागि गण्डकी लाल किल्ला हो । कास्की लाल किल्लाको राजधानी हो । कास्की आउँदा आफ्नै घर आएजस्तो लाग्छ,’ उनले भने ।
ओलीले अधिवेशनपछि पार्टीमा एकता बढ्दै गएको भन्दै अप्ठ्यारा चिर्दै अघि बढ्न नेता कार्यकर्तालाई सुझाए । कास्कीको आगामी २ वर्षको नेतृत्व वैनबहादुर अधिकारीले पाएका छन् ।
निकटतम प्रतिस्पर्धी माधव बास्तोलालाई हराएर उनको प्यानल नै निर्वाचित भएको छ । अधिकारी केन्द्रीय सदस्य खगराज अधिकारी निकट हुन् भने बास्तोला उपमहासचिव पृथ्वी सुब्बा निकटका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु