बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंक रिपोर्ट

‘हायर पर्चेज लोन’ को माग ह्वात्तै घट्यो तर कसरी बढ्यो कन्जम्सन लोन ?

शुक्रबार, २३ चैत २०८०, १३ : २८
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय रिपोर्ट हेर्दा निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा ४.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब १८ करोडले बढेको थियो । 

तर, यो वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले करिब २ खर्ब (१ खर्ब ९९ अर्ब ५० करोड) रुपैयाँले लगानी वृद्धि गर्दै ५० खर्ब बढी लगानी गरेका छन् ।   तथापि, २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.६ प्रतिशत र ३५.४ प्रतिशत रहेको थियो । तुलनात्मक रूपमा समीक्षा अवधिमा व्यक्तिगत तथा घरपरिवार क्षेत्र (कन्जम्सन लोन) मात्र १.४ प्रतिशत विन्दुले बढेको छ । प्रतिशतमा हेर्ने हो भने यो ३.९५ प्रतिशतको वृद्धि हो । 

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.५ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।

–कर्जा सुरक्षणको स्थिति

२०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११.७ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रूपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको राष्ट्र बैंकले जनाएको छ ।  २०७९ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्र तर्फको कर्जा ८.७ प्रतिशतले, निर्माण क्षेत्र तर्फको कर्जा ६.० प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र तर्फको कर्जा ८.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले, सेवा उद्योग क्षेत्र तर्फको कर्जा ५.२ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १५.९ प्रतिशतले, नगद प्रवाह कर्जा २४.६ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ११.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.९ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १२.३ प्रतिशतले बढेको छ । 

तथापि, सोही अवधिमा यता अधिविकर्ष कर्जा ४३.० प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारण समेत) बढ्दा यता हायर पर्चेज कर्जा भने २०.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप