आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

आईपीएलमा आज : बलियो चेन्नईलाई हैदरावादको चुनौती

शुक्रबार, २३ चैत २०८०, ११ : ०६
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबिच भिडन्त हुँदैछ । खेल हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । 

आईपीएलको १७ औँ संस्करणमा साविक विजेता चेन्नई र हैदराबाद दुवैको यो चौथो खेल हो । यसअघि खेलिएको तीन खेलमा चेन्नईले दुई जित हात पारेको छ । एक खेलमा भने चेन्नई पराजित भएको छ । चेन्नई चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । 

हैदराबादले भने यसअघि खेलिएको तीनमध्ये एक खेलमा मात्र जित हासिल गर्न सकेको छ । दुई खेलमा हैदराबाद पराजित भएको थियो । हैदराबाद दुई अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ । आईपीएलको इतिहासमा चेन्नई सर्वाधिक सफल टोली हो । 

चेन्नईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । हैदराबादले भने हालसम्म एकपटक मात्र आईपीएलको उपाधि जित्न सकेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि हात पारेको थियो । 

सर्वाधिक विकेट लिने मुस्तफिजुरको उपस्थिति अन्यौलमा

हैदराबादविरुद्धको खेलमा चेन्नईका मुस्तफिजुर रहमानले खेल्ने सम्भाविना निकै कम छ । सम्भवतः शुक्रबारको खेलमा उनी अनुपस्थित रहने छन् । रहमान अमेरिकाको प्रवेशाज्ञा (भिषा) सम्बन्धि कामले बंगलादेश फर्किएका छन् । 

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा बंगलादेशले पनि सहभागिता जनाउँदै छ । रहमाल जारी आईपीएलमा चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले चेन्नईका लागि सात विकेट लिइसकेका छन् । 

हेड टु हेडमा चेन्नई अगाडि 

चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच हालसम्म इन्डियन प्रिमियर लिगमा कुल १९ खेल खेलिएको छ । त्यसमध्ये १४ खेलमा चेन्नईले हैदराबादलाई हराएको छ । बाँकी पाँच खेलमा भने हैदराबाद विजयी भएको छ । 

समग्रमा चेन्नईले हैदराबादविरुद्ध ७४ प्रतिशत खेल जितेको छ । हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच कुल चार खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा चेन्नई र दुई खेलमा हैदराबाद विजयी भएका छन् । 

हैदराबादको सर्वाधिक रन क्लासनको नाममा

जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने खेलाडी हेनरिच क्लासन हुन् । यसअघि खेलिएका तीन खेलमा क्लासनले कुद एक सय ६७ रन बनाइसकेका छन् । जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी तेस्रो स्थानमा छन् । सबैभन्दा बढी विकेट लिने बलर भने प्याट कमिन्स हुन् ।

शिवम दुबेको नाममा चेन्नईको सर्वाधिक रन

आईपीएलको १७औँ सिजनमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिवम दुबे हुन् । उनले यसअघि खेलिएको तीन खेलमा कुल एकसय तीन रन बनाएका छन् । यस क्रममा उनले एक अर्धशतक पनि प्रहार गरेका छन् । सर्वाधिक विकेट लिने बलर भने मुस्तफिजुर रहमान हुन् । उनले सात विकेट लिइसकेका छन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

चेन्नई र हैदराबादबिच शुक्रबारको खेल हुने राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम ब्याट्सम्यानका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा खेलिएको खेलमा गतिलो रन बन्ने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ७२ खेल खेलिएको छ । त्यसमध्ये ३२ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ४० खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् ।

अत्यधिक गर्मी, छैन वर्षाको सम्भावना

चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच खेल हुने दिन शुक्रबार हैदराबादमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार हैदराबादको तापक्रम २८ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने छ । अर्थात खेल हुने दिन हैदराबादमा चर्को गर्मी हुनेछ । 

सम्भावित टोली 

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, मयंक अग्रवाल, अभिषेक शर्मा, एडिन मारक्रम, हेनरिच क्लासन, अब्दुल समाद, शाहबाज अहमद, जयदेव उनादकट, भुवनेश्वर कुमार र मयंक मारकंडे रहेका छन् । इम्प्याक्ट खेलाडीका रुपमा उमरान मलिक रहेका छन् । 

चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाणे, ड्यारल मिचेल, रविन्द्र जडेजा, समिर रिजवी, महेन्द्रसिंह धोनी, दीपक चाहर, तुषार देशपाण्डे, मथिशा पाथिराना र महिश तिक्षणा रहेका छन् । इम्प्याक्ट प्लेयरका रुपमा शिवम दुबे रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप