आयात र निर्यात दुवै घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आई रु.१०० अर्ब ६२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ७.७ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः २७५.५ प्रतिशत र ०.३ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैँची, ऊनी गलैँचा, ब्रान्स लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आई रु.१०३० अर्ब २२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोसाक, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, हवाई जहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई रु.९२९ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.९८ अर्ब २९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.८५ अर्ब १२ करोड बराबरको भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको अवरोध, सत्ता पक्ष प्रतिवादमा
-
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध
-
कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
-
प्रतिनिधिसभा बैठक सुरु
-
अन्तिम कन्सर्टअघि १९७४ एडीका सदस्यहरूले विश्व शान्तिको कामना गर्दै उडाए परेवा
-
पाथीभरा केबलकार निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश