वैदेशिक लगानी धेरै ल्याउने गरी सरकारले कानुन संशोधन गर्दैछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सम्मेलनमार्फत धेरै लगानी ल्याउनको लागि कानुन संशोधनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु जरुरी रहेको बताए । उनले लगानी सम्मेलनलाई सफल र परिणाममुखी बनाउन पनि कानुन संशोधन पहिलो प्राथमिकतामा रहेको बताए ।
‘आगामी लगानी सम्मेलनलाई सफल मात्रै होइन परिणाममुखी पनि बनाउने कुरा हो । त्यसको लागि सरकारले केही ऐनहरू संशोधन गर्न जरुरी छ । ऐन संशोधन गरी विदेशी लगानी आकर्षण गर्न सकियोस्’ प्रधानमन्त्रीले भने, ‘धेरै लगानीकर्ताहरूको सवाल त्यहीँ छ । नेपालका ऐन कानुनी जटिलताले गर्दा पनि लगानीमा समस्या ल्याएको भन्ने छ । त्यसलाई अध्यादेशबाट भए पनि अपरिहार्य र अनिवार्य ऐनहरू संशोधन गर्नेतिर हामी जान्छौँ ।’
प्रधानमन्त्री प्रचण्डले नेपालका ऐन र कानुनी जटिलता भएकाले लगानीमा समस्या ल्याएको भन्ने विषय बाहिर गएको भन्दै लगानीकर्ताले थाहा पाउने गरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह गर्न अध्यादेशबाट भए पनि अपरिहार्य र अनिवार्य रूपमा ऐनहरू संशोधन गर्नुपर्ने बताए । उनले लगानीको प्रतिबद्धता व्यक्त हुने तर कार्यान्वयन नहुने अवस्था आउन नदिने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्रीले लगानी सम्मेलनको लागि सम्बन्धित निकायहरूले कङ्क्रिट रूपमा कुन–कुन परियोजना कसरी लैजाने भन्ने तयारी गर्न पनि निर्देशन दिए । उनले लगानी सम्मेलनको लागि सत्ता समीकरण भएपछि केही अप्ठ्यारो आउँछ आउने आकलन भए पनि त्यस्तो नभएको बताए ।
‘लगानी सम्मेलनको लागि सत्ता समीकरण भएपछि केही अप्ठ्यारो आउँछ की भन्ने थियो । तर यहाँसम्म आइपुग्दा त्यस्तो केही भएन । लगानीको लागि आकर्षण बढेको छ । सम्मेलनमा आउनेहरूको प्रतिबद्धता अझ बढेका छन्’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणपछि लगानीको लागि अझ आकर्षण बढेको दाबी गर्दै सम्मेलनमा आउनेहरूको प्रतिबद्धता अझ बढेको पनि उल्लेख गरे । उनले अर्थ मन्त्रालय, योजना आयोग सबैबाट सम्मेलनलाई सफल र नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिने गरी काम गर्न समेत आग्रह गरे ।
उनले परम्परागत र सामान्य उपलब्धि दिने गरी काम गरेर नपुग्ने भन्दै निजी लगानी परिचालनमा जोड दिनुपर्ने बताए । देशभित्र सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सबै निकायहरूले पीपीपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म