आईपीएलमा आज : नरेन्द्र मोदी स्टेडियममा पहिलो पटक भिड्दै गुजरात र पन्जाब
काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार गुजरात टाइटन्स र पन्जाब किङ्सबिच भिडन्त हुँदै छ । जारी सिजनको आईपीएलमा यो १७औँ खेल हो ।
खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा गुजरात र पन्जाब दुवैले चौथो खेल खेल्न लागेका हुन् । गुजरातले यसअघि खेलेको तीनमध्ये दुई खेलमा जित हात पारेको छ ।
एक खेलमा भने गुजरात पराजित भएको छ । गुजरात चार अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । अर्कोतिर, पञ्जाबले तीनमध्ये एक खेलमा जित हात पारेको छ । दुई खेलमा भने पन्जाब पराजित भएको छ । पन्जाब दुई अंकसहित तालिकाको सातौँ स्थानमा छ ।
गुजरातले आफ्नो घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा हालसम्म आईपीएलको १२ खेल खेलेको छ । त्यसमध्ये आठ खेलमा गुजरात विजयी भएको छ । बाँकी चार खेलमा भने अन्य टोलीले गुजरातलाई हराएका छन् । अर्थात घरेलु मैदानमा गुजरातले ६७ प्रतिशत खेल जितेको इतिहास छ ।
गुजरातले आईपीएलको पहिलो उपाधि पनि घरेलु मैदानमै जितेको थियो । गुजरातले सन् २०२२ मा आईपीएलको उपाधि चुमेको थियो । त्यही सिजनदेखि नै गुजरातले आईपीएलमा सहभागिता पनि जनाउन थालेको हो ।
हेड टु हेडमा गुजरात अगाडि
इन्डियन प्रिमियर लिगमा हालसम्म गुजरात र पञ्जाबबिच कुल तीन खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा गुजरात विजयी भएको छ । एक खेलमा भने पञ्जाबले जित हात पारेको छ । नरेन्द्र मोदी स्टेडियममा भने पहिलो पटक यी दुई टोलीबिच भिडन्त हुन लागेको हो ।
गुजरातको सर्वाधिक रन साई सुदर्शनको नाममा
जारी सिजनको आईपीएलमा साई सुदर्शन गुजरातका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी इम्प्याक्ट प्लेयरको रुपमा प्रतियोगितामा सहभागी हुँदै आएका छन् । उनले यसअघि खेलिएका तीन खेलमा गुजरातका लागि कुल एक सय २७ रन बनाइसकेका छन् ।
जारी आईपीएलमा उनको स्ट्राइक रेट एक सय १९ रहेको छ । यसका अतिरिक्त मोहित शर्मा गुजरातका लागि सर्वाधिक विकेट लिने बलर हुन् । यसअघि खेलिएका तीन खेलमा मोहितले कुल ६ विकेट लिइसकेका छन् ।
पञ्जाबको सर्वाधिक रन शिखर धवनको नाममा
जारी सिजनको आईपीएलमा पञ्जाबका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान शिखर धवन हुन् । उनी भारतको राष्ट्रिय टोलीका पनि प्रभावशाली खेलाडी हुन् । यसअघि खेलिएको तीन खेलमा उनले कुल एक सय ३७ रन बनाइसकेका छन् ।
यस क्रममा शिखर धवनले एक अर्धशतक पनि प्रहार गरेका छन् । उनले लखनउ सुपर जाइन्ट्सविरुद्ध ७० रनको पाली खेलेका थिए । यसका अतिरिक्त अलराउन्डर साम कुर्रन पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर हुन् । उनले तीन खेलमा चार विकेट लिइसकेका छन् । लखनउविरुद्धको एउटै खेलमा उनले तीन विकेट लिएका थिए ।
ब्याट्सम्यानलाई साथ दिने पिच
गुजरात र पञ्जाबबिच बिहीबारको खेल हुने नरेन्द्र मोदी स्टेडियम ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो मैदानमा ब्याट्सम्यानले गतिलो रन बनाउँदै आएका छन् । यो स्टेडियममा हालसम्म आईपीएलको २९ वटा खेल खेलिएको छ ।
नरेन्द्र मोदी स्टेडियममा खेलिएको २९ मध्ये १४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हासिल गरेको इतिहास छ । बाँकी १५ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ । सन् २०२२ को आईपीएलको फाइनलमा गुजरातले यही मैदानमा राजस्थान रोयल्सलाई सात विकेटले हराउँदै उपाधि चुमेको थियो ।
बादल लागे पनि वर्षाको सम्भावना कम
गुजरात र पञ्जाबबिच खेल हुने दिन बिहीबार अहमादाबादको आकाश बादलले ढाकेको हुनेछ । बादल लागे पनि वर्षाको सम्भावना भने निकै कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहीबार अहमादाबादको तापक्रम २५ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।
सम्भावित टोली
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह, अजमतुल्लाह ओमरजाई, डेभिड मिल्लर, विजय शंकर, राहुल तेवतिया, राशिद खान, उमेश यादब, मोहित शर्मा, नुर अहमद र दर्शन नालकंडे । इम्प्याक्ट खेलाडी : साई सुदर्शन ।
पन्जाब किङ्स : शिखर धवन (कप्तान), जोनी बेयरस्टो, साम कुर्रन, लियाम लिविङ्स्टोन, जितेश शर्मा, सशांक सिंह, हरप्रित बरार, राहुल चाहर, हर्षल पटेल, अर्शदीप सिंह र कागिसो राबडा । इम्प्याक्ट खेलाडी : प्रभसिमरन सिंह ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?
-
सिनामंगलमा मृत भेटिएका दम्पती शनिवार क्यानडाबाट फर्केका थिए, टिचिङ अस्पतालमा पोस्टमार्टम गरिँदै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध