झण्डै २० करोडको लगानीमा स्थापित प्रदेश प्रयोगशाला के गर्दैछ ?
![झण्डै २० करोडको लगानीमा स्थापित प्रदेश प्रयोगशाला के गर्दैछ ?](https://npcdn.ratopati.com/media/news/pradesh-lab_RaW0jq8wk4.jpg)
विराटनगर । २०७५ साल चैतमा स्थापना भएको कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउनेको चाप बढ्दै गएको छ । प्रदेशभरका सरकारी र निजीस्तरबाट प्रदान गरिने प्रयोगशाला सेवालाई भरपर्दो, गुणस्तरीय र व्यवस्थित बनाउन तथा प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा विशिष्टीकृत रिफरेन्स प्रयोगशाला सञ्चालन गर्ने प्रदेश सरकारको उद्देश्य थियो ।
सोही उद्देश्यले स्थापना गरिएको प्रयोगशाला २०७६ साल साउनदेखि सञ्चालन भएको हो । १९३ खालका नमुना परीक्षण गर्ने प्रयोगशालाले आर्थिक वर्ष २०७८-०७९ मा १ हजार २४५ जनाले निःशुल्क परीक्षण गराएका थिए ।
यस्तै आर्थिक वर्ष २०७९-८० को भदौदेखि चैतसम्ममा ४ हजार २५४ जनाले निःशुल्क परीक्षण गराए । प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि भने आर्थिक ऐनमै समावेश गरी न्यूनतम शुल्कमा आम सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिरहेको छ ।
यसरी शुल्क लिएर चालु आर्थिक वर्षमा भने प्रयोगशालाबाट ५ हजार ८६१ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रदेश प्रयोगशालामा स्वास्थ्य परीक्षण गर्न आउनेको सङ्ख्या ८ हजार नाघ्ने अनुमान गरिएको छ ।
प्रदेश प्रयोगशालाले विभिन्न १० वटा प्याकेजमा पनि स्वास्थ्य परीक्षण गर्ने गरेको छ । प्रदेश प्रयोगशालामा कोशी प्रदेशका निजी तथा सरकारी प्रयोगशालाहरूमा नहुने परीक्षण समेत हुने गरेको निर्देशक प्रणव यादव बताउँछन् । ‘महिलाहरूको पाठेघरको क्यान्सरको जाँच पीसीआर परीक्षणबाटै गरिन्छ । कोशी प्रदेशका अन्य प्रयोगशालाहरूमा यो जाँच छैन,’ उनले भने, ‘यस्तै प्रदेशका अन्य प्रयोगशालामा परीक्षण नहुने रोगहरू कोभिड–१९ एन्टीबोडी, थालेसेमिया लगायतका ८ वटा रोगको परीक्षण पनि प्रदेश प्रयोगशालामा हुन्छ ।’ प्रदेश प्रयोगशालामा बाहिर भन्दा ४ गुणा सस्तो शुल्क रहेको उनको भनाइ छ ।
यादवका अनुसार प्रयोगशालामा ११ जनाको दरबन्दी भए पनि ९ जना कर्मचारीसहित कार्यालय सहयोगी, स्वीपर र माली गरेर २० जनाभन्दा बढी कार्यरत छन् । प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउन आउने विपन्न, गरिव, सहिद परिवार, क्यान्सरका बिरामी र ज्येष्ठ नागरिकलाई नियमित लिने शुल्कमा पनि ९० प्रतिशत छुट गरिएको उनले बताए ।
यस्तै प्रदेश सरकारका कर्मचारीका लागि ५० प्रतिशत छुट गरिएको छ । प्रदेश प्रयोगशालामा अहिले २० करोड बराबरको लगानी भएको छ भने लगानीको ९० प्रतिशत हिस्सा कोशी प्रदेश सरकारको हो ।
स्वास्थ्य परीक्षण बाहेक प्रदेश प्रयोगशालाले प्रदेशमा भएका निजी तथा सरकारी प्रयोगशालाको गुणस्तर नियन्त्रण, अनुगमन, अनुशिक्षण जस्ता काम गर्छ । यस्तै सी क्याटोगोरीका नयाँ संस्थाहरूलाई सञ्चालन गर्न अनुमति दिने, निदानात्मक सेवाहरू डाग्नोस्टिक सर्भिस, सर्ने रोग र नसर्ने रोगहरूको सर्भिलेन्सको पाटोमा पनि काम गर्ने यादवले बताए ।
विभिन्न अनुसन्धानात्मक काम गर्ने, राष्ट्रिय कार्यक्रमहरू क्षय रोग, एचआइभी, कालाजार, मलेरिया, डेंगुजस्ता रोगहरूको परीक्षण गर्ने र प्रदेशभरका अन्य जिल्लामा भइरहेका काम पनि हेर्ने उनले बताए ।
प्रदेश प्रयोगशालाले अनुसन्धानको क्षेत्रमा अघिल्लो आर्थिक वर्ष कालाजार रोग र कोभिड कालमा पनि कोरोनाको अनुसन्धान गरेको थियो । यस्तै अहिले इन्फ्लुइन्जा र पोलियोहरूको अनुसन्धान भइरहेको यादवले बताए ।
प्रदेश प्रयोगशालाका प्रशासन शाखा प्रमुख रेवती ढुंगानाले जनशक्ति व्यवस्थापन र बजेट व्यवस्थापन चुनौतीपूर्ण देखिएको बताए । आगामी आर्थिक वर्षमा प्रदेश सरकारले बजेट र जनशक्तिको उचित व्यवस्थापन गर्न सके प्रदेश प्रयोगशालाबाट धेरै नागरिकले सर्वसुलभ स्वास्थ्य सेवा पाउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ