९५ प्रतिशत फिल्मले पैसा डुबाएका छन् : निर्देशक देवकोटा
काठमाडौंँ । ‘द रेड सुटकेस’ यही चैत ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । भेनिस फिल्म फेस्टिभल, जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल, स्विटजरल्यान्डको जुरिच फिल्म फेस्टिभललगायत करिब डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विभिन्न अवार्ड र पुरस्कार जित्न सफल फिल्मका निर्देशक हुन् फिडेल देवकोटा हुन् । फिडेलको यो डेब्यु फिल्म हो ।
‘कलेज अफ फिल्म स्टडिज’बाट फिल्म अध्ययनपछि जर्मनीबाट दृश्य मानवशास्त्र -भिजुअल एन्थोपोलोजी’ अध्ययन गरेका उनी अहिले बजारमा आएको भन्दा ‘द रेड सुटकेस’ फरक फिल्म भएको बताउँछन् । फिल्ममा आफ्नो कथा आफ्नै शैलीबाट भनिएको कारण विश्वका विभिन्न फेस्टिभलमा पुग्न सकेको उनको भनाइ छ ।
फिल्ममा सौगात मल्ल, विपीन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा लगायतको मुख्य भूमिका छ । प्रस्तुत छ, फिल्म ‘द रेड सुटकेस’ निर्माण र प्रदर्शनको विषयमा केन्द्रित रहेर निर्देशक देवकोटासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–
कसरी जन्मियो ‘द रेड सुटकेस’ ?
‘साम्बाला’ सहित ३ डकुमेन्ट्री फिल्म र कलेज प्रोजेक्टका लागि केही सर्ट फिल्म गरिसकेको मलाई फिल्म निर्देशन गर्ने हुटहुटी पहिलेदेखि नै थियो । सन् २०२२ मा लकडाउनमा कोठाभित्र थुनिनुपर्दा एक किसिमको त्रास थियो । त्यो समय पनि हरेक दिन विदेशबाट १०÷२० नेपालीको लास बाकसमा भित्रिएको समाचार सुन्न मिल्थ्यो । त्यो त्रास र समाचारले मलाई ‘रेड सुटकेस’को कथा दियो ।
फिल्मको कथा के हो त ?
‘द रेड सुटकेस’ मिस्ट्री सस्पेन्स जनरामा निर्माण भएको हो । त्यसैले कथा खोल्न मिल्दैन । हामीले देखेको, भोगेको साधारण कथामा छ फिल्म । कथा, कथाका पात्र र परिवेशसँग हामी सबै नेपाली परिचित छौँ । फिल्ममा कथा भन्ने तरिका भने भिन्न छ, जुन तपाईंले अहिलेसम्म फिल्ममा देखेकै छैन ।
‘द रेड सुटकेस’लाई के हो भनेर बुझ्ने त ?
२०२१ देखि अहिलेसम्मको कथा हो । बितेका केही वर्ष र वर्तमानको दस्तावेज यो फिल्म हो ।
प्रचार सामग्रीबाट फिल्म विदेशबाट बाकसमा आउने ‘चिसो मान्छे’को कथा हो कि भन्ने अनुमान गर्न सकिन्छ ?
चामलबाट बिरयानी, फ्राइ राईस वा अन्य जे परिकार बनाए पनि मिल्छ । परिकार जे भए पनि बेस त चामल हो भने झैँ फिल्मको बेस विदेशबाट दैनिकजसो बाकसमा आउने लास हो । फिल्मको कथा भन्ने, देखाउने शैली अहिलेसम्मकै नौलो छ । त्यही भएर पनि विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा यो छनोटमा परेको हो ।
‘द रेड सुटकेस’लाई तपाईले अफबिटको फिल्म पनि भनेको सुनियो नि ?
अहिले बजारमा जस्ता फिल्मको हालीमुहाली छ, त्यसलाई मूलधारका फिल्म भन्ने गरिन्छ । हामीले फरक खालको फिल्म बनाएका छौँ । यस्तो फिल्म बनाउँदा बजार र व्यवसायका सहज हुँदो रहेनछ । त्यसैले हामीले अफबिट भनेका हौँ ।
कमर्सियल फिल्म नबनाएर किन अफबिट बनाउनुभयो ?
मलाई राम्रो फिल्म बनाउन मन लाग्यो । त्यसमा हाम्रो पनि थपियो । फिल्म टेल स्टोरी र सेल स्टोरी गरेर दुई तरिकाबाट बन्छ । बजारमा अहिले देखिएका फिल्म सेल स्टोरी हो । मैले ‘द रेड सुटकेस’ भने टेल स्टोरी थिममा रहेर बनाएको हो । मेरो त दश जनाले हेरे पनि मैले के हेरेँ भनेर दिमाग खियाउन बाध्य पार्छ । फिल्म निर्माणका लागि लगानी त लाग्छ, त्यो सुरक्षित होस् चाहना हुन्छ । किनभने मलाई दोस्रो फिल्म पनि बनाउनु छ ।
अन्तर्राष्ट्रिय फेस्टिभलमा फिल्मले पाएको उपलब्धिलाई कसरी लिनु हुन्छ ?
हामीले फेस्टिभलमा पुग्ने भनेर फिल्म बनाएको होइन । चाहनाले मात्र पनि हुँदैन । फिल्म राम्रो बन्यो, पुग्यो । फिल्म पुगेको २० फेस्टिभलबाट के महसुस भयो भने हामीले हाम्रो माटोको कथा, आफ्नो शैलीमा कला संस्कृति सहित पस्कन सक्यौँ भने विश्वले त्यसलाई आत्मसात गर्ने रहेछ ।
फेस्टिभलमा पुगेका फिल्मले स्वदेशमा व्यवसाय गर्न नसकेको यथार्थ हो नि ?
नेपालमा फिल्म हेर्ने संस्कृतिको विकास भएको छैन । फिल्म वर्षमा सय फिल्म बन्यो भने ९५ फ्लप हुन्छ । यो भनेको नेपाली फिल्म नेपाली अडियन्सले नरुचाउनु हो । अडियन्स र मेकरबिचको ग्याप हुनु पनि हो । नेपाली फिल्ममा आफ्नोपन नहुनु पनि हो । जब फिल्ममा आफ्नोपन छैन, किन हेर्ने ? हाम्रै कथा हाम्रै तरिकाले पस्किन सकियो भने फिल्ममा अडियन्स छन् । ‘द रेड सुटकेस’ आफ्नो कथा, आफ्नै तरिकाले भन्ने प्रयास हो । यस्तो प्रयास सबैबाट भयो भने केही वर्षपछि स्थापित हुन्छ ।
फेस्टिभलमा पुगेर मात्र हुँदैन, व्यवसाय पनि गर्नुपर्छ भन्छन् त ?
‘द रेड सुटकेस’ फिल्ममात्र होइन । यो एउटा सफ्ट पावर हो । कोरियाले फिल्ममात्र बेचेको छैन । उसले फिल्मसँग संस्कृतिको अलावा रक्सी लगायतका सामान बेचेको छ । हामीले त्यो गर्न सक्छौँ । हाम्रो विदेशमा निर्यात भनेको दक्ष जनशक्तिमात्र हो त ? हाम्रो फिल्म बाहिर गयो भने पयर्टन भित्र्याउँछ । विदेशका हरेक प्लेटफर्ममा नेपाली फिल्म पुगेको छ । विदेशमा सबै ठाउँमा पुग्ने तागत राख्ने नेपाली फिल्मलाई स्वदेशमा हेला गरिन्छ । त्यो किन हो भन्ने मैले बुझ्न सकेको छैन ।
अफबिट फिल्ममा दुःख त धेरै होला, हैन ?
दुःख त जुन फिल्म बनाउन पनि उस्तै हो । फिल्म भनेको टिमवर्क हो । राम्रो टिम भयो भने दुःख पनि सुखमा बदलिन्छ । हामीले बनाएको जस्तो फिल्मले दर्तादेखि रिलिजसम्मको दुःख खप्नुपर्दाे रहेछ ।
अहिले बनिरहेका फिल्मलाई कसरी हेर्नु हुन्छ ?
गुड र ब्याड, अहिले दुई प्रकारको फिल्म बनेको छ । गुड फिल्मले व्यवसाय गरिरहेको छ । बोराभरि पैसा सोरेको छ । ९५ प्रतिशत फिल्मले पैसा डुबाएको छ ।
‘द रेड सुटकेस’को व्यवसायले तपाईंको आगामी करियर निर्धारण गर्छ कि गर्दैन ?
मेरो कथा वाचनको शैली परिवर्तन हँुदैन, परिमार्जन भने होला । दर्शकले फिल्मप्रति कस्तो प्रतिक्रिया दिन्छन्, त्यसको हिसाबले अगाडि बढ्न सजिलो हुन्छ ।
‘द रेड सुटकेस’मा शतप्रतिशत काम गर्न सक्नुभयो त ?
नढाँटी भन्नुपर्दा त्यो सकिनँ । नजिक नजिक पुग्ने चेष्टा भने भयो ।
फिल्म क्षेत्रमा केही सपना पनि छ कि ?
केही साथीभाइ मिलेर अझै ‘द रेड सुटकेस’ जस्तो केही फिल्म गरौँ, जसले नेपाली फिल्म केही परिवर्तन गर्न सकोस् भन्ने छ ।
कतिपय निर्देशक त एउटा फिल्ममा काम गरेर हराएका पनि छन्, तपाईंको सोच के छ ?
विगत २० वर्षदेखि फिल्ममा छु । फिल्म निर्देशन ‘द रेड सुटकेस’ पहिलो हो । फिल्म पढ्ने, पढाउने क्रम जारी छ । फिल्मबाट बाहिर छैन र कहिल्यै रहन्नँ ।
नेपाली फिल्मको सबैभन्दा ठुलो समस्या के देख्नु हुन्छ ?
नेपाली फिल्मको सबैभन्दा ठुलो समस्या पात्रको क्यारेक्टराइज हो । पात्रले हिमाल, पहाड, तराई जहाँको भूमिका निर्वाह गर्छ, त्यो परिवेश डिटेलमा दिन सकिएको छैन । त्यो दिन सकियो भने कथा गहन बनाउँछ र फिल्म उत्कृष्ट हुन्छ । मेरो फिल्ममा यो कुरोमा ध्यान दिएको छु । त्यसैले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगन सफल भएको हो ।
दर्शकका लागि केही भन्नु छ ?
एक पटक फिल्म ‘द रेड सुटकेस’ हेर्न अनुरोध गर्छु । फिल्म मन पर्न पनि सक्छ, नपर्न पनि सक्छ । फिल्मले फरक स्वाद र अहिलेसम्मकै फरक अनुभूति गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
-
१० बजे १० समाचार : नारायणहिटीको आँगनबाट ओलीको ‘गाली’देखि अदालतमा दुर्गा प्रसाईंसम्म
-
आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान
-
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा निर्विरोध निर्वाचित
-
झापाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह