उपनिर्वाचनका उम्मेदवार तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।
इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ । इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।
कांग्रेस सह—महामन्त्री बद्री पाण्डेले आज बिहान उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरूसँग छलफल हुने बताए । पार्टी केन्द्र र उम्मेदवारका आकांक्षीबिच एकता गराएर आजै उम्मेदवार टुंगो लगाइने पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म