आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
विपद्‍का घटना

डेढ महिनामा १०३९ वटा आगलागीका घटना, २३ जनाको मृत्यु

बुधबार, २१ चैत २०८०, १७ : ०५
बुधबार, २१ चैत २०८०

काठमाडौँ । विगत डेढ महिना यता देशका विभिन्न स्थानमा एक हजार ३९ वटा आगलागीका घटना भएका छन् । यो सङ्ख्या डढेलो र घरमा लागेको आगलागीको हो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत फागुन एक गते यता भएका आगलागीका घटनामा आगोले जलेर २३ जनाको मृत्यु भएको छ । 

प्राधिकरणका अनुसार आगलागीमा परेर ९३ जना घाइते भएका छन् भने एक हजार एक सय ६ परिवार प्रभावित भएका छन् । आगोले जलेर तीन सय १८ वटा घर पूर्ण क्षति भएको छ भने एक सय तीन वटा घरमा आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ । एक सय ९७ वटा गोठमा क्षति पुग्दा ५ सय ७५ वटा पशु चौपायाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । आगोले जलेर ४५ करोड ८ लाख ८२ हजार पाँच सय रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । 

प्राधिकरणकी प्रवक्ता गोमादेवी चेमजोङका अनुसार डेढ महिनाको अवधिमा ७६ वटा जिल्लामा आगलागी भएको अभिलेख छ ।

 सबैभन्दा धेरै मोरङमा आगलागीका घटना भएका छन् । मोरङमा ५८ वटा आगलागीका घटना भएका छन् । तर, मानवीय क्षति भने नभएको चेमजोङले बताइन् । 

आगलागीमा मानवीय क्षति व्यहोरेका जिल्लाहरूमा पाँचथर, भोजपुर, ओखलढुङ्गा, झापा, सिराहा, महोत्तरी, दोलखा, काठमाडौँ, तनहुँ, कपिलवस्तु, रोल्पा, प्युठान, दाङ, बर्दिया, जाजरकोट, डोटी र बैतडी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप