गहुँ बालीमा लाग्ने कालो सिन्दुरे के हो ?
हाम्रो देशमा उत्पादनका हिसाबले धान र मकैपछि तेस्रो महत्त्वपूर्ण स्थान हिउँदेबाली गहुँले ओगटेको छ । खाद्यान्नका आधारमा धानपछि गहुँ प्रमुख बालीमा पर्छ । सन् १९६० को दशकदेखि अहिलेसम्म हामीकहाँ गहुँको औसत क्षेत्रफल सात गुणा, उत्पादन १५ गुणा र उत्पादकत्व दुई गुणाका दरले बढेको छ । हाल देशभरि ९५ प्रतिशतभन्दा बढी उन्नत जातका गहुँ खेती गरिन्छन्, जसलाई ‘नेपाल कृषि अनुसन्धान परिषद्’बाट विकास गरिएको हो ।
हामीकहाँ गहुँको उत्पादन जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन; कारण यसमा विभिन्न प्रकारका रोगले आक्रमण गर्ने गर्छ । संवेदनशील गहुँकोे जात लगाउनु, समयानुसार रोगका जीवाणुका विभिन्न प्रजाति विकास हुनु, मौसममा परिवर्तन र असन्तुलित रासायनिक मलको प्रयोग गर्नु, खेती प्रणालीमा आएको परिवर्तन र पुरानो बिउको निरन्तर प्रयोग तथा रोगका बारेमा जनचेतनाको कमी हुनु नै रोग लाग्नुका मुख्य कारण हुन् ।
- सिन्दुरे रोग
गहुँमा लाग्ने मुख्य रोगहरूमध्ये सिन्दुरे रोग प्रमुख हो । सिन्दुरे रोग तीन प्रकारका छन्— पहेँलो सिन्दुरे, खैरो सिन्दुरे र कालो सिन्दुरे । मुख्य गरी तराईमा खैरो, पहाडमा पहेँलो सिन्दुरेको प्रकोप बढी छ । कालो सिन्दुरे पहाडका केही स्थानमा फाट्टफुट्ट देखापरेको छ ।
आजभन्दा करिब २३ वर्षअगाडि अफ्रिका महादेशको युगान्डा देशमा उत्पत्ति भएको ‘युजी ९९’ नामक विनाशकाली कालो सिन्दुरेले गहुँ बालीमा ठुलो नोक्सानी गरेको थियो । उक्त प्रजाति अफ्रिकाका अन्य राष्ट्र इथियोपिया, केन्या, सुडान, इरिट्रिया, इजिप्ट हुँदै एसिया महादेशका राष्ट्रहरू इरान, यमन, ओमन, इराक, जोर्डन आदि देशमा फैलिएको देखिन्छ ।
‘युजी ९९’ लाई टीटीकेएसके नामबाट पनि चिनिने र उक्त प्रजातिका हालसम्म अन्य १५ किसिमका व्युत्पन्न (डेरिभेटिभ्स) प्रजाति विकसित भइसकेको छ । ती १५ प्रजातिमध्ये ‘टीटीकेटीटी’ नामक प्रजाति हाल हाम्रो देशमा पनि देखिएको छ ।
यस राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारबाट भन्दा करिब ४ महिना अगाडी कार्तिक २२, २०८० मा दोलखा जिल्लाको दाङढुङ्गे र खरीढुंगाका क्षेत्रहरूमा गाईवस्तुको आहाराको लागि हरियो घाँसको रूपमा खेती गरिने गहुँको बोटबाट रोगको सर्वेक्षण क्रममा लिइएको सिन्दुरे रोगको नमुना परीक्षण गर्दा यो प्रजाति भेटिएको छ ।
सिन्दुरे रोग तीन प्रकारका छन्— पहेँलो सिन्दुरे, खैरो सिन्दुरे र कालो सिन्दुरे । मुख्य गरी तराईमा खैरो, पहाडमा पहेँलो सिन्दुरेको प्रकोप बढी छ । कालो सिन्दुरे पहाडका केही स्थानमा फाट्टफुट्ट देखापरेको छ ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारबाट २०८० कात्तिक २२ गते दोलखा जिल्लाको दाङढुङ्गे र खरीढुङ्गाका दुईवटा गहुँबारीबाट केही गहुँ (गाईवस्तुको आहाराका लागि हरियो घाँसका रूपमा खेती गरिने गहुँ) का बोटलाई परीक्षणका लागि ल्याइएको थियो । त्यहाँबाट सङ्कलित नमुनालाई ‘ग्लोबल रस्ट रिर्सट सेन्टर’ डेन्मार्कको प्रयोगशालामा परीक्षण गर्दा ‘टीटीकेटीटी’ नामक ‘युजी ९९’ को प्रजाति प्रमाणित भएको छ । यस प्रजातिले अफ्रिकाका देशमा करिब ८० प्रतिशतभन्दा बढी गहुँ बालीमा नोक्सानी पुर्याएको तथ्याङ्कले देखाएको छ ।
हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशमा नदेखिएको यस प्रजाति हाम्रो देश नेपालमा देखिएको हुँदा भविष्यमा यस प्रजाति अन्य क्षेत्रमा फैलिएर गहुँ बालीमा ठुलो नोक्सानी गर्न सक्ने भएकाले समयमै यस रोगको रोकथामप्रति सजगता अपनाउनुपर्ने देखिन्छ ।
यो रोग ‘पुचिनिया ग्रामिनिस ट्रिटिसी’ नामक ढुसी (जीवाणु)बाट लाग्छ, जुन हावाबाट कैयौँ किलोमिटरसम्म फैलिन सक्ने विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ । यस रोगको जीवाणु हावाको माध्यमबाट केन्या तथा अन्य अफ्रिकी मुलुकका देशबाट हाम्रो देश नेपालमा फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ ।
तसर्थ यस रोगको जीवाणुबारे थप अध्ययन–अनुसन्धान गरी सजगता अपनाउनुपर्ने देखिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्बाट केही रोग अवरोधक जात सिफारिस भई किसानहरूले खेती गर्दै आएका छन् । सिफारिस भएका जातमध्ये विजय, जिङ्क गहुँ १, जिङ्क गहुँ २, मुनाल, च्याखुरा, डाँफे, बाणगङ्गा, हिमगङ्गा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति आदि सिन्दुरे रोगको अवरोधक छन् । यीबाहेक उन्मोचनका लागि पाइपलाइनमा रहेका रोग अवरोधक थप जातका बिउ सिफारिस गर्नुपर्ने देखिन्छ ।
(वरिष्ठ वैज्ञानिक वैद्य राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा बिदा
-
वर्तमान सरकारलाई असफल हुने छुट छैन : महासचिव पोखरेल
-
नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो संस्करणको नालीबेली
-
जसपा नेपालका अध्यक्षद्वारा एनपीएल विजेतालाई बधाई
-
चरित्रहत्या गर्नेविरुद्ध साइबर ब्युरोमा पुगिन् समीक्षा अधिकारी
-
पार्टी सङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल