शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सन्न्यास लिएको लामो समयपछि ज्लाटन इब्राहिमोभिचको बिदाइ खेल

बुधबार, २१ चैत २०८०, १३ : ४६
बुधबार, २१ चैत २०८०

काठमाडौँ । आफ्ना प्रभावशाली स्ट्राइकर ज्लाटन ईब्राहिमोभिचको सम्मानमा स्विडेनको राष्ट्रिय फुटबल टोलीले बिदाइ खेल खेल्ने भएको छ । ४२ वर्षीय ईब्राहिमोभिचले राष्ट्रिय टोलीबाट सन्न्यास लिएको लामो समयपछि उनको सम्मानमा बिदाइ खेल खेल्न लागिएको हो ।

ईब्राहिमोभिचले अघिल्लो सिजनमै राष्ट्रिय टोलीबाद सन्न्यास लिएका थिए । एकपछि अर्को घाइते समस्याबाट पीडित भएपछि उनले सन्न्यास लिने निर्णय गरेका थिए । आफ्ना स्टार खेलाडीले सन्न्यास लिएपछि राष्ट्रिय टोलीको ब्यस्त खेल तालिकाका कारण यसअघि बिदाइ खेल खेलाउन नसकिएको स्विडिस फुटबल संघले जनाएको छ ।

आफ्नो उत्कृष्ट खेल कौशलसँगै मैदानमा देखाउने विभिन्न उटपट्याङ गतिविधिका कारण पनि ईब्राहिमोभिच विश्व फुटबलमा निकै चर्चित छन् । ईब्राहिमोभिचको बिदाइ खेल आगामी जुन ८ तारिखमा स्विडेन सर्बियाबिच खेलिने समाचारमा जनाइएको छ ।

ईब्राहिमोभिचले स्विडेनको राष्ट्रिय टोलीबाट एक सय २२ खेल खेल्दै ६२ गोल गरेका छन् । उनले विश्वका चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल पनि खेलेका छन् । उनले स्पेनको बार्सिलोना तथा इटालीको युभेन्ट्स, इन्टर मिलान र एसी मिलानबाट व्यावसायिक फुटबल खेलेका थिए ।

यसका अतिरिक्त उनले इङ्ल्यान्डको म्यानचेस्टर युनाइटेड, अमेरिकाको लस एन्जल्स ग्यालेक्सी, फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी), नेदरल्यान्ड्सको आयाक्स र स्विडेनको मल्मो क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।

ईब्राहिमोभिचले आफ्नो व्यावसायिक खेल जीवनको अधिकांश समय भने इटालियन क्लब क्लबहरूमा बिताएका थिए । उनले इटालियन सिरिए फुटबलमा कुल दुई सय ८३ खेल खेल्दै एक सय ५६ गोल गरेका थिए ।

ईब्राहिमोभिच कीर्तिमानी रूपमा १२ पटक स्विडेनको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । यसका अतिरिक्त उनले सन् २०१३ मा सर्वोत्कृष्ट गोलका लागि प्रदान गरिने प्रतिष्ठित पुस्कास अवार्ड पनि हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप