आईपीएलमा आज : दिल्लीविरुद्ध हारको शृङ्खला टुङ्ग्याउने धुनमा कोलकाता
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार एक खेल हुनेछ । विशाखापट्टनममा खेलिने उक्त खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्नेछ । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।
आईपीएलको १७ औँ संस्करणमा दिल्लीले खेल्न लागेको यो चौथो खेल हो । यसअघि खेलिएको तीनमध्ये दिल्ली एक खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । दिल्ली दुई अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।
यसैगरी कोलकाताले भने तेस्रो खेल खेल्न लागेको हो । यसअघि खेलिएको दुवै खेलमा कोलकाता विजयी भएको छ । कोलकाताले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादलाई चार रनले र दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसैको घरेलु मैदानमा सात विकेटले हराएको थियो ।
कोलकाता चार अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । जारी सिजनको आईपीएलमा राजस्थान रोयल्स र कोलकातामात्र अपराजित टोली हुन् । आईपीएलको १७औँ संस्करणमा खेल्न लागिएको यो १६औँ खेल हो ।
आईपीएलको इतिहासमा हालसम्म कोलकाताले दुई पटक उपाधि जितेको छ । कोलकाताले सन् २०१२ र सन् २०१४ मा आईपीएलको उपाधि चुमेको थियो । अर्कोतिर, दिल्ली क्यापिटल्सले भने हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन ।
आईपीएलको पछिल्लो तीन भिडन्तमा दिल्लीले कोलकातालाई हराएको इतिहास छ । आईपीएलमा पछिल्लो पटक सन् २०२१ मा कोलकाताले दिल्लीलाई हराएको थियो । त्यसयता खेलिएको तीनवटै खेलमा दिल्ली विजयी भएको छ ।
विशाखापट्टनम दिल्लीको घरेलु मैदान
दिल्ली र कोलकाताबिचको खेल विशाखापट्टनममा खेलिने छ । यो खेलमा विशाखापट्टनम स्टेडियमलाई दिल्लीले घरेलु मैदानका रुपमा प्रयोग गर्नेछ । वास्तवमा दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियम हो । तर, अरुण जेट्ली स्टेडियममा हालै महिला प्रिमियर लिग (डब्लूपीएल) खेलाइएको थियो ।
उक्त मैदानलाई आईपीएलका लागि तयार पार्न केही समय लाग्ने बताइएको छ । त्यसैले दिल्लीले विशाखापट्टनमलाई दिल्लीले घरेलु मैदानको रुपमा प्रयोग गरेको हो । अरुण जेट्ली स्टेडियम तयार भएपछि दिल्लीले अन्य खेल त्यहीँ खेल्नेछ ।
हेड टु हेडमा दुवै टोली उस्तै
इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल ३२ खेल खेलिएको छ । तर, एक–अर्काविरुद्ध दुवै टोलीको प्रदर्शन उत्तिकै प्रभावकारी देखिन्छ । ३२ मध्ये १६ खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । १५ खेलमा भने दिल्ली क्यापिटल्सले कोलकातालाई हराएको इतिहास छ । विशाखापट्टनममा भने यी दुवै टोलीबिच पहिलो पटक भिडन्त हुन लागेको हो ।
हर्षित राणाको नाममा कोलकाताको सर्वाधिक विकेट
जारी सिजनको आईपीएलमा कोलकाताको यो तेस्रो खेल हो । १७औँ सिजनको आईपीएलमा फिल साल्ट कोलकाताका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । ओपनर फिल साल्टले दुई खेलमा कुल ८४ रन बनाएका छन् । यसका अतिरिक्त हर्षित राणा कोलकाताका लागि सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले दुई खेलमा पाँच विकेट लिइसकेका छन् ।
डेभिड वार्नरको नाममा दिल्लीको सर्वाधिक रन
जारी सिजनको आईपीएलमा दिल्लीले तीन खेल खेलिसकेको छ । १७औँ सिजनमा डेभिड वार्नर दिल्लीका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले अघिल्ला तीन खेलमा एक अर्धशतकसहित कुल एक सय ३० रन बनाइसकेका छन् । खलिल अहमद दिल्लीका सर्वाधिक विकेट लिने बलर हुन् । उनले पाँच विकेट लिइसकेका छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
दिल्ली र कोलकाताबिच खेल हुने विशाखापट्टनम स्टेडियमको पिच ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ । विशाखापट्टनममा हालसम्म आईपीएलको १४ खेल खेलिएको छ । त्यसमध्ये सात खेलमा पहिलो ब्याटिङ गर्ने टोली विजयी भएको छ । बाँकी सात खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ । यो स्टेडियममा कुनै पनि टोलीले बनाएको उच्च स्कोर दुई सय ६ रन हो । सन् २०१६ मा दिल्लीविरुद्ध मुम्बईले उक्त रन बनाएको थियो ।
छैन वर्षाको सम्भावना
दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबिच खेल हुने दिन बुधबार विशाखापट्टनममा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बुधबार विशाखापट्टनमको तापक्रम २८ देखि ३३ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।
सम्भावित टोली
दिल्ली क्यापिटल्सः ऋषभ पन्त (कप्तान एवं विकेटकिपर), डेभिड वार्नर, पृथ्वी शा, मिचेल मार्श, ट्रिस्टन स्टब्स, अक्षर पटेल, अभिषेक पोरेल, कुलदीप यादब, एनरिच नोर्जे, खलिल अहमद र मुकेश कुमार रहेका छन् । इम्प्याक्ट प्लेयरमा इशान्त शर्मा रहने सम्भावना छ ।
कोलकाता नाइट राइडर्स : श्रेयष ऐयर (कप्तान), वेंकटेश ऐयर, फिल साल्ट, रिंकु सिंह, सुनिल नरेन, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, अनुकूल राय, हर्षित राणा र वरुण चक्रवर्ती रहेका छन् । इम्प्याक्ट खेलाडीका रुपमा सुयश शर्मा र अंगकृष रघुवंशी रहने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?
-
सिनामंगलमा मृत भेटिएका दम्पती शनिवार क्यानडाबाट फर्केका थिए, टिचिङ अस्पतालमा पोस्टमार्टम गरिँदै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध