शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

हुण्डी कारोबार गर्ने गिरोह पक्राउ, दैनिक सरदर २ करोडको ‘ट्रान्जेक्सन’

साढे १३ लाख रकम बरामद
मङ्गलबार, २० चैत २०८०, २० : २२
मङ्गलबार, २० चैत २०८०

वीरगन्ज । बारा प्रहरीले हुण्डी कारोबार गर्ने गिरोहलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । उक्त गिरोहले दैनिक सरदर २ करोडको कारोबार गर्दै आएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले सोमबार बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ४, मुसहर्वाबाट हुण्डी गिरोहका २ जना नाइकेलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ का हरिकिशोर प्रसाद पटेल र बाराको महागढी नगरपालिका वडा नम्बर १ बस्ने रमेश कुश्वहालाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

बारा प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेका दुवै जना अभियुक्त ठुलो रकममा कारोबार गरिरहेका नाइके रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनीहरूको साथबाट बरामद मोबाइल तथा ल्यापटपसहितका विद्युतीय सामग्रीको ‘डाटा’ विश्लेषण गर्दा पहिलो फेजमा करिब २ करोडसम्म रुपैयाँको दिनहुँ कारोेबार भएको पाइएको प्रहरी स्रोतले जनाएको छ ।

यसरी गरिन्थ्यो हुण्डी कारोबार

स्रोतका अनुसार पक्राउ परेका महतोले मलेसियामा रहेका आफ्नो दाइ राकेश कुश्वाहामार्फत त्यहाँबाट कलेक्सन गरिएको हुण्डी रकम भारतबाट उठाएर नेपाल ल्याउने गरेका थिए । त्यही क्रममा सोमबार भारतबाट हुण्डीकै पैसा उठाएर नेपाल ल्याउँदा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

बारा प्रहरीले उनीहरूको साथबाट प्रदेशको २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप