आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

मुम्बई–राजस्थान खेलका तीन रोचक घटना : दोहोरो मारमा कप्तान हार्दिक

मङ्गलबार, २० चैत २०८०, ११ : ५०
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोली हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । तर, आईपीएको १७औँ संस्करमा भने मुम्बई सबैभन्दा कमजोर र विवादित टोलीको रुपमा देखिएको छ ।

जारी सिजनको आईपीएलमा मुम्बईले लगातार तीन खेलमा हार भोगिसकेको छ । मुम्बई अंक तालिकामा पनि सबैभन्दा तल छ । मुम्बईलाई पहिलो खेलमा गुजरात टाइटन्सले ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादले ३१ रनले र तेस्रो खेलमा राजस्थान रोयल्सले ६ विकेटले हराएका छन् ।

जारी सिजनको आईपीएलमा कप्तान सम्बन्धि विवादका कारण नै मुम्बईले स्वभाविक प्रदर्शन गर्न नसकेको धेरै समर्थकको आरोप छ । आईपीएल सुरु हुनुभन्दा ठिकअघि मुम्बईले आफ्ना नियमित कप्तान रोहित शर्मालाई हटाएर हार्दिक पाण्ड्यालाई कप्तान बनाउने निर्णय लिएको थियो ।

मुम्बईको उक्त निर्णयको ब्यापक आलोचना भएको थियो । समर्थकहरु पनि मुम्बईको ब्यवस्थापन पक्षसँग निकै रुष्ट बनेका थिए । टोलीमा रहेका सिनियर खेलाडीहरु पनि उक्त निर्णयबाट सन्तुष्ट देखिएका छैनन् । त्यसैको प्रभाव खेलमा परिरहेको बुझाई धेरै समर्थकको छ ।

यस्तोमा टोलीका नयाँ कप्तान हार्दिक पाण्ड्या दोहोरो मारमा परेका छन् । एकातिर उनको कप्तानीमा खेलिएको तीनवटै खेलमा मुम्बई पराजित भएको छ । त्यसैले उनीमाथि टोलीको प्रदर्शन सुधार्नु पर्ने तीव्र दबाबमा छ । अर्कोतिर, हरेकजसो खेलमा उनले समर्थकको आलोचना सहनु पर्ने अवस्थामा पनि देखिएको छ ।

समर्थकले हार्दिकको खिल्ली उडाउँदै रोहितको पक्षमा नारा लगाउँदा

आईपीएलअन्तर्गत सोमबार राति घरेलु मैदान वानखेड स्टेडियममा खेलिएको खेलमा पनि मुम्बईका कप्तान हार्दिक पाण्ड्याले समर्थकको आलोचना सहनु प¥यो । टोलीको कमजोर प्रदर्शनबाट रुष्ट बनेका थुप्रै समर्थकले हार्दिक पाण्ड्याको खिल्ली पनि उडाए ।

हार्दिक मैदानमा प्रवेश गर्नासाथ समर्थकहरुले ‘रोहित–रोहित’ को नारा लगाउन थालेका थिए । रोहित शर्मा आईपीएलका सर्वाधिक सफल कप्तान हुन् । उनकै कप्तानीमा मुम्बईले पाँचपटक आईपीएलको उपाधि जितेको हो ।

हार्दिक पाण्ड्या टसका लागि मैदानमा प्रवेश गरेदेखि नै समर्थकले रोहित शर्माको पक्षमा नारा लगाउन सुरु गरेका थिए । यसअघि हैदराबाद र अहमादाबादमा पनि दर्शकले हार्दिक पाण्ड्याको विपक्षमा चर्को नाराबाजी गरेका थिए ।

सोमबार रातिको खेलमा टस हुनुभन्दा अगाडि ‘वार्म–अप’ गर्दा पनि मुम्बईका समर्थकले रोहितको पक्षमा र हार्दिकको विपक्षमा नारा लगाएका थिए । दर्शकले आफूविरुद्ध नारा लगाउँदा पनि हार्दिक भने हाँसिरहेका थिए ।

टस सकिएपछि हार्दिकले बोल्न सुरु गर्दा पनि दर्शकले भने रोहितकै पक्षमा नारा लगाइरहेका थिए । खेल अवधिभर पनि यो क्रम जारी नै रह्यो । त्यसपछि खेलमा कमेन्टेटरको भूमिका निर्वाह गरिरहेका संजय मांजरेकरले समेत दर्शकलाई अनुशासित भएर खेल हेर्न अनुरोध गर्नु परेको थियो ।

रोहित शर्मासँग हात मिलाउन समर्थक मैदानमा प्रवेश गरेपछि

Rohit

वानखेड स्टेडियममा सोमबार राति मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिच खेल भइरहँदा एक समर्थक अचानक मैदानभित्र प्रवेश गरेका थिए । सुरक्षाकर्मीलाई झुक्क्याउँदै मैदानमा प्रवेश गरेका तीन समर्थकले दौडँदै गएर मुम्बईका पूर्वकप्तान रोहित शर्मासँग हात मिलाउने प्रयास गरेका थिए ।

त्यतिबेला रोहित शर्मा फिल्डिङ गरिरहेका थिए । रोहितले ती समर्थकसँग हात मिलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले ती समर्थकलाई मैदानबाट बाहिर निकालेका थिए ।   ती समर्थकले ईशान किशनसँग पनि हात मिलाउने प्रयास गरेका थिए ।

जब मैदानमै रोहित शर्माले हरभजनलाई बोकेर हिँडे

रोहित शर्मा मुम्बई इन्डियन्सका पूर्वकप्तानसँगै विश्व क्रिकेटमै प्रभावशाली खेलाडी पनि हुन् । उनी भारतको राष्ट्रिय क्रिकेट टोलीका वर्तमान कप्तान पनि हुन् । उनको कप्तानीमा भारतले थुप्रै महत्वपूर्ण उपलब्धि हासिल गरिसकेको छ ।

Harbhajan

उनी सिनियर क्रिकेटरहरुको पनि निकै आदर गर्छन् । यस्तै एउटा घटना सोमबार राति मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबिचको खेलमा पनि देखियो । वानखेड स्टेडियममा भारतका चर्चित पूर्वक्रिकेटर हरभजन सिंह कमेन्ट्री गरिरहेका थिए ।

खेल सुरु हुनुअघि मुम्बई इन्डियन्सका खेलाडीहरु पनि मैदानमा ‘वार्म–अप’ गरिरहेका थिए । ठिक त्यसैबेला हरभजन पनि त्यहाँ पुगे । हरभजन सिधै रोहित शर्मा भएको ठाउँमा पुगेर उनीसँग हात मिलाए । त्यसपछि रोहित शर्माले एक्कासी हरभजन सिंहलाई बोकेर केही परसम्म पु¥याए । अहिले सामाजिक सञ्जालमा रोहित र हरभजनको त्यो तस्बिर निकै भाइरल भइरकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप