केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट साझा धारणा बनाउनुपर्छ : नैनसिंह महर
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकमा विद्यमान समस्याको निकासका लागि पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउन आग्रह गरेका छन् । सोमबार काठमाडौँको नयाँ बानेश्वरमा शिक्षक संघसँगको अन्तरक्रिया कार्यक्रममा नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए।
‘सांसदले संसद्मा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन। मुलुक संवेदनशील अवस्थामा छ। यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ। र, त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ,’ उनले भने।
वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भएपनि भनाइ र व्यवहार ठ्याक्क विपरीत रहेको महरको आरोप छ। ‘सरकारले सुशासनको कुरा गरिरहेको भएपनि त्यो व्यवहारमा देखिँदैन। सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिनुभएको छ। त्यो मुलुकका लागि लज्जाको विषय हो,’ महरले भने।
सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृह मन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ।
‘जनतामा भ्रम छरेर रविजी पानीमाथिको ओभानो हुन खोज्दै हुनुहुन्छ। उहाँको गलत चरित्रको ढाकछोपमा प्रधानमन्त्री नै लाग्नुभएको छ। सहकारी ठगको हातमा गृह मन्त्रालय बुझाउँदा उनीमाथि निष्पक्ष छानबिन हुन्छ भनेर कसरी विश्वास गर्ने ?,’ महरको प्रश्न छ ।
संसद्भित्र कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्रीमाथि छानबिन गर्न आवाज उठाएकोमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्न खोज्नुले पनि सरकारको पारदर्शितामा ठुलो प्रश्न चिन्ह खडा भएको महरले बताए।
‘यस्तो अवस्थामा कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर हामीले साझा धारणा बनाउनुपर्छ भन्ने मेरो माग हो। बैठकले के कस्ता एजेन्डा ल्याउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा साझा रणनीति तय गर्नुपर्छ,’ उनले भने। जनतासामु कांग्रेसले आफ्ना एजेन्डा कसरी प्रस्ट पार्ने भन्नेमा नै अहिले अन्यौलता देखिएको उनले बताए।
यस्तो अवस्थामा केन्द्रीय समिति बैठक बस्न नसक्नु दुखद भएको महरको भनाइ छ। १४ औँ महाधिवेशनपछि पार्टीका पाँच जना पदाधिकारी पाँचतर्फ फर्किएको बताए । पदाधिकारीका नाममा आजसम्म भएका भूमिका र गतिविधि खासै प्रभावकारी नदेखिएको उनको भनाइ छ ।
‘उहाँहरू पार्टी र सदनमा पनि खरो रूपमा प्रस्तुत हुन नसक्दा आशातीत उपलब्धि भएको छैन। पार्टीका गतिविधिहरूलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गर्ने भूमिका देखाउनु भएको छैन,’ महरले भने।
कांग्रेसले अहिले सत्ताका लागि र्याल काट्न नहुने समेत महरले बताए । उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने भूमिका खेल्नुपर्ने धारणा राखे । पार्टीको घोषणापत्रमा उल्लेख कुरालाई सार्थक बनाउन यतिबेला कांग्रेस केन्द्रित हुनुपर्ने उनले बताए। कांग्रेसलाई २०८४ मा बहुमत ल्याउन कसैले रोक्न नसक्ने महरको धारणा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लू अर्जुनको घरमा तोडफोड गर्नेले पाए जमानत
-
जनार्दन शर्माको निष्कर्ष– ओली सरकार असफल, गम्भीर राजनीतिक संकटको खतरा देखियो !
-
विकासलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या बनाएको छ : मुख्यमन्त्री लामा
-
मस्क अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ?
-
‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ