वायुसेवा निगम र उड्डयन प्राधिकरणका लागि दुई वटा उपसमिति बनाउन माग
काठमाडौँ । नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरूले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सांसदहरूले समितिमा वायुसेवा निगम र प्राधिकरणका विषयमा बारम्बार छलफल हुने तर परिमाण नआउने गरेको भन्दै छुट्टै उपसमिति बनाएर अध्ययन गर्नुपर्ने माग राखेका हुन् ।
उनीहरूले समितिमा लामो समयको अन्तरमा छलफल हुने तर निचोड नआउने भएकाले उपसमितिमार्फत निगम र प्राधिकरणका गतिविधि अध्ययन र छानबिन गरि सुझाव दिन सहज हुने बताए । सांसदहरूले समितिले नेपाल वायुसेवा निगमका कमजोरी सुधार गर्न पर्यटन मन्त्रीलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए ।
राष्ट्रियध्वाजावाहक निगम सधैँ भ्रष्टाचारको अखडा हुन नहुने उनीहरूको भनाई थियो । सांसदहरूले आवश्यकता भन्दा पनि स्वार्थपूर्तिको लागि निगमलाई धराशायी बनाउने काम रोक्न आवश्यकतामा जोड दिए । उनीहरूले राष्ट्रिय ध्वजावाहक निगमलाई थप सुदृढ र पारदर्शी बनाएर हवाई यात्रालाई सहज र सहुलियत दिने बनाउन सुझाव दिए ।
नेपाल वायुसेवा नियमको सेवा भरपर्दा र विश्वसनीय बनाउने गरी निगम नेतृत्वले काम गर्न आवश्यक रहेको सांसदहरूको भनाई छ । बैठकमा सांसदहरूले निगमको ऋण तिर्नको लागि सोल्टी होटलको शेयर बिक्री गर्न र न्युरोडको जग्गा बेच्न कानुनी र नीतिगत रूपमा अप्ठ्यारो नहुने बताए । केही सांसदले भने सोल्टी होटलको शेयर बिक्री र न्युरोडको जग्गा बेचेर रकम हिनामिना गर्ने माध्यम बन्ने गरी काम गर्न नहुने बताए ।
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद उदयशमशेर राणाले समितिले नेपाल एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भइरहेका गतिविधिको विषयमा अध्ययन गर्न छुट्टा छुट्टै उपसमिति बनाउन माग गरे । उहाँले समितिको बैठक लामो समयपछि बस्ने तर सांसदहरू हरेक कुरामा अपडेट हुने अवस्था नहुने बताए ।
समिति बैठकमा बोल्दै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमका अध्यक्षलाई सोल्टी होटलको शेयर बिक्री गर्ने जिम्मा आफूहरूलाई दिन आग्रह गरे । उनले शेयर बिक्री गरेर पैसा निगमलाई दिने बताए ।
सांसद भट्टचनले नेपाल वायुसेवा नियमलाई ३ अर्ब रुपैयाँ बराबरको रकम सोल्टीको शेयर बेच्दा जम्मा हुने जिकिर गरे । उनले निगमले वार्षिक रूपमा ३० करोड घाटा बेहोरिरहेको बताए । उनले सोल्टी होटललाई क्याटिरिङको जिम्मा दिएको भन्दै कुन मापदण्डमा दिएको हो ? भन्दै प्रश्न गरे ।
उनले संस्थापक शेयर बिक्री गर्न मिल्दैन भन्ने अध्यक्षलाई भ्रम परेको हुनसक्ने भन्दै शेयर बेच्ने अधिकार अध्यक्षको भएकाले स्वीकृत दिए बेचेर पैसा दिन तयार रहेको बताए । उनले निगम सुधार समितिले दिएको सुझाव अनुसार सोल्टीको शेयर र न्युरोडको जग्गा बेचेर सिनामंगलमा निगमको नयाँ भवन र जहाज खरिद गर्न आवश्यक रकम समेत पुग्ने दाबी गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सोल्टी होटलको शेयर र जग्गा बेचेर पैसा केही नगरी पैसा सकाएपछि के गर्ने भन्ने थप समस्या आउने बताए । उनले शेयर,जग्गा बेचेर ऋण तिर्ने र निगमलाई सुधार गर्ने कुरा भन्दा पहिला ५० अर्ब घाटामा गएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताए ।
उनले सरकारले नेपालमा नचल्ने चिनियाँ जहाज किन किनेको ? भन्दै छानबिन गर्न आवश्यक रहेको बताए । उनले निगमले पाइलट तयार गर्न नसक्नु दुःखद पक्ष भएको जिकिर गरे ।
नेकपा एमालेकी सचेतक सुनिता बरालले निगमको जहाजको लागि सामान्य पार्टहरू बिग्रँदा पनि उपलब्ध नहुने अवस्थामा निगम पुगेको बताइन् । उनले यस्ता कुराहरूले नेपाल एयरलाइन्स कसरी विश्वासनीय हुन्छ ? भन्दै प्रश्न गरिन् । उनले निकट काट्न खोज्दा कतै टिकट नपाउने तर जहाज खाली उडान भर्ने अवस्था रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने
-
नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिन्छ : सभापति देउवा