शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

हिउँ रहे पो हिमालचुली !

सोमबार, १९ चैत २०८०, १५ : ५२
सोमबार, १९ चैत २०८०

कास्की । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उनले सुनाए। पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ । 

“हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्”, ७० वर्षीय उनले भने, “हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् र ? हिउँबिनाको हिमाल के हिमाल !” पुनले भने झैँ हिउँ छ र पो हिमालहरु छन् । हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन् । 

पर्यटन व्यवसायी जुली पुनका भनाइमा हावापानीमा आएको फेरबदलले घोरेपानी–पुनहिलको पर्यटन क्षेत्रलाई पनि असर पु¥याइरहेको छ । “केही दिनयता तुँवालो मडारिएर हिमाल खुलेको छैन, दोस्रो मुख्य पर्यटकीय याम भएर पनि पर्यटकीय चहलपहल कम छ”, उनले भनिन्, “पहिलेपहिले हिउँ खेल्न पर्यटक आउँथे, पछिल्लो समय हिउँ पनि पर्न छोड्यो, फासफुस परिहाल्यो भने पनि उतिखेरै बिलाउँछ ।”

स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक पुनहिल आउने गरेको जुलीले बताइन् । “विश्वका दस अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनाश्लुलगायत एकैसाथ दर्जनौँ हिमाल यहाँबाट देख्न सकिन्छ, घारेपानी–पुनहिलको पर्यटन नै प्रकृति र हिमालका कारण टिकेको छ”, उनले भनिन्, “हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि पर्छ ।” 

जलवायु विज्ञ डा बिमल रेग्मीले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको बताए । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उनको भनाइ छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड)को अध्ययनले देखाएको डा रेग्मीले बताए ।

“अहिले नै विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा रेग्मीले भने, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले कदम उपयुक्त नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ ।”

उनका अनुसार सन् २०१५ मा भएको पेरिस सम्झौतामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा रेग्मीको भनाइ छ । “कार्बनडाइअक्साइड, मिथेन जस्ता मानवउत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ”, उनले भने, “विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हिमालय क्षेत्रमा परिरहेको छ ।”

हिमालय क्षेत्रको तापक्रम अन्य क्षेत्रको भन्दा पाँच गुणा बढी अर्थात् बर्सेनि ०.००६ प्रतिशतले बढिरहेको डा रेग्मीले बताए ।

डा रेग्मीले हिमालबाट हिउँ हराउँदै गएमा पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्ने बताए । हिमालय क्षेत्र दक्षिण एसियाका झण्डै दुई अर्ब मानिसको पानीको स्रोत रहेको उनको भनाइ छ । “हिमालमा हिउँ नरहे, नदीका स्रोत सुक्छन्, त्यसले तल्लो तटीय क्षेत्रका बासिन्दाको जीविकोपार्जनदेखि खानेपानी, सिँचाइ, कृषि आदिमा भयानक सङ्कट निम्तिन्छ”, डा रेग्मीले भने । 
जलवायुजन्य घटना र हानीनोक्सानीका कारण नेपालको कुल ग्राहस्थ उत्पादनमा वार्षिक दुई दसमलव पाँच प्रतिशतले ह्रास आइरहेको डा रेग्मीले बताए ।

संरक्षणविद् डा घनश्याम गुरुङले पृथ्वीको तापक्रम वृद्धि र धुवाँधूलोका कारण हिमाल पग्लिरहेको बताए । “हिमालहरु यसरी नै पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, उनले भने, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।” पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ उर्जाको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । 

डा गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे ।

नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ उर्जाको प्रयोगलाई बढाउनुपर्ने उनको भनाइ छ । जीविकोपार्जन तथा बसाइसराइँविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दुकुश क्षेत्रकै हिमालहरु सुख्खा बन्दै गएको बताइन् । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पु¥याइरहेको छ”, उनले भनिन्, “जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन ।”

पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभएपनि यसको परिणाम भने भोग्नुपरिरहेको डा महर्जनले बताइन् । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उनले बताइन् ।

उनले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यून मात्र मद्दत आउने गरेको उल्लेख गरिन्। जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताए ।

हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोगकिराले सताउने जस्ता समस्या बढीरहेको उनले बताए । 

    ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीले हिन्दुकुश–हिमालय क्षेत्र विश्वमै पानीको तेस्रो ठूलो स्रोत रहेको बताए । संयोजक गिरीले हरितगृह ग्यासको उत्सर्जनले पर्यावरण चक्रमा गम्भीर असर पु¥याएको बताए ।

वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक एवं जलाधार विज्ञ राजन सुवेदीले नेपालको प्राचिन सभ्यता हिमाल र खोलानालासँग जोडिएको बताए । “पानीको स्रोत नरहे पृथ्वी र प्राणीको अस्तित्व नै सकिन्छ, पृथ्वीलाई सन्तुलित गरेर राख्ने भूमिका पानीले खेलेको हुन्छ”, सुवेदीले भने, “पानीका स्रोत जोगाऔँ, नदीनाला सफा र स्वच्छ राखौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप