बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राजीनामा दिँदैछन् गण्डकीका मुख्यमन्त्री पाण्डे ?

सोमबार, १९ चैत २०८०, १५ : ०७
सोमबार, १९ चैत २०८०

पोखरा । गण्डकी  प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनेबारे छलफल अगाडि बढाएका छन् । उनले राजीनामा दिएर उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पुनः मुख्यमन्त्री बन्नेबारे छलफल अगाडि बढाएका हुन् । 

राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्ने सम्भावनाबारे पाण्डेले निकटस्थहरूसँग छलफल गरिरहेको नेताहरूले बताएका छन् ।  

फागुन २१ गते केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर गण्डकीमा पनि परेको छ । फागुन २२ मा मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्र तर्फका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । 

लगत्तै माओवादीले चैत २३ मा उनलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री पाण्डेले चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर उनी संसद् फेस नगरी राजीनामा दिएर मार्ग प्रशस्त गर्ने योजनामा रहेको स्रोतले बताएको छ । 

राप्रपाले चैत २७ गतेको आन्दोलनअघि कसैलाई पनि समर्थन नगर्ने बताएपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिएर उपधारा (३) अनुसार मुख्यमन्त्री बन्ने दाउमा छन् । 

‘प्रदेश प्रमुखले आह्वान गर्न चाहिने समय बाँकी नै राखेर राजीनामा दिँदा २७ गते अघि समय सकिन्छ । त्यसपछि उपधारा (३) को सरकार बनाउनै पर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘त्यही बुझेर राजीनामा दिन लागेको हुन सक्छ ।’ नयाँ गठबन्धनलाई पनि बहुमत जुटाउन हम्मे परेको छ । राप्रपा विना दुवैपक्षले बहुमत जुटाउन सक्दैनन् । 

गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो दल हो भने २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो तथा २ सिट रहेको राप्रपा चौथो दल हो । हाल स्वतन्त्र बन्न निवेदन दिएको दीपक मनाङे पनि सांसद छन् । यहाँ माओवादीका कृष्ण धिताल सभामुख छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप