स्थानीय तहमा भ्रष्टाचार: रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका अन्तर्गत धेरै उजुरी

बुटवल । रुपन्देही जिल्लामा रहेका १६ स्थानीय तहका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३२६ उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका अनुसार तीमध्ये १५४ उजुरी फर्स्यौट भएका छन् भने १७२ उजुरी छानबिनको क्रममा छन् ।
रुपन्देहीका स्थानीय तहमध्ये मर्चवारी गाउँपालिका अन्तर्गत धेरै उजुरी दर्ता भएको छ । सबैभन्दा कम उजुरी शुद्धोदन गाउँपालिका अन्तर्गत रहेको आयोगको बुटवल कार्यालयले जनाएको छ ।
मर्चवारी गाउँपालिकामा अनियमितता भएको सम्बन्धमा आयोगको कार्यालयमा २६ उजुरी छानबिनको क्रममै छ । शुद्धोदन गाउँपालिका अन्तर्गत एउटा मात्रै उजुरी छानबिनको क्रममा छ ।
मर्चवारी अन्तर्गत ४४ उजुरी परेकोमा १८ वटा फर्स्यौट भइसकेको छ भने बाँकी २६ उजुरी छानबिन क्रममा रहेको आयोगले जनाएको छ । शुद्धोदन गाउँपालिकासँग सम्बन्धित जम्मा ३ वटा उजुरी परेकोमा २ वटा फर्स्यौट भइसकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोग बुटवलका उपसचिव एवं सूचना अधिकारी ईश्वरी प्रसाद आचार्यका अनुसार बुटवल उपमहानगरपालिका विरुद्ध परेका २३ वटा उजुरी छानबिनको क्रममा छन् ।
तिलोत्तमा नगरपालिका अन्तर्गत १४ वटा, सैनामैना नगरपालिका अन्तर्गत ३ वटा, देवदह नगरपालिका अन्तर्गत ७ वटा उजुरी छानबिनको क्रममा रहेको आयोगले जनाएको छ ।
यस्तै, सिद्धार्थ नगरपालिका अन्तर्गत ९, लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गत १९ वटा उजुरी छानबिनको क्रममा छन् ।
यस्तै कन्चन गाउँपालिका अन्तर्गत २, कोटहीमाई गाउँपालिका अन्तर्गत १३, सम्मरीमाई गाउँपालिका अन्तर्गत १२, रोहणी गाउँपालिका अन्तर्गत ७, गौडहवा गाउँपालिका अन्तर्गत १६, मायादेवी गाउँपालिका अन्तर्गत १० र ओमसतिया अन्तर्गत ७, सियारी गाउँपालिका अन्तर्गत ३ उजुरी छानबिनकै क्रममा छन् ।
सूचना अधिकारी आचार्यले स्थानीय तहले निर्माण गरेको सडक, विद्यालय, विभिन्न समान खरिद, कर्मचारी भर्ना, नदीजन्य पदार्थ उत्खनन आदिको विषयमा केन्द्रित भएर विभिन्न माध्यमबाट उजुरी आएको रातोपाटीलाई बताए ।
उनले उजुरी जुनसुकै माध्यमबाट आए पनि तथ्य र प्रमाणको आधारमा छानबिन प्रक्रिया अगाडि बढाउने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको कार्य क्षेत्रभित्र रहेका ८ जिल्लाका ७७ वटा स्थानीय तहमा एक हजार १४१ उजुरी परेका छन् । त्यसमध्ये ४९६ उजुरी फर्स्यौट भएका छन् भने ६४५ उजुरी अनुसन्धानको प्रक्रियामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित