बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

मधेसमा ५० जना अट्ने कोठामा २०० विद्यार्थी राखियो : प्रभु साह

आइतबार, १८ चैत २०८०, २३ : ००
आइतबार, १८ चैत २०८०

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले तराई मधेसका विद्यालयहरूमा कोचाकोच गरेर विद्यार्थी राखेर पढाउने काम भएको बताएका छन् । ५० जना अट्ने विद्यालयको कोठामा २०० जनासम्म राख्ने काम भएको उनको भनाइ छ । 

‘एउटा मोटरसाइकलमा तीन जना हिँड्यो भने ट्राफिकले चिट काट्छ । किनकि २ जना बस्नेमा तीन जना बसेको भनेर बसाउनेले दण्ड तिर्नुपर्छ’, प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘तर ५० जना विद्यार्थी बस्ने कोठामा २/२ सय विद्यार्थी बस्दा त्यसमा चिट काट्नुपर्छ कि पर्दैन ? त्यो गल्ती गर्नेलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’ 

आज तराई मधेसका स्कुलहरूका एउटा कक्षाकोठामा २/२ सय जना विद्यार्थी कोचिएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । यस्तै शिक्षक दरबन्दी वितरण हेर्ने हो भने पनि हृदय विदारक अवस्था रहेको उनले बताए । 

बागमती प्रदेशमा १८ विद्यार्थी बराबर एउटा शिक्षकको दरबन्दी रहेकोमा मधेसमा भने ७१ विद्यार्थी बराबर एक शिक्षक रहेको साहले बताए । रौतहटकै कुरा गर्ने हो भने ८० विद्यार्थी बराबर एक जना शिक्षक रहेको उनको भनाइ छ । तर, काठमाडौँमा १३ विद्यार्थी बराबर एउटा शिक्षक रहेको उनले संसदमा बताए । शिक्षा क्षेत्रमा मधेसलाई यसरी विभेद भएको उल्लेख गर्दै साहले भने, ‘साम्प्रदायिक ढङ्गले विभेद भइरहेको छ, यसको जवाफ कसले दिन्छ ?’ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको उल्लेख गर्दै साहले यो दरबन्दीमा धाँधली मात्रै नभएर साम्प्रदायिक ढङ्गले विभेद र एकखालको अपराध नै राज्यबाट भइरहेको बताए । 

यस्ता कार्यले गुणस्तरीय शिक्षामा नै चुनौती बढेको उनको भनाइ छ । यस्ता प्रवृत्तिलाई सच्याउन सभामुखबाट रुलिङको अपेक्षा गरेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप