बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय लगानीकर्तालाई आकर्षित गर्न दिल्लीमा एक दिने ‘पावर समिट’

अदानी ग्रुपसहित भारतका दुई दर्जनभन्दा बढी जलविद्युत उद्यमी सहभागी हुने
आइतबार, १८ चैत २०८०, १३ : २५
आइतबार, १८ चैत २०८०

काठमाडौँ । लगानी सम्मेलनको पूर्वसन्ध्या भारतीय लगानीकर्तालाई आकर्षित गर्न भारतस्थित नेपाली दूतावासले ‘पावर समिट, २०२४’ आयोजना गर्ने भएको छ । यही वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा भारतीय लगानीकर्ता आकर्षित गर्ने लक्ष्यसहित नयाँ दिल्लीमा एक दिने सम्मेलन आयोजना हुने भएको हो ।

नेपाली दूतावासको आयोजनामा हुने सो सम्मेलनमा नेपालसहित भारतका दुई दर्जनभन्दा बढी जलविद्युत उद्यमी सहभागी हुनेछन् । यही चैत २९ गते हुने सम्मेलनमा सहभागीताका लागि नेपालबाट स्वतन्त्र जलविद्युत उत्पादकहरूको संस्था (इप्पान)को टोली नै दिल्ली जाँदैछ ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार सम्मेलनबाट भारतीय लगानीकर्तालाई नेपालको जलविद्युतको सम्भावनाबारे जानकारी दिइनेछ । यसका लागि कार्कीकै नेतृत्वमा एक दर्जन ऊर्जा उद्यमी भारत प्रस्थान गर्दैछन् । र, उनीहरूले व्यक्तिगत रूपमा पनि भारतका ऊर्जा लगानीकर्ता र संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने प्रयत्न गर्नेछन् ।

दूतावासले भारतको ‘इन्डिया फेडेरेसन अफ ग्रीन इनर्जी’ सँगको सहकार्यमा यो सम्मेलन गर्नेछ । सम्मेलनमा सो फेडेरेसनका प्रतिनिधिहरूको समेत उपस्थिति हुनेछ । उत्तर भारत हाइड्रोपावर, केयर रेटिङ लिमिटेड, अदानी ग्रुप, लगानी बोर्ड नेपाल, इप्पान, नेपालका राजदूत, नेपाल र भारतका ऊर्जा सचिवको समेत सहभागिता रहनेछ ।

नेपालमा भारतीय लगानीको धेरै आयोजनाहरू निर्माणाधीन चरणमा छन् । भारतीय लगानीसहितको अरुण तेस्रो जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा धेरै छ । यस्तै पश्चिम सेती अरुण चौथो लगायतका आयोजनामा समेत भारतीय लगानीकर्ता छन् । यसबाहेक, कयौँ आयोजनामा भारतीय लगानी छ ।

यसबाहेक नेपालमा उत्पादित बिजुलीको प्रमुख बजार समेत भारत हो । चालू आर्थिक वर्षको सुख्खायाममा नेपालबाट भारततर्फ साढे ६०० मेगावाट बिजुली निर्यात भएको थियो । जसबाट नेपाल विद्युत् प्राधिकरणले सुख्खायामको अवधिमा साढे १५ अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको थियो ।

यसबाहेक नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातको सम्झौता सम्पन्न भइसकेको छ । यससँगै आगामी आर्थिक वर्षदेखि नेपालबाट निर्बाध रूपमा खपतबाट बढी हुने बिजुली निर्यात हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप