शुक्रबार मात्रै डुबेर तीन जनाको मृत्यु
काठमाडौँ । शुक्रबारका दिन देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । इलामको माई नगरपालिका-२ स्थित माईखोलामा डुबेर झापा कनकाई नगरपालिका-१ जामुनखाडी बस्ने २१ वर्षीय मुकेश ढकालको शुक्रबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यता सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ सुंगुरे खोला नजिकै रहेको हिउदमा सिचाईको लागि पानी जम्मा गर्ने प्रयोजनार्थ खनिएको खाल्टोमा डुबेर सोही ठाउँ बस्ने चन्द्र बहादुर श्रेष्ठकी छोरी १३ वर्षीया महना श्रेष्ठको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी गुल्मीको मुसिकोट नगरपालिका-४ आरूपाटा बस्ने २१ वर्षीय सन्दिप कुमालको सोही नगरपालिका-४ स्थित बडिगार्ड खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको लुम्बिनी प्रभास हस्पिटल वामिटक्सार गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।