प्रतिगामीहरूको स्वर्ग अतीतमा, लोकतन्त्रवादीको स्वर्ग भविष्यमा हुन्छ : राष्ट्रपति

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीहरूको स्वर्ग अतीतमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने बताएका छन् । राष्ट्रपति पौडेलले तनहुँको देवघाट गाउँपालिकाको पवित्र धार्मिक स्थल देवघाटमा निर्माण गरिने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरूको स्वर्ग अतीतमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीहरूको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौँ,’ उनले भने ।
उनले विदेश पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि अनुचित भएको बताउँदै थपे, ‘ हाम्रो देश पृथ्वीमै स्वर्ग छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ ।’
उनले गठबन्धन जो जता भए पनि विकासमा हामी एक हुनुपर्छ भनेर राजनीतिक दलका नेताहरूलाई आफूले भन्ने गरेको स्मरण गराए ।
तनहुँको गाईघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उनले पञ्चायतका कठिन दिनहरूमा आफूहरू त्यहाँ सङ्गठन गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने गरेको स्मरण गर्दै लोकतन्त्र पछि त्यस क्षेत्रले काँचुली फेरेको बताए । गाईघाट माथिको एउटा वडामा मात्रै पनि करोडौँको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पुर्याउन त्यहाँ पुलको आवश्यकता रहेको जिकिर गर्दै त्यहाँ पुल बने व्यापारी किसानकै घरमै पुगेर उत्पादन लैजान सक्ने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सो ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागेको हो । त्यसको लागत करिब १५ करोड रुपैयाँ रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयुको अदालतमा उपप्रमुख डङ्गोल
-
उपप्रधानमन्त्री सिंहद्वारा लोहन्द्र पुल उद्घाटन
-
एमालेले बिन्दा र उषाकिरणलाई निलम्बनको निर्णय गर्यो, तर पत्र दिएन
-
सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?
-
उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा : बाबुराम भट्टराई
-
‘विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर फर्किँदैनौँ’