सुवास नेम्वाङको विरासत बोक्न मैदानमा आएका छौँ : रवि लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन् । शनिवार इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे ।
उनले सुवास नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्मानका लागि इलाममा उम्मेदवारी उठाएको भन्दै नेम्वाङको विरासत रास्वपाले धान्ने उल्लेख गरे । परिवारका सदस्यले मात्र विरासत नधान्ने बताउँदै उनले भने– ‘राजनीतिमा त राजनीति नै चल्छ, परिवारमा दसैं तिहारमा टिका लगाउने काम त भइनै हाल्छ, राजनीतिमा राजनीति नै हुनुपर्छ, यो हामीलाई सुवास नेम्वाङले सिकाउनुभएको कुरा हो । सम्मानपूर्वक प्रतिस्पर्धा गर्ने आँट र अठोटका साथ हामी मैदानमा आएका छौँ ।’
उनले विपक्षीको आलोचना गरेर आफ्नो उचाई बढ्छ भन्नेमा आफूलाई विश्वास नभएको बताए । उनले सडकको समस्या रहेको, किसानले आफ्ना कृषि उपज फाल्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई हटाउन आवश्यक रहेकोले नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।
लामिछानेले एक अर्कासँग लड्ने नभई इलाममा जनता जित्नका लागि लड्न आएको दावी गरे । अहिलेसम्म नेताले चुनाव जितेपनि इलामले चुनाव नजितेको बताउँदै अब इलामलाई जिताउन आग्रह गरे । चुनावका बेला बाटोको चर्चा चल्ने, किसानका चर्चा हुने तर चुनाव जितेपछि त्यसलाई बिर्सने अवस्था रहेकोले त्यसलाई निरन्तरता दिने कि परिवर्तन गर्ने सोच्ने बेला आएको उल्लेख गरे ।
उनले पहिचान र समावेशीका बारेमा बोल्दै पार्टीबाट इन्दिरा राना उपसभामुख, पार्टीको प्रमुख सचेतक सन्तोष परियार, पार्टीको सचेतक कान्छी सांसद रहेको र पार्टीको उपनेता विराजभक्त श्रेष्ठ रहेको बताउँदै चौथो ठूलो दल निकै समावेशी र पहिचानयुक्त रहेको उल्लेख गरे ।
उनले अब नयाँ पार्टी रोज्नुपर्ने बताउँदै कुनै पार्टीमा भएपनि आफ्नो दल नछोडी मत परिवर्तन गर्न सक्ने पनि उल्लेख गरे । जसले देशलाई हरितन्नम बनाए तिनै दललाई भोट नदिन उनले आग्रह गरे । लामिछानेले एकपटक आफ्नो पार्टीलाई विश्वास गर्न आग्रह गर्दै आफ्नो दलले काम नगरे अर्कोपटक घण्टी निषेधित क्षेत्र घोषणा गर्न समेत आग्रह गरे ।
सरकारमा गएको पहिलो हप्तामै उल्लेख्य काम गरेर देखाएको बताउँदै उनले पहिलो हप्तामै चौका छक्का हान्न थालिसकेको उल्लेख गरे । उनले भने– ‘यहाँ केही पनि हुँदैन भन्ने अवस्थामा केही हुनसक्छ है भन्ने संकेत हामीले दिएका छौँ । अब पालो इलाममा पनि आउँछ । गर्न सकिन्छ भनेर यहाँबाट पनि देखाउँनेछौँ ।’
अब चितवन र तनहुँमा जस्तै इलाममा पनि घण्टीको लहर आउने विश्वासका साथ चुनावी मैदानमा आएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद