बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

एसडी मुनीहरूको रोदनभित्रको कुदृष्टि

आइतबार, ०९ वैशाख २०७५, ११ : २१
आइतबार, ०९ वैशाख २०७५

नेपाल भारत सम्बन्धमा नयाँ आयामको सुरुवात

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले भारतमा निकै ठूलो चर्चा परिचर्चा पायो  । सम्भवतः नेपालका प्रधानमन्त्रीको  भारत भ्रमणको यति ठूलो चर्चा भारतमा  यसभन्दा पहिले कहिल्यै भएको थिएन । ओलीको पहिलो कार्यकालको भ्रमणको बेला नेपाल भारत सम्बन्ध असहज स्थितिमा थियो तर पनि यस तहको चासो, चर्चा र महत्व भारतीय सञ्चार जगतले दिएको देखिएको थिएन । यस पटकको भ्रमणलाई भारतीय मूलधारका सञ्चारमाध्यमले निकै महत्वका साथ ओलीलाई पछ्याए । प्रधानमन्त्री ओलीको राष्ट्रवादी व्यक्तित्व, प्रचण्ड जनसमर्थन प्राप्त स्थायी सरकारका शक्तिशाली राजनेता, नेपालमा बढ्दो चीन प्रभाव र ह्रासोन्मुख भारत प्रभाव, स्पष्ट, ओजनदार र दुरगामी प्रभाव दिने अभिव्यक्ति नै ओलीलाई दिइएको महत्वको मूल कारण हुन् ।

ओलीले नेपालको हित र सरोकारहरूलाई खुलस्त ढङ्गले प्रस्तुत गरे । ओलीले निजी आग्रह वा स्वार्थबाट मुक्त नेपालको हितप्रति केन्द्रीय भएको प्रमाणित गरेर देखाए । नेपालको अहितमा कुनै पनि काम नगर्ने आफ्नो बाचालाई सिद्ध गरे । बोली र व्यवहारबाट आफूलाई  स्थापित गर्ने नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा आफ्नो स्थान बनाउन सफल भए । नेपालमाथि दबाबको सम्बन्ध बनाउँदै आएको भारतीय पक्ष रक्षात्मक देखियो ।

नेपालको आन्तरिक मामलामा भारतले कुनै पनि चासो र ध्यान दिएको देखा परेन । विगतको भारतीय रवैयालाई उसले आफैले सच्याएको सन्देश दिने गरी व्यवहार गरेको देखियो । अन्तर्राष्ट्रिय सम्बन्धका आधुनिक सिद्धान्त बमोजिम नै नेपालसँग व्यवहार गर्ने झल्को देखा पर्यो । उच्च राजनीतिक तहबाट निर्धारित हुनुपर्ने दुई छिमेकीको सम्बन्ध खुफियातन्त्र, कूटनीतिक क्षेत्र, सैन्यशक्तिबाट निर्देशत हँुदै आएको थियो ।

अबदेखि उच्च राजनीतिक तहको गहन विमर्शबाट दुई छिमेकीको  सम्बन्ध अगाडि बढाउन उपयुक्त वातावरण बनेको संयुक्त पत्राकार सम्मेलनमा अभिव्यक्त भएको छ । नेपाल भारतको सम्बन्धको समग्र मूल्याङ्कान गर्ने हो भने यसले नेपाल भारतको सम्बन्धमा नयाँ आयाम लिएको मान्नु पर्छ । अब नेपाल भारतको सम्बन्धले दलालीको तहबाट सार्वभौमिक समानताको तहमा फड्को मारेको छ । ओलीले नेपालको राष्ट्रिय स्वाभिमानलाई उँचो बनाएका छन् र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभिभारा पूरा गर्न भारतीय संस्थापनको हार्दिक प्रतिबद्धता प्राप्त गर्न सफल भएका छन् ।

सिङ्गै नेपाल र नेपाली भावना र हितको  वास्तविक प्रतिनिधित्व भएको महसुस गराएका छन् एकातिर भने अर्काेतिर रक्सौल काठमाडांै रेलमार्ग निर्माण, कृषिको आधुनिकीकरणमा भारतीय पक्षको उल्लेख्य सहयोगको प्रतिबद्धता र जलमार्गमार्फत सगरमाथा र हिन्द महासागर जोड्ने सहमतिले नेपालीको सपना पूरा गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । ओली बोलेर हिँड्ने मात्रै होइनन् गरेर देखाउन भित्रैबाट उद्वेलित राजनेता हुन् भन्ने विशेष स्थान बनाउन सफल भएका छन् ।

नाफाको जिन्दगी राष्ट्रहितका लागि समर्पित गर्ने ओलीको अभिव्यक्ति उनको अन्तरमनको वास्तविक आवाज रहेछ भन्ने अनुभूति दिलाउने गरी ओली आफ्नो उद्देश्य प्राप्तिको मार्गमा निर्भिकता र आत्मविश्वासका साथ अघि बढेको प्रमाणित गरेको छन्, भारत भ्रमणबाट ।
 
एसडी मुनीहरूको रोदनभित्रको कुदृष्टि
 
नेपाल विज्ञका रूपमा प्रचारित भारतीय विद्वान प्रा. एसडी मुनीले ओली भारत भ्रमणबाट नेपाल फर्किसकेपछि आफनो लेखमार्फत केही धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरे । सन् १९६२ मा भएको चीन भारत युद्धको बेलामा गएको भारतीयहरूको सातो अहिलेसम्म फर्किनसकेको अनुमूति हुने गरी एसडी मुनीले आफ्ना अभिव्यक्ति दिए । उनले मुख्यतः चीन नेपालमा प्रवेश गरेको नकि नेपाल चीनतर्फ फर्केको, नेपालले चीनियाँ कार्डको प्रयोग गरेको, सार्क मुद्दा पाकिस्तानको  भएकाले त्यसलाई  नेपालले बोक्न नहुने, नेपाल चीनतिर लहसियो भने भारतले नेपालमा मधेस मुद्दा उठाएर समस्या खडा गर्ने र त्यसबेला नेपालले न चीनको सहयोग लिन सक्ने न भारतको, नेपाल न यता न उता भई अलपत्र पर्ने भन्ने विश्लेषण अघि सारेरको देखियो । भारतले नाकाबन्दी गरेको समयमा उक्त नाकाबन्दी गलत थियो भनी नेपालप्रति नरमभाव राखेर नेपालीको मनमा अलिकति ठाउँ बनाएका एसडी मुनीहरू यस पटक किन यसरी बर्बराए ?

अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता रहेका मुनीले बुझ्नुपर्ने कुरा के हो भने नेपाल आफ्नो हित रक्षाका लागि परराष्ट्र सम्बन्ध अघि बढाउन चाहान्छ ।  दुवै छिमेकी र अन्य राष्ट्रसँग समधुर सम्बन्ध राख्न चाहन्छ । नेपाल कसैको विरुद्धमा छैन । न नेपाल चीनसँग गएको छ, नत भारतसँग । चीन नेपालभित्र परेको पनि छैन र नेपालको चीनलाई कुनै आमन्त्रण पनि छैन आफ्नो देश भित्र । चीन र भारत दुवैको सहयोग, सद्भाव र सम्मान नेपालले मागेको मित्रवत सम्बन्धको चुरो चीज  हो । सार्कको विषय पाकिस्तानको लागि होइन, सार्क वडापत्र, सार्क स्थापनाको उद्देश्यको कडीलाई आत्मसात गरेर दक्षिण एसियाली राष्ट्रको हित, परस्पर सहयोग, सद्भाव, सम्मानको अभिवृद्धि गर्नका लागि उठाइएको विषय हो । सार्कको माध्यमबाट विश्व शान्तिको आवाजलाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो अन्तर्राष्ट्रिय व्यक्तित्व बनाउने इच्छा नेपालले राख्न नपाउने ? नेपाल जब भारतविरुद्धमा कुनै काम नगरी आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै समृद्धिको यात्रामा अघि बढ्न चाहान्छ भने मधेशमुद्दा उठाएर नेपालमा अशान्ति मच्चाउने यो कस्तो मित्रता हो मुनीजीको ? नेपाल र नेपाली आफ्ना विवेकले आत्मनिर्भर राष्ट्र बनाउन अघि बढ्छौं भन्दा मुनीहरूलाई केको आपत्ति ? विद्वानहरूको जन्मभूमि अवश्य हुन्छ तर पक्षधरताका लागि उनीहरूको कुनै देश हँुदैन । विद्वान भूगोलको सीमाभित्र सीमित हुनु दुखदायी विषय हो । उनीहले दुनियाँलाई सही दिशा दिखाउनु पर्दछ तर मुनीहरू प्रमाणपत्रधारी विद्वान देखा परे । चिन्तनमा दरिद्रता प्रकट भयो ।

यसको पछाडिको मूल कारण के हो भने नेपाल मामलामा भारतीय राजनीतिक संस्थापन कूटनीतिक बुद्धिजीवी, खुफियातन्त्र र सैन्यबलबाट प्रभावित हँुदै आएको विगतलाई ओलीले परिवर्तन गरी दिएका छन् । उच्च राजनीतिक संवादबाटै दुवै देशको सम्बन्ध अघिबढ्ने स्थिति हुँदा मुनीहरूले आफ्नो वर्चश्व समाप्त भएको महसुुस गरेका हुन सक्छन् । नेपालमाथि दबाबको सम्बन्ध कायमै राख्न चहाने मुनीहरू नेपालभित्र केही आफ्ना प्रतिछायालाई परिचालित गरेर आफ्नो प्रभाव छोड्दै आएका थिए ।

अबदेखि नेपाल भारत सम्बन्ध सार्वभौमिक समानताको मान्यताबाट सञ्चालित हुने स्थिति निर्माण हुनु नेपालका लागि अति नै सुखद् पक्ष हो । मुनीरूका कुदृष्टिबाट मोदीहरू प्रभावित नहुने हो भने नेपाल भारत सम्बन्धले अवश्य नयाँ आयाम लिने परिस्थिति निर्माण भएको छ । ओलीले आफ्नो भ्रमण मार्फत भारतभित्र बहुआयामिक हलचल पैदा गराइदिएको भने विवाद छैन । यति ठूलो कम्पन सायद कुनै नेपाली प्रधानमन्त्रीले यसअघि सिर्जना गरेका थिए ।
 
बोआओ फोरम र भारत भ्रमण : केही भ्रम, केही आग्रह
 
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे नेपालभित्र र बाहिर पहिलो भ्रमण भारतबाट किन ? र अर्काे एक वर्षभित्रै नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमण किन ? भन्ने प्रश्न उठेका थिए । यी दुवै प्रश्नको सार एउटै छ, नेपाल भारतसँग अनावश्यक रूपमा नझुकोस् । नेपालका प्रधानमन्त्रीले भारतीय शासकका अगाडि चाकडी गरेजस्तो नदेखियोस् । दुवै देशका बीचमा आवश्यक संवाद, छलफल, सहयोग आदान प्रदान, भेटघाट, वार्ता, सहमति हुन आवश्यक छ । तर नेपालमा जो प्रधानमन्त्री हुन्छ, उसले सबैभन्दा पहिले भारतमा गएर दाम चढाएर आशिर्वाद लिएको जस्तो नदेखियोस् । यो आम राष्ट्रवादी, स्वाभिमानी नागरिकको सकारात्मक भावना हो । यही मूल भावबाट ओलीको भारत भ्रमणबारे केही आलोचानाहरू सार्वजनिक भएका थिए ।

आलोचना गर्नेहको एक पक्षले प्रधानमन्त्री ओलीले बोआओे फोरमलाई बेवास्ता गरेर भारत भ्रमण गर्नु उचित थिएन । बोआओ फोरममा भाग लिएर भारत भ्रमण गरेको भए उचित हुन्थ्यो  भन्ने रहेको छ । एक कोणबाट हेर्दा उक्त तर्क सहीजस्तो पनि देखिन्छ । किनकि बोआओ फोरम चीनको पहलकदमीमा सन् २००१ देखि मात्रै स्थापना भएको भए पनि विश्वभरीका उच्च पदस्त राजनेताहरू, विद्वानहरू, उद्योगी व्यवसायी तथा बहुराष्ट्रिय ब्रान्डेड कम्पनीहरूको सहभागिता रहेको छ र कतिपय देशका पूर्वराष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री तथा प्रतिष्ठित कम्पनीमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरू कार्यकारी बोर्डका सक्रिय सदस्य रहेकाले यस फोरमको राजनीतिक तथा आर्थिक महत्व अवश्य छ । यस महत्वलाई बुझेर हुनुपर्दछ, नेपालबाट हालसम्म कीर्तिनिधि विष्ट, पूर्वराष्ट्रपति रामवरण यादव, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरी सक्नुभएको छ । उक्त फोरममा विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूलाई अवस्था हेरी महत्व दिने परम्परा रहेको पाइन्छ । प्रधानमन्त्रीकै रूपमा सन् २०१६ मार्च २४, हाइनान राज्यमा आयोजित बोआओ फोरमको उद्घाटन शत्रलाई ओलीले सम्बोधान गरेका थिए । जुन समयमा ओली चीनको औपचारिक भ्रमणको क्रममा थिए र त्यही समयमा बोआओ फोरमको सम्मेलनको तिथि जुरेको थियो । यस पटक बोआओ फोरमको परम्पराका दृष्टिले हुन सक्छ, नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा नै गरिएको थिएन ।

यस परिस्थितिमा भारतको सेखी झार्न वा केही उग्रराष्ट्रवादीहरूका बीच हाईहाई हुनका लागि भारत भ्रमण नगर्नु राष्ट्रिय हित रक्षाका दृष्टिले पनि उचित हँुदैनथ्यो । किनकि देश बनाउने हो भने देखावटी, नक्कली र प्रचारमुखी काम गरेर हँुदैन । राष्ट्रिय हित रक्षाका लागि दूरगामी र गहन कदम चाल्नु पर्छ र ती कदमहरू सोच विचार गरी चाल्नुपर्छ । यदि ओलीले कसैगरी बोआओ फोरममा उपस्थिति जनाएका भए भारत र चीनको औपचारिक भ्रमणको तिथिमितिमा ठूलो असन्तुलन पैदा हुन्थ्यो । निकट भविष्यमै हुनसक्ने चीन भ्रमण गर्दा पटक पटक चीनको भ्रमण गरेकोमा अनावश्यक आलोचना सुन्नुपर्ने परिस्थिति हुन्थ्यो भने चीनको भ्रमण नै नगर्दा चीनसँग गर्नुपर्ने नेपालका दूरगामी महत्वका विषयहरू गम्भीर रूपमा प्रभावित हुने थिए । भ्रमण कुन देशबाट गरियो भन्ने भावनात्मक कुरा मात्रै हो ।

चुरो कुरा भनेको भ्रमणमा गरिएका विषयले राष्ट्रिय हितको प्रतिनिधित्व गरेको छ कि छैन ? यो महत्वपूर्ण विषय हो । भारत भ्रमणमा राष्ट्रिय हितका विपक्षमा कुनै पनि काम भएका छैनन् । तसर्थ वास्तविकताको धरातलमा उभिएर सबैखाले भ्रम, आग्रह र अविश्वासबाट मुक्त भएर आत्मस्वाभिमानको रक्षा गर्दै नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व निर्माणमा ओलीको अगुवाइमा भएका दूरगामी कदमलाई सफल पार्नुपर्छ ।
 
आगामी कदम, देशको भविष्य

नेपाल चीन र भारतजस्ता शक्ति राष्ट्रका बीचमा रहनु आफैमा ठूलो अवसर हो । दुवै छिमेकीसँग समधुर सम्बन्ध राख्न सक्दा नेपाललाई अवसरै अवसरको वर्षा हुने प्रबल सम्भावना छ । दुवै छिमेकीले असल, स्पष्ट र वचनमा पक्का राजनेता नेपालभित्र खोजिरहेका छन् । नेपालीको एकतप्कामा विदेशी राष्ट्रप्रति नकारात्मक भाव पाल्नु नै पक्का राष्ट्रवादी हुनु हो भन्ने भ्रान्त धारणा जबरजस्त रूपमा गाडिएको देखिन्छ । नेपालका सच्चा राष्ट्रवादीहरू  के  कुरामा स्पष्ट हुन आवश्यक छ भने कुनै पनि विदेशी राज्य वा राष्ट्र नेपालविरुद्धमा षड्यन्त्र, जालझेल वा नेपाल विरोधी काम मात्रै गरिरहेका छैनन् ।

उनीहरूले आफ्नो राष्टको हित हेर्छन् । तर ती देश नेपाल विरोधी हैनन् । नेपालले आफ्नो हितका पक्षहरूलाई तय गर्नुपर्छ र ती हितको रक्षाका लागि नियमित इमानदारीताका साथ काम गर्नुपर्छ । नेपालले दुवै छिमेकीसँग कुनै पनि युद्ध वा लडाइँ गर्नु छैन । सहयोग लिने र दिने, मित्रतालाई गहिरो बनाउने काम गर्नुपर्छ । नेपाल परनिर्भताको अवस्थामा छ, आवश्यकता आत्मनिर्भर राष्ट्र बनाउनुपर्ने छ र विश्व परिस्थिति अन्तरनिर्भतामा आधारित छ । यस परिस्थितिलाई बुझेर विशेष गरी छिमेकी चीनसँग गहिरो विश्वासको सम्बन्ध बनाउनु अति नै आवश्यक छ । किनकि चीनले स्थायी र भरोसायोग्य छिमेकी खोजिरहेको छ ।

यसो हुन सके भारतसँगको सम्बन्ध आवश्यकताको सिद्धान्तको आधारमा अझ दर्बिलो हुन सक्छ । दुवै शक्तिशाली छिमेकीको असल मित्र बन्न सक्ने युगीन अवसर नेपाललाई प्राप्त भएको छ । ओलीले यस महत्वपूर्ण अवसरलाई खेर नफाली युगिन राष्ट्रिय अभिभारा पूरा गर्नुपर्छ । ओलीका दूरगामी कदमले मात्रै देशको भविष्य सुरक्षित हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कर्णबहादुर थापा
कर्णबहादुर थापा

थापा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन्

लेखकबाट थप