मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै
![मेची राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण गरिँदै](https://npcdn.ratopati.com/media/news/road_xw5p4wE7yU.jpg)
ताप्लेजुङ । ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो ।
मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङबजार सुकेटार खण्डमा स्तरवृद्धि गर्न सडकको सर्वेक्षण (नापजाँच) गरिएको छ । सडक डिभिजन इलामले राजमार्ग स्तरवृद्धि गर्ने योजनास्वरुप फुङ्लिङ–सुकेटार खण्डको सडक सर्वेक्षण गरेको हो ।
सडक डिभिजनका सर्वेक्षक दीपक आचार्यका अनुसार फुङ्लिङबजारको हेलिप्याडदेखि सुकेटारसम्म करिब १० किलोमिटर सडक सर्वेक्षण गरिएको छ । हेलिप्याड बजार प्रवेशद्वारदेखि गत बुधबार सुरु गरिएको सर्वेक्षणको काम सोमबार सम्पन्न भएको सर्वेक्षक आचार्यले जानकारी दिए ।
राजमार्ग स्तरवृद्धि गर्ने तत्कालका लागि बजेट नभए पनि सडक डिभिजनले योजना बनाएको उनले बताए। सडक डिभिजनको योजनाअनुसार सर्वेक्षणको काम भएको र सर्वेक्षणको अन्तिम प्रतिवेदन तयार भएपछि राजमार्ग स्तरवृद्धि योजना तथा बजेटका लागि प्रक्रिया अघि बढ्ने उनले बताए । राजमार्ग स्तरवृद्धि तत्काल गराउने गरी फुङ्लिङ नगरपालिकाले पनि पहल गरिरहेको उनको भनाइ छ ।
राजमार्ग स्तरवृद्धि गर्ने योजनाअनुसार नै फुङ्लिङ बजारभित्र सडक मापदण्ड विपरीतका संरचना यसअघि नै भत्काइएका छन् । सडक डिभिजन कार्यालयले नगरपालिकाको सहयोगमा सडक क्षेत्राधिकारभित्र निर्माण गरिएका घर, टहरालगायत संरचना भत्काइएका हुन् । सडकको दायाँबायाँ १५–१५ गरेर ३० मिटर कायम हुने गरी सडक मापदण्डभित्र बनाइएका संरचना हटाइने सडक डिभिजन कार्यालयको योजना थियो ।
सडक डिभिजनको उक्त योजना भए पनि फुङ्लिङ नगरपालिकाको समन्वयमा तत्कालका लागि सडकको दायाँबायाँ साढे सात मिटरका दरले १५ मिटर कायम हुने गरी मापदण्डभित्र निर्माण भएका संरचना हटाइएका छन् । सडक फराकिलो बनाउने गरी संरचना हटाइएपछि चाँडै राजमार्ग स्तरवृद्धि तथा स्तरोन्नतिको काम थाल्नुपर्ने स्थानीयले आवाज उठाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
फेरि बढ्यो अमेरिकी डलर भाउ, विदेशी मुद्रा कसको मूल्य कति ?
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च