आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

खड्का ल्यान्ड डेभलपमेन्टमा आफू नरहेको सांसद खड्काको दाबी

सोमबार, १२ चैत २०८०, १७ : २८
सोमबार, १२ चैत २०८०

काठमाडौँ । पूर्व राज्यमन्त्री एवम् नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफू विगत दुई वर्षयता देखि खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिमा नरहेको दाबी गरेका छन् ।  रातोपाटी डटकममा उनी सम्बद्ध रहेको खड्का ल्यान्डले नेपाल स्काउटलाई बुझाउनुपर्ने ६ करोड ३० लाख रुपैयाँ नबुझाएको समाचार प्रकाशित गरेपछि उनले उक्त कम्पनीमा आफू नरहेका दाबी गरेका हुन् । 

खड्काले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म दीपक खड्काले विस २०७८ सालमा मेरो नाममा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको सम्पूर्ण शेयर विक्रि वितरण गरी हक हस्तान्तरण गरिसकेको छु । हाल मसँग खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको आर्थिक तथा भौतिक सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छु ।’ उनले खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि र नेपाल स्काउटबिच भएको सम्झौताको विषयमा अहिले सम्मानित सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको बताएका छन् । 

उनले २०७९ कात्तिक २० गते युवा तथा खेलकुद मन्त्रालयको सचिवस्तरीय निर्णयबाट नेपाल स्काउटको सम्बन्धमा आवश्यक अध्ययन तथा छानबिन गर्न बनेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा खड्का एवं खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको विषयमा आफ्नाबारे कहीँ कतै उल्लेख नगरेको दाबी गरे पनि सुरुमा खड्का र खड्का ल्यान्ड डेभलपमेन्ट कम्पनीबिच भएको सम्झौताको हस्ताक्षर गरेको फाइल समितिले स्काउटबाट खिचेर लगेको थियो । 

खड्काले खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबारे पटक पटक पटक पटक संघीय संसद् र पत्रकार सम्मेलनमार्फत आम जनतामाझ जानकारी गराइसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सञ्चारमाध्यमले सत्य तथ्य कुरा नबुझीकन खड्का ल्यान्ड प्रालि र मलाई जोडेर भ्रमपूर्ण समाचार सम्प्रेषण हुनुले मेरो चरित्रहत्या भएको महसुस गरेको छु ।

जिम्मेवार सञ्चार माध्यमले सत्य तथ्य नबुझीकन समाचार प्रकाशन तथा सम्प्रेषण गरेर मेरो व्यक्तिगत तथा राजनीतिक भविष्यमाथि प्रहार गर्न खोजिएको मैले बुझेको छु । मलाई सरकारी सम्पत्ति कब्जा गर्नुपर्ने कुनै आवश्यकता र बदनियत छैन ।’ रातोपाटीले प्रमाणसहित समाचार प्रकाशन गरेको र उनको भनाइलाई समेत स्थान दिएको थियो ।

dipak

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप