इलामले ‘तिमी भाग्न मिल्दैन’ भनेपछि उम्मेदवार बनेँ : सुहाङ नेम्वाङ
काठमाडौँ । वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट इलाम क्षेत्र नम्बर २ का उम्मेदवार बनेका सुहाङ नेम्वाङले आफ्ना बुवा सुवास नेम्वाङप्रति इलामेली जनताको आशा, भरोसा र विश्वासका कारण आफूले पनि राजनीतिलाई पछ्याएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सुहाङले आफूलाई उम्मेदवार बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गर्दै इलामेली जनताले देखाएको माया, सद्भाव र शुभेच्छाले अन्त जाने अनुमति नदिएको जनाएका छन् ।
‘हो, बुवालाई राजनीतिमा साथ दिँदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौं, ‘आफ्नो बाटो आफै खन्दै थिएँ । मेरा लागि जनसेवाका अनेकन् सजिला र फराकिला बाटाहरू स्वागतको लागि तयार थिए,’ सुहाङले लेखेका छन्, ‘तर, निर्वाचनका क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरूको आशा, भरोसा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो ।’
उनले आदरणीय इलामेली जनताहरूले देखाएको माया, सद्भाव र शुभेच्छाले अरूतिर जाने अनुमति नदिएको बताएका छन् । र, भनिरह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’ उनले आफू उम्मेदवार बन्दै गर्दा पार्टीको विकास, विस्तार र आन्दोलनमा लागेका नेताहरूको भावनालाई शिरमा राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले अझै केही वर्ष ‘लो प्रोफाइल’मा बसेर बुवाकै साथमा रहेर सिक्ने, बुझ्ने रहर भए पनि अकल्पनीय आकस्मिकता आइलागेको स्मरण गर्दै भनेका छन्, ‘इलामेली वृद्ध बुवा आमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’
सुहाङलाई आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले इलाम २ मा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सुहाङले यस्तो लेखेका छन्–
हार्दिक आभार तथा धन्यवाद !
आगमी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं. २ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले) ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु । यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु ।
उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा (एमाले) इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु । तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमूल्य सम्पति हो ।
अप्ठ्यारो परिस्थीतिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु । आभार । पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चहान्छु । यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुदैछ ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनुभएको थियो । तर, हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो ।
उपनिर्वाचनको परिस्थीति आइलाग्यो । गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ ।
भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ ।
बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ । गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो ? त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन ।
मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नुभएको सपना र गर्नुभएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’
म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो । हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौ, ‘आफ्नो बाटो आफैँ खन्दै थिएँ ।’
मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो ।
बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन । र भनियो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’ त्यसैले म उम्मेदवारको लागि तयार भएँ ।
म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु । रहनेछु । हो ! म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ ।
यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ ।
तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद । धन्यवाद । नमस्कार ! सुहाङ नेम्वाङ नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार इलाम क्षेत्र नं.२
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास