शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एरिका र विप्लवले यूएसए ओपन खेल्ने

सोमबार, १२ चैत २०८०, १२ : ५०
सोमबार, १२ चैत २०८०

काठमाडौँ । यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र विप्लवलाल श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीभन्दा माथि तथा विप्लवले पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । 

एरिकाले गत असोजमा चीनको हाङ्झावमा भएको १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनै पनि नेपाली कराँते खेलाडीले जितेको पहिलो र एकमात्र रजत पदक हो । 

एरिका इन्डोनेसियामा भएको १० औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३औँ दक्षिण एसियाली खेलकुदका स्वणर् पदक विजेता हुन् । प्रशिक्षकका रुपमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् ।

कुशल बाहेक तीन सदस्यीय टोली सोमबार नै अमेरिका प्रस्थान गर्नेछ । कुशल भने मंगलबार अमेरिका प्रस्थान गर्नेछन् ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबिच बिदाइ गरे ।

उनले विगतको सफलतामा मात्र खुशी भएर बस्नुभन्दा पनि आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउने गरी प्रदर्शन गर्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप